पार्टी कार्यालय भवन बनाउन जग्गा खोज्दै एमाले

काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न आगामी मङ्सिरसम्म जग्गाको पहिचान र व्यवस्थापन गर्ने भएको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।
भाडाको भवन आवश्यकता अनुसार नभएको भन्दै एमालेले पटक पटक आफ्नै भवन निर्माण गर्ने निर्णय गर्दै आएको छ । तर कार्यान्वयन भने गर्न सकेको छैन । बल्खुको भवन भत्किएपछि एमालेले धुम्बाराही, थापाथली र च्यासल गरी तीन ठाउँमा भाडाको घरमा पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।
यसअघि नै एमालेले आफ्नै कार्यालय भवन बनाउने भन्दै पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैयाँ सङ्कलन गर्ने अभियान सुरु गरिसकेको छ । ‘थप सहयोग गर्न चाहने र सक्ने सहयोगीहरूबाट सहयोग लिएर सुविधा सम्पन्न आधुनिक पार्टी कार्यालय भवन निर्माण गर्ने पार्टीको योजना रहेको छ’, एमाले महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्य योजनामा भनिएको छ ।
एमालेले पार्टी कार्यालय भवन बनाउन ५ बुँदे कार्ययोजना तयार गरेको छ । जसका लागि पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन उपयुक्त जग्गाको पहिचान र व्यवस्थापन आगामी मंसिरभित्र गरिसक्ने उल्लेख छ ।
पार्टीको निर्णयबमोजिम पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि स्रोत सङ्कलन गर्ने कामलाई अभियानका रूपमा अघि बढाउने एमालेको तयारी छ । त्यस्तै सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ सङ्कलन गर्ने कामलाई यथाशीघ्र कार्यान्वयन गर्ने र थप आर्थिक सहयोग गर्ने पार्टी कार्यकर्ता र सहयोग गर्न सक्ने अन्य सहयोगीहरूको रोस्टर तयार गरी केन्द्रमा पठाउन एमालेले सबै पार्टी कमिटीलाई पठाएको कार्य योजनमा भनिएको छ ।
पार्टी केन्द्रको योजना र निर्देशनअनुसार थप सहयोग सङ्कलन गर्न कार्यकर्ताहरूलाई अनुमति दिएको एमालेले पार्टी कार्यालय भवन निर्माण र स्रोत परिचालनका लागि केन्द्रीय सचिवालयले आवश्यक समिति गठन गरी यथाशीघ्र कार्य आरम्भ गर्ने जनाएको छ ।
२०७८ साल वैशाख ९ गते बल्खुस्थित पार्टीकै नाममा रहेको १३ रोपनी जग्गामा भवन बनाउने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास नै गरेका थिए । तर, अहिले पुन जग्गा खोज्ने अभियानमा एमाले लागेको छ । बल्खुको जग्गा अपुग हुने भएकाले अलि फराकिलो स्थान विकल्पका रूपमा सोचिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल