मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

शिक्षाको गुणस्तर बढाउन अभिभावक सुधार्नुपर्छ : मुख्यमन्त्री लामा

बुधबार, ०२ असोज २०८१, १५ : ४९
बुधबार, ०२ असोज २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकलाई सुधार गर्नुपर्ने बताएका छन् । उनले शिक्षा क्षेत्रको गुणस्तर र नतिजामुखी बनाउन अभिभावकहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अभिभावकको निगरानीमा बालबालिकाहरु राख्न सकेमा शैक्षिक गुणस्तर सुधारमा उपलब्धिमूलक नतिजा हासिल हुने बताए । बालबालिकाको पहिलो शैक्षिक संस्था घर भएकाले पारिवारिक वातावरण, अभिभावकको हेरचाह, निगरानी तथा व्यवहारले शैक्षिक गुणस्तर कायम गर्न सहयोग मिल्ने उनको भनाई छ । शिक्षक अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सकिने उनले बताए ।

मुख्यमन्त्री लामाले असल नागरिक निर्माणका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको उनको भनाई छ । शिक्षालाई अनुसन्धानात्मक र व्यवहारिक बनाउन जरुरी रहेको उनको भनाई छ । सोही अनुसार बागमती प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताए ।

उनका अनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान अभिवृद्धिमा अघि बढ्नुपर्ने हुन्छ । उक्त कार्यका लागि तीन तहका सरकार बिचको दरिलो समन्वय र संयन्त्र विकास गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । पठनपाठनको प्रवृत्ति सुधार गर्दै शिक्षाको गुणस्तर कायममा सरकारले भूमिका खेल्नुपर्ने उनको भनाई छ । असान्दर्भिक ऐन नियम र कानुनलाई समयानुकूल परिमार्जन गरेर शिक्षाको गुणस्तर कायम गर्न र सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताइन् । उनले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताइन् । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षक तथा अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई ठोस योजना निर्माण गर्न निर्देशन दिइन् । युवा, विद्यार्थी पलायन रोक्न र दक्ष जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई छ ।

१० विद्यालय पुरस्कृत

शिक्षा दिवसको अवसरमा प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले छनौट गरेका सामुदायिक तर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौँ, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँ र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौँ उत्कृष्ट भएका थिए ।

त्यस्तै संस्थागत तर्फका ह्विज किड्स इन्टरनेशनल स्कुल बालुवाटार काठमाडौँ, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानीलकण्ठ काठमाडौँ, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौँ, शांकरी स्कुल छाउनी काठमाडौँ र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए ।

उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसमा स्कृति चौलागाई बाँसबारी माध्यमिक विद्यालय काठमाडौँ प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए । उनीहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप