शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बायर्नको गोल वर्षा, केनको कीर्तमानै कीतिमान

बुधबार, ०२ असोज २०८१, ०७ : ४१
बुधबार, ०२ असोज २०८१

म्युनिख । ह्यारी केनको कीर्तिमानी चारको गोलको मद्दतले बायर्न म्युनिखले डाइनामो जाग्रेबविरुद्ध शानदार जित हासिल गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्न ९–२ गोलको विशाल अन्तरले विजयी बनेको हो ।

खेलको १९ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै केनले बायर्नलाई अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा राफायल गुरेरोले टोलीको अग्रता दोब्बर बनाए । ५ मिनेटपछि माइकल ओलिसेले तेस्रो गोल थपे ।

दोस्रो हाफको सुरुवातमा एक मिनेटको अन्तरमा दुई गोल गर्दै जाग्रेब खेलमा फर्किने प्रयास गरेको थियो । ब्रोनो पेटकोभिच र टाकुया ओगिवाराले टोलीका लागि गोल गरे ।
तर, त्यसपछि बायर्नले जाग्रेबमाथि गोल वर्षा गर्‍यो । ५७ औँ मिनेटमा केनले अर्को गोल थपे । त्यस्तै, ६१ औँ मिनेटमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गरे ।

७३ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै केनले आफ्नो ह्याट्रिक पुरा गरे भने ७८ औँ मिनेटमा उनले पेनाल्टीबाटै चौथो गोल थपे । त्यसपछि लिरोय साने र लियोन गोरेट्जकाले एक–एक गोल गर्दै बायर्नलाई सहज जित दिलाए ।

खेलमा ३१ वर्षीय इंग्ल्याण्डका कप्तान केनले थुप्रै रेकर्ड पनि बनाएका छन् । यस्ता छन् ती रेकर्ड:

  •  च्याम्पियन्स लिग वा युरोपियन कपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी । ४५ खेलमा ३३ गोल गर्दै उनले वेयन रुनीको ३० गोलको कीर्तिमान भंग गरेका हुन् ।
  • च्याम्पियन्स लिगको एकै खेलमा चार गोल गर्ने उनी पहिलो इंग्लिस खेलाडी बनेका छन् ।
  • नन–इंग्लिस टोलीका लागि च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् ।
  • च्याम्पियन्स लिग वा युरोपियन कपको खेलमा पेनाल्टीको मद्दतले तीन गाेल गर्ने उनी पहिलो खेलाडी हुन् ।
  • बायर्नका लागि ५० औँ खेलमा उनले ५० औँ, ५१ औँ, ५२ औँ र ५३ औँ गोल गर्न सफल भएका छन् ।
  • उनको करियरको यो २४ औँ ह्याट्रिक थियो । उनले लगातार दुई ह्याट्रिक गरेको पाँँचौँ पटक हो ।
  •  यो सिजन उनले बायर्नका लागि ५ खेलमा ९ गोल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप