आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उद्योग सञ्चालन विना रोजगारी सिर्जना हुन सक्दैन : मुख्यमन्त्री लामा

बुधबार, ०२ असोज २०८१, १४ : ५९
बुधबार, ०२ असोज २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योग सञ्चालन विना रोजगारी सिर्जना हुन नसक्ने बताएका छन् । बढ्दो बेरोजगारीको दर घटाउन र युवा पलायन रोक्न रोजगारीका अवसर सिर्जना गर्न अनिवार्य रहेकाले उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने उनले बताएका हुन् ।

बुधबार हेटौंडामा आयोजित बागमती प्रदेश उद्योग परिसंंघको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान अवस्थामा सरकारले मात्रै रोजगारी दिने अवस्था नरहेको बताए । उनले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकार र निजी क्षेत्रबिच समन्वय नभएसम्म उद्योग सञ्चालन हुन नसक्ने र रोजगारी पनि सिर्जना नहुने उनको भनाई छ ।

‘रोजगारी सिर्जना गर्ने पहिलो उपाय भनेको उद्योग सञ्चालन हो । अहिले कुनै पनि क्षेत्रबाट उद्योगलाई सर्पोट भएको देखिँदैन । त्यसैले नेपाली लगानीकर्ताहरू पनि बढी विदेशमा पुगेका छन्,’ उनले भने, ‘उद्योग कलकारखानामा लगानी कसरी भित्र्याउने भन्ने विषयमा सबैले सहकार्य गर्नुपर्छ । सरकारले उद्योग र उद्योगीको संरक्षण र संवर्द्धनमा गर्नुपर्ने भूमिकाका बारेमा छलफल र अनुसन्धानको विषय बन्नुपर्छ ।’

लगानीकर्ता निरुत्साहित गर्ने प्रकृतिको ऐन कानुन परिमार्जन गर्न जरुरी रहेको उनले औँल्याए । उनका अनुसार उद्योग क्षेत्रको विकासका लागि तीनै तहको सरकारको अधिकारका बारेमा स्पष्ट हुन जरुरी हुन्छ । प्रदेशमा औद्योगिक क्षेत्र र उद्योगका विषयहरूको अधिकार नरहेको उनको भनाई छ । मुख्यमन्त्री लामाले देशमा ठुला अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउन वातावरण बनाउन नसकिरहेको बताए ।

यस्तै कार्यक्रममा प्रदेशकी उद्योग वाणिज्य मन्त्री सुकमाया तामाङले लोकल मदिरालाई ब्राण्डिङ गर्ने गरी उद्योग स्थापना हुनुपर्ने बताइन् । लोकल मदिरालाई ब्राण्डिङ गर्ने योजना कार्यान्वयन गर्न संघ सरकारसँग वृहत् छलफल भइरहेको उनले बताइन् । उद्योग सञ्चालन गर्ने अधिकार प्रदेशमा हुनुपर्ने उनको भनाई छ ।  

यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष विरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्ने बताए । उक्त विषयमा सबै जानकार भएपनि नीतिगत र कार्ययोजनामा तीनै तहको सरकारको प्राथमिकता पर्न नसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप