शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

बुधबार, ०२ असोज २०८१, १६ : ५२
बुधबार, ०२ असोज २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको छ ।

प्रदेश सभामा ८३ सांसद उपस्थित थिए । नेकपा एकीकृत समाजवादी भने मत विभाजनको प्रक्रियामा सामेल नै भएन ।

गत २०८१ वैशाख २७ गते सरकार गठन भएपछि उनले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । पहिलो पटक मुख्यमन्त्री बन्दा पनि उनले दुई पटक विश्वासको मत लिएका थिए । उनी मुख्यमन्त्री बनेको १२९ दिनमा उनले पुनः विश्वासको मत लिनु परेको हो । गत भदौ १४ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिएका हुन् । 

उनले प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा एमाले र कांग्रेसका सांसदहरूले मतदान गरेका हुन् । प्रदेशसभामा एमालेबाट उपसभामुख बाहेक ३९ र कांग्रेसका २९ सांसद छन् । दुई पार्टीको सांसद सङ्ख्या ६८ जनाको छ । यद्यपि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सत्ता पक्षकै २ सांसद अनुपस्थित भए । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राप्रपाले विपक्षमा मत दिँदा नेकपा एकीकृत समाजवादी भने प्रक्रियामा सहभागी भएन । जसपाकी एक मात्र सांसद निर्मला लिम्बू भने प्रदेशसभा बैठकमा अनुपस्थित रहिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप