औँसी तिथिका देवता पितृ हुनुको रहस्य
आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्मका १६ दिनमा हिन्दुधर्मावलम्बीले आफ्ना पितृलाई श्रद्धापूर्वक तर्पण र पिण्ड दिने गर्छन्, यिनै १६ दिनको अवधिलाई सोह्रश्राद्ध भनिन्छ ।
श्राद्ध गर्ने दिनलाई तिथि पनि भनिन्छ । हिन्दुका अधिकांश चाडपर्वहरू तिथिमा आधारित छन् । हाम्रा पुर्खाले कुनै तिथिमा थिति बसालेर समाजलाई हिँडाउन खोजेको देखिन्छ ।
चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका जुनसुकै दिन वा श्राद्ध गर्ने दिनलाई तिथि भनिन्छ, (प्रज्ञा प्रतिष्ठानको शब्दकोश) ।
प्रतिपदादेखि पूर्णिमा र औँसीसम्मका तिथिका छुट्टाछुट्टै देवता (स्वामी) छन्— प्रतिपदाका स्वामी अग्नि, द्वितीयाका स्वामी ब्रह्मा ...यसरी नै चतुर्दशीका स्वामी शिव, पूर्णिमाका स्वामी चन्द्रमा र औँसीका स्वामी पितृ हुन्, (चेतोनाथशर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व) ।
पूर्णिमाको स्वामी चन्द्रमा र औँसीका स्वामी पितृलाई मान्नुका पछाडि केही तर्क गर्ने ठाउँ छन् । पूर्णिमाको रातमा चन्द्रमाकै उज्यालो प्रधान भएकाले मानिसले प्रार्थनाको आधार चन्द्रमालाई मान्यो तर औँसीको अँध्यारोमा उसले आफ्ना पितृ अर्थात् मृतात्माको सहारा खोज्यो ।
यो संसार वा सृष्टिको मूलमा सूर्य त छँदै छ, सँगसँगै हाम्रा पुर्खाहरू चन्द्रमाबाट पनि प्रभावित थिए र छन्, खासगरी मनोविज्ञानको दृष्टिबाट । त्यसैले विछिन्न–विछिन्न हुने प्रवृत्ति वा मनसँग सम्बन्धित समस्यामा भनिन्छ, फलानोलाई औँसीपूर्णे हुन्छ । ज्ञान र विज्ञानको क्षेत्रमा प्रगति नगरिसकेको अवस्थामा हाम्रा पुर्खाका लागि मनलाई बहलाउन र बलियो बनाउन चन्द्रमा पनि एउटा आधार वा माध्यम थियो । हाम्रा पुर्खाहरू रातमा चन्द्रमालाई हेरेर सोच्थे, सम्हालिन्थे वा साहस बटुल्थे ।
भारतीय विद्वान् पाण्डुरंग वामन काणेले ‘श्राद्ध’ शब्द ‘श्रद्धा’बाट बनेको उल्लेख गरेका छन् । श्राद्धमा श्राद्धकर्ताको यो अटल विश्वास रहन्छ कि मृतक या पितृहरूको कल्याणका लागि ब्राह्मणलाई जे दिइन्छ, त्यसलाई पितृले कुनै प्रकारले अवश्य पाउँछन् ।
तन्त्र परम्परा अनुसार, मानिसको मन औँसी र पूर्णिमामा अलि कमजोर हुन्छ भनिन्छ । यो रहस्य बुझेकाहरूले आफ्ना काम–व्यवहार औँसी–पूर्णिमा तिथि हेरेर गर्छन् । अचेल तपाईंले देख्न सक्नुहुन्छ— प्रायः जोगीहरू भिक्षा माग्न औँसी–पूर्णिमामा आउने गर्छन् । घरघरमा गएर सामान बेच्नेहरू पनि औँसी–पूर्णिमा हेरेर हिँडेको देखिन्छ । कारण, यी दुई तिथिमा मानिसको मन कमजोर हुन्छ र बहकिन्छ भनिन्छ ।
आगो र अरु प्रकाशजन्य साधनको आविष्कार नगर्दासम्म मानिस अँध्यारोसँग डराउँथ्यो । कारण, अँध्यारो रातमा कुनै विषालु जनावर वा शत्रुको खतरा हुन्थ्यो । त्यसैले औँसीको रातमा अँध्यारो छाउने हुँदा हाम्रा पुर्खाको मन डराउनु स्वाभाविकै लाग्छ तर पूर्णिमामा मानिसको मन किन कमजोर भयो ? सायद पूर्णिमाको रातमा उज्यालो हुने हुँदा कुनै शत्रुले आक्रमण गर्ने सम्भावना रहन्थ्यो र मानिस यस्तै कल्पना गरेर डराउँथ्यो । अर्को कुरा, अबदेखि चन्द्रमाको आकार घट्दै जान्छ र भयंकर कालो रात अर्थात् औँसी आउँछ भन्ने भावनाले पनि मानिसहरू पूर्णिमाको रातमा डराउन थाले, (यो तर्क नितान्त पंक्तिकारको हो, तपाईं असहमत हुन सक्नुहुन्छ) ।
खैर अब लागौँ, श्राद्धको चर्चातिर ।
- श्रद्धा र श्राद्ध
श्राद्ध शब्दसँगै श्रद्धा भन्ने शब्द पनि जोडिएर आउँछ । श्राद्धको शाब्दिक अर्थ छ— शास्त्र तथा कुलका आचारअनुसार पितृहरूले पाऊन् भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्म ।
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।।
(ब्रह्मपुराण)
अर्थात् उचित काल र स्थानमा उचित (शास्त्रानुमोदित) विधिद्वारा पितृलाई लक्ष्य गरेर श्रद्धापूर्वक ब्राह्मणलाई जे दिइन्छ, त्यसैलाई श्राद्ध भनिन्छ ।
भारतीय विद्वान् पाण्डुरंग वामन काणेले आफ्नो पुस्तक ‘धर्मशास्त्र का इतिहास भाग ३’मा ब्रह्मपुराण र स्कन्धपुराणलाई उद्धृत गर्दै ‘श्राद्ध’ शब्द ‘श्रद्धा’बाट बनेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘श्राद्धमा श्राद्धकर्ताको यो अटल विश्वास रहन्छ कि मृतक या पितृहरूको कल्याणका लागि ब्राह्मणलाई जे दिइन्छ, त्यसलाई पितृले कुनै प्रकारले अवश्य पाउँछन् । स्कन्धपुराण (६।२१८।३) को कथन छ— श्राद्ध नाम यसरी रह्यो कि त्यस कृत्यमा श्रद्धा मूल (मूल स्रोत) छ ।’
श्राद्धसँग सम्बन्धित प्रसंग पुराणहरूमा निकै पाइन्छन् । केही श्लोक यस्ता छन्—
श्रद्धासमन्वितैर्दत्तं पितृभ्यो नामगोचरात् ।
यदाहारस्ते ये जातास्तदाहारत्वमेति तत् ।।
(विष्णुपुराण)
अर्थात् श्रद्धाले पितृहरूको नाम गोत्र उच्चारण गरी अर्पण गरिने जुनसुकै वस्तु ती आत्माले पाउँछन् ।
यस्यास्येन सदाश्नन्ति हव्यानि त्रिदिवौकसः ।
कव्यानि चैव पितरः किं भूतमधिकं ततः ।।
(मनुस्मृति)
श्राद्धको दिन ब्राह्मणलाई भोजन गराउनाले देवताहरूले आफ्नो खाद्य पदार्थ (हव्य) सदा पाउँछन् भने पितृहरूले कव्य पदार्थ सदा पाउँछन् ।
श्राद्ध भनेकै मानिसहरूले आफ्ना मृतक पितापुर्खालाई श्रद्धाका साथ सम्झने कर्म हो । मानिसको शरीरको अन्त्य भए पनि आत्मा मर्दैन भन्ने विश्वाससँग यो कार्य सम्बन्धित छ ।
- श्राद्धका प्रकार
काणेले श्राद्धको वर्गीकरण दुई प्रकारले गरेका छन् । एउटा वर्गीकरणमा तीन प्रकारका श्राद्ध राखेका छन् — नित्य, नैमित्तिक एवं काम्य । दोस्रो वर्गीकरणमा दुई प्रकारका श्राद्ध राखेका छन्— एकोद्दिष्ट र पार्वण ।
चेतोनाथशर्मा आचार्यका अनुसार, ‘प्रतिदिन गरिने श्राद्धलाई नित्यश्राद्ध, दिवंगत पितृको तिथिलाई निमित्त मानेर गरिने श्राद्धलाई एकोद्दिष्ट नैमित्तिकश्राद्ध, कामना विशेषले गरिने श्राद्धलाई काम्यश्राद्ध, विवाह–व्रतबन्ध आदि शुभकार्यको आरम्भमा गरिने श्राद्धलाई आभ्युदयिक किंवा वृद्धि अथवा नान्दीमुखीश्राद्ध, प्रेतपिण्डलाई पितृपिण्डमा मेलन गर्ने श्राद्धलाई सपिण्डीकरण श्राद्ध र पितृपक्षजस्तो पर्वविशेषमा गरिनेलाई पार्वणश्राद्ध भनिन्छ ।’
पितृलाई नित्य सम्झने वा पितृतर्पण (नित्यश्राद्ध) गरेर मात्रै भोजन गर्ने अभ्यास पनि थियो । तर्पण अर्थात् स्मृतिशास्त्र अनुसार देवता, ऋषि र पितृहरूको नाउँ लिएर कुश, तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने काम; जलदान क्रिया ।
पितृलाई विभिन्न ढंगले सम्झने कार्य विभिन्न समुदायले गरेका हुन्छन् । जस्तो ः किरातहरूले चुलो (सुप्तलुङ अर्थात् आस्थागत चुलो)को स्थापना गरी पितृलाई आह्वान गर्छन् र त्यहीँ बेलाबेला पितृलाई सम्झने संस्कार गर्छन् ।
प्रतिपदादेखि पूर्णिमा र औँसीसम्मका तिथिका छुट्टाछुट्टै देवता (स्वामी) छन्— प्रतिपदाका स्वामी अग्नि, द्वितीयाका स्वामी ब्रह्मा । यसरी नै चतुर्दशीका स्वामी शिव, पूर्णिमाका स्वामी चन्द्रमा र औँसीका स्वामी पितृ हुन् ।
मानिसको व्यस्तता बढेसँगै नित्यश्राद्धको प्रचलन हटेको पाइन्छ । अर्कोतिर मानिस, पितृ र देवताको समय भिन्न भएकाले वर्ष दिनजस्तोमा पितृलाई सम्झने कार्य गरेको बुझिन्छ ।
मानिसको हिसाबले एक महिनाको समय (३० दिन) पितृको एक अहोरात्र (२४ घण्टा) बराबर हुन्छ । मानिसको एक वर्ष देवताको एक अहोरात्र बराबरको हुन्छ ।
२०४९ सालमा प्रकाशित खिलविलास पन्तको पुस्तक ‘श्राद्धविधान’ अनुसार, आमाबाबुको मृत्युको दिन एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ । एकोद्दिष्ट श्राद्ध नगरी पार्वण श्राद्ध गर्नु हुँदैन ।
पन्तले ‘मदन पारिजात’लाई उद्धृत गरी लेखेका छन्, ‘वार्षिक श्राद्ध नगरी औँसी श्राद्ध, पार्वण श्राद्ध र गया श्राद्ध ग¥यो भने पापको भागी हुन्छ । वर्ष दिनमा गरिने पितृकार्य (श्राद्ध) गर्नुपर्दा चन्द्रमास (तिथि) को हिसाबले गन्ती गर्नुपर्दछ र मलमासमा मृत्यु भएकाको सौरमानको हिसाबले गर्नुपर्दछ ।’
पन्तका अनुसार, पार्वण (महालय) श्राद्ध आषाढ पूर्णिमाको पाँचौँ पक्ष आश्विनकृष्ण पक्ष (अपर पक्ष) मा पर्दछ । यस पर्वतिथिमा गरिने श्राद्धलाई पार्वण भनिन्छ ।
हिन्दुका प्रायः अनुष्ठान वा संस्कारमा संकल्प आउँछ । संकल्प शब्दले धेरै अर्थ दिन्छ— कुनै इच्छा साकार पार्ने अठोट वा कुनै काम गर्ने दृढ निश्चय; मनको आँट, मनसुबा; देवकार्य तथा पितृकार्य गर्दा जजमानले जौ, तिल, कुश र पानी हातमा लिएपछि पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य वा दानवाक्य; फलको आशाले कुनै धार्मिक वा पुण्यकार्य गर्ने दृढता ।
यही संकल्प गर्नका लागि गोत्र (गोत्री) वा आदरार्थी थर आवश्यक रहेको शास्त्रमा पाइन्छन् ।
शर्मान्तं ब्राह्मणस्योक्तं वर्मान्तं क्षत्रियस्य तु ।
गुप्तान्तं चैव वैश्यस्य दासान्तं शूद्रजन्मनः ।
अर्थात् संकल्पभन्दा ब्राह्मणको नाममा अन्तमा शर्मा भन्नुपर्छ, त्यस्तै क्षत्रियको नामको अन्त्यमा वर्मा भन्नू, वैश्यको नामको अन्तमा गुप्त भन्नू र शूद्रको नामको अन्तमा दास भन्नुपर्छ ।
यसरी हिन्दु धर्मावलम्बीका अनुष्ठान वा संस्कार कार्यमा वर्णमा आधारित विभेदहरू पनि स्थापित गरिएका छन् ।
उसो त माता र पिताको श्राद्धमा पनि विभेद छ । पन्तले शास्त्रका श्लोकलाई उद्धृत गर्दै लेखेका छन्, ‘बाबुको मृत्युमा (वार्षिकभित्र) छोराले आमाको श्राद्ध गर्नुहुँदैन । आमाको वार्षिकमा बाबुको श्राद्ध गर्नुहुन्छ, अरुको हुँदैन ।’
उसो त शास्त्रमा माताका लागि एउटा तिथि नै तोकिएको छ । २०५२ प्रकाशित पं. नारायणप्रसाद खनालको पुस्तक ‘अविधवा मातृनवमी श्राद्धविधि’ अनुसार, जुन स्त्रीका धव (पति) विगतः (स्वर्ग गए) ती विधवा र जसका पति जीवित छन् ती अविधवा हुन्छिन् । उनी लेख्छन्, ‘अविधवा माताको ४ नवमीमा मुख्य पितृ पक्ष (१६ श्राद्ध)को नवमी तिथि मातृनवमी शब्दले प्रख्यात यत्रतत्र लेखिएको छ । पिताभन्दा अगाडि मरेकी आमाको मातृनवमी तिथिमा पत्नी गर्भिणी भए पनि जीवित पितृक पुत्रले पिण्डदान गर्नैपर्छ ।’
श्राद्ध अर्थात् पितृलाई सम्झने कार्य नटुटोस् भन्नेमा जोड दिएको पाइन्छ । पन्तका अनुसार, आब्दिक (वर्ष दिनमा गरिने) श्राद्ध पत्नी रजस्वला भए पनि त्यसै दिनमा गर्नुपर्छ । रजस्वला भएमा श्राद्ध पछि गरुँला भनेर बस्नु हुँदैन तिथिमै गर्नुपर्छ ।
शास्त्रहरूमा श्राद्ध गर्नका लागि केही भय पनि देखाइएको छ ।
न च श्रेयोऽधिगच्छन्ति यत्र श्राद्धं विवर्जितम् ।
(हारीतस्मृति)
अर्थात् जुन घरमा श्राद्ध गरिँदैन त्यहाँ कल्याण हुन सक्दैन ।
दत्तं न वंशजैर्येषां ते व्यथा यान्ति दारुणाम् ।
(सुमन्तु)
अर्थात् आफ्ना सन्तानले श्राद्ध दान नगरेमा ती पितृहरू अति नै कष्ट भोग्दछन् ।
श्राद्धको अधिकारी को हुने भन्ने पनि शास्त्रले तोकेको छ । चेतोनाथशर्मा आचार्य आफ्नो पुस्तकमा लेख्छन्, ‘शास्त्रमा श्राद्धको अधिकारी को हो भन्ने सम्बन्धमा विधिपूर्वक विवाह गरिएको पत्नीबाट जन्मिएको औरस पुत्र (वैधानिक पुत्र)ले दिवंगत मातापिताको पिण्डदान, उदकक्रिया (जलतर्पण) गर्नुपर्छ भनिएको छ ।’
हिन्दु शास्त्रहरूले विवाहलाई व्यवस्थित बनाउन र वर्ण–व्यवस्थालाई जोगाउन श्राद्धलाई पनि एउटा माध्यम बनाउन खोजेको देखिन्छ ।
श्राद्ध जो मृतात्माप्रतिको श्रद्धासँग सम्बन्धित छ । यहाँनेर आत्माको मृत्यु हुन्छ वा हुँदैन भन्ने तर्क र विश्वास आफ्ना ठाउँमा छन् । यद्यपि पिता–पुर्खाको कर्म र योगदानलाई हरकोहीले सम्झेकै हुन्छ । सम्झने शैली वा विधिविधान शास्त्रीय हुने वा नयाँ अपनाउने भन्ने बहसको विषय छ । जस्तो : कसैले फरक जात वा समुदायबाट विवाह गरेको छ भने उसले आफ्नो तरिकाले आफ्ना दिवंगत मातापितालाई सम्झन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता
-
सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी
-
सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने
-
माछापोखरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
-
कृषि विकास रणनीति परिमार्जन हुँदैछ : कृषिमन्त्री अधिकारी