मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती सरकारले पलेसालाई १० लाख नगदसहित सम्मान गर्ने

बुधबार, ०२ असोज २०८१, १५ : २८
बुधबार, ०२ असोज २०८१

हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेसा गोवर्द्धनलाई १० लाख रुपैयाँ नगद सहित सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेसालाई १० लाख रुपैयाँ नगद सहित सम्मान सहित नगर परिक्रमा गराउने भएको हो ।

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसालाई संविधान दिवसको अवसरमा असोज ३ गते हेटौँडामा बजार परिक्रमासहित सम्मान गर्ने तयारी भएको प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार पलेसासहित उनका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै १९ औँ एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिने मन्त्री महर्जनले बताए । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् ।

एरिकाले २५ वर्षपछि नेपाललाई करातेमा रजत पदक दिलाएकी हुन् । यसअघि सविता राजभण्डारीले देशलाई रजत पदक दिलाएकी थिइन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औँ एसियन गेम्समा तेक्वान्दोकी सविताले पहिलो पटक रजत दिलाएकी थिइन् ।

प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराते महासङ्घ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरूलाई पुरस्कृत गर्ने मन्त्री महर्जनले बताए । खेलकुद क्षेत्रको विकास र खेलाडी प्रोत्साहनमा प्रदेश सरकारले लगानी बढाउने उनले बताए ।

गत २६ गतेको मन्त्रिपरिषदबाटै उक्त निर्णय गर्ने तयारी भए पनि कानुनी समस्याका कारण निर्णय हुन नसकेको उनले बताए । मुख्यमन्त्री बहादुरसिंह लामाको योजनाअनुसार संविधान दिवसको अवसरमा पदक विजेता खेलाडी, प्रशिक्षक र प्रदेश समितिलाई पुरस्कृत गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप