मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
कलाकार

जब ‘खुस्मा’को स्क्रिप्ट सुनेर रोइन् उपासना

बुधबार, ०२ असोज २०८१

काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरी आफूले अभिनय गरेको चलचित्र ‘खुस्मा’ले नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्छिन् । महिला केन्द्रित फिल्म भएकाले आफूले यसमा अभिनय गरेको उनले बताइन् ।

‘स्क्रिप्ट सुन्ने बित्तिकै भावुक भएर म रोएको थिएँ’, उपासनाले भनिन्, ‘म यस्तै फिल्ममा अभिनय गर्न चाहन्थेँ ।’

उपासना यतिबेला फिल्म ‘खुस्मा’को प्रचारप्रसारमा छिन् । सोही सिलसिलामा राटोपाटीसँग भेटिएकी उनले कलाकार भएपछि सबैखाले चरित्रमा जिउने लोभ हुने बताइन् । बिहीबारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दर्शकले कसरी लिन्छन् भन्नेमा उनी उत्सुक छिन् ।

यो फिल्मको गीत, ट्रेलर दर्शकले रुचाएर युट्युब ट्रेन्डिङमा समेत आउन सफल भए । ‘दर्शकले एकदमै सकारात्मक प्रतिक्रिया दिएका छन्’, उपासनाले थपिन्, ‘पहिलो पटक स्क्रिप्ट हेर्दा नै फिल्म राम्रो हुन्छ भन्ने सोचेको थिएँ । अहिले पाएको सकारात्मक प्रतिक्रियाले झन् सकारात्मक सङ्केत दियो ।’

upasana

उपासनाले ‘खुस्मा’ एउटा इनोसेन्ट प्रेमकथामा केन्द्रित रहेको बताइन् । २५ वर्ष अगाडि द्वन्द्वकालमा रुकुम, मैकोटका एक जोडी प्रेमीले प्रेम गरेकै कारण भोग्नु परेको समस्या र सङ्घर्षलाई फिल्ममा उतारिएको उनको भनाइ छ ।

फिल्मको कथा आफ्नो आमाबुबाका लागि पनि मिल्दोजुल्दो पाएको उपासनाले बताइन् । उनका बुबा सैन्य पृष्ठभूमिका हुन् । द्वन्द्वकालको समय बुबाको पोस्टिङ रुकुममै रहेको उनले बताइन् ।

‘जब घरमा गएर फिल्मको कथा मामुलाई सुनाएँ । उहाँ पनि रुनु भयो’, उनले अगाडि थपिन्, ‘किनभने त्यो समय मेरो आमाबुबा पनि भोग्नु भएको थियो । कामले गर्दा उहाँहरूलाई छुट्ट्याएको थियो ।’

upasana singh thakuri (3)

दार्चुलाकी उपासना महेन्द्रनगर र काठमाडौँमा हुर्के, बढेकी हुन् । फिल्ममा भने उनले रुकुमको मैकोटकी एक मगर समुदायको युवतीको भूमिका निर्वाह गरेकी छन् । त्यसैले फिल्म अभिनय उनका लागि फिजिकल्ली र इमोसनली दुवै रूपमा चुनौतीपूर्ण थियो । किनभने रुकुमको मैकोट निकै दुर्गम ठाउँ हो । त्यहाँ उनी न कहिल्यै पुगेकी थिइन्, न त्यहाँको भाषा र लवजको जानकारी नै थियो ।

‘फिल्मको वर्कसप, स्थानीयको सहयोग लगायतले आफूलाई सजिलो भयो’, उपासनाले भनिन्, ‘स्थानीयले निकै सहयोग गरे । हिँडेर जानुपर्ने स्थानका लागि घोडा दिन्थेँ ।’

मैकोटका मानिसले बाँचेको जीवन निकै फरक पाएको उनले सुनाइन् ।

upasana singh thakuri (2)

  • धिरजसँग प्रेमको हल्ला

संविधान दिवसको अवसर पारेर असोज ३ गते बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ अशोक थापाले निर्देशन गरेका हुन् । फिल्ममा उपासनाको जोडी अभिनेता धिरज मगर छन् । यस अगाडि अनमोल केसी, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल लगायतसँग सहकार्य गरिसकेकी उनको धिरजसँग पहिलो फिल्म हो ।

‘फिल्म कबड्डी–३ को प्रिमियरमा धिरजसँग पहिलो भेट भएको थियो । त्यसपछि खुस्माको सेटमै भेट भएको हो’, उपासनाले भनिन्, ‘उहाँसँग काम गर्न मन थियो । अवसर पनि मिल्यो ।’

upasana singh thakuri (4)

उनको बुझाइमा धिरज राम्रो व्यवहार र सहयोगी स्वभावका अभिनेता हुन् । अहिले धिरज र उपासना प्रेममा रहेको गसिपसमेत मिडिया देख्न मिल्छ । एकसाथ फिल्म गर्दा यस्तो हल्ला हुनु स्वाभाविक ठान्छिन् उनी । यस अगाडि पनि थुप्रैका यस्तो हल्ला चलेको उनको बुझाइ छ ।

‘फिल्म छायाङ्कनदेखि रिलिजका लागि प्रचार प्रसारसम्म हामी धेरै समय एकअर्काेसँगै छौँ । यसले मानिसलाई प्रेमको अनुमान लगाउन बल मिलेको छ,’ उनले भनिन्, ‘त्यो स्वाभाविक हो ।’

  • ‘कबड्डी–३’बाट पहिचान

सानैदेखि फिल्म धेरै हेर्थिन् उपासना । उनलाई फिल्म अभिनयमा रुचि थियो । अभिनेता भुवन केसीले ‘क्याप्टेन’ मार्फत उनलाई फिल्ममा डेब्यु गराए । भुवनले ‘क्याप्टेन’ अफर गर्दा उनी अध्ययन गर्दै थिइन् ।

upasana singh thakuri (1)

उपासनाले इन्स्टाग्राममा राखेका तस्बिर देखेर भुवनले फिल्ममा अफर गरेका रहेछन् । उपासनाले तुरुन्तै जवाफ दिन सकिनन् । भुवनले उपासनाको परिवारसँग कुरा गरेर फिल्मका लागि मनाए । फिल्मका हिरो थिए अनमोल केसी ।

‘क्याप्टेन’पछि ‘कबड्डी–३’, ‘२ नम्बरी’, ‘हात्ती छाप’ र ‘डिसेम्बर फल्स’अभिनय गरेकी उनी ‘कबड्डी अभिनेत्री’ भनेर चिनिन्छिन् । ‘कबड्डी’का धेरै सिक्वेल आएर पपुलरसमेत भएकाले यही फिल्ममार्फत आफूलाई चिनेको हुन सक्ने उनले अनुमान गरिन् । उनले थपिन्, ‘अब खुस्मा भनेर चिनिन्छु भन्ने विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया