बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकप लिग–२ क्रिकेट

ब्याटिङमा सुधारको लक्ष्यसहित नेपालले आज परिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दै

यस्तो छ नेपाल–ओमान एकदिवसीय खेलको इतिहास
बुधबार, ०२ असोज २०८१, ०६ : ३०
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा बुधबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, राति २०ः४५ बजे सुरु हुनेछ । नेपालका लागि ओमान परिचित प्रतिद्वन्द्वी हो । 

तर, एकदिवसीय खेलको तथ्याङ्कमा नेपालभन्दा ओमान केही बलियो देखिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी तीन खेलमा नेपालले ओमानलाई हराएको छ ।

पछिल्लो पटक सन् २०२३ को अप्रिल २१ तारिखमा नेपाल र ओमानबिच एसिया कप क्वालिफायरका क्रममा एकदिवसीय खेल खेलिएको थियो । त्यो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो । नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनाएको थियो । 

ओमानले भने ४६.३ ओभरमा अलआउट हुनुअघि दुई सय २६ रनमात्र बनाउन सकेको थियो । त्यो खेलमा नेपालका लागि कुशल मल्लले केवल ६४ बलमा १० छक्का र नौ चौकाको मद्दतले एक सय आठ रन बनाएका थिए । सोमपाल कामीले पनि ४८ बलमा नौ चौकाको मद्दतले अविजित ६३ रन बनाएका थिए । बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले तीन–तीन विकेट लिएका थिए ।

459596263_950597620429952_4420389635900803528_n

क्यानडा भ्रमणका क्रममा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि सोमबार राति खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग एक सय तीन रनको ठुलो अन्तरले पराजित भएको थियो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४०.१ ओभरमै अलआउट हुनुअघि एक सय ५० रनमात्र बनाउन सकेको थियो । 

क्यानडाविरुद्धको खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै कमजोर देखिएको थियो । ब्याटिङ त झनै निराशाजनक थियो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । केवल ५१ रनको कुल स्कोरमा नेपालले आफ्ना चार प्रभावशाली विकेट गुमाइसकेको थियो । 

459984910_950597613763286_734608824624407973_n

ओपनर कुशल भुर्तेल एक रनमै पभेलियन फर्किएका थिए भने अर्का ओपनर आसिफ शेख पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान करण केसी र सन्दीप लामिछानेले मात्र २० भन्दा बढी रन बनाउन सकेका थिए । 

करणले २७ र सन्दीपले २२ रन बटुलेका थिए । कप्तान रोहित पौडेल पाँच रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की पनि १८ रन बनाउँदै आउट भएका थिए । नेपालका चार ब्याट्सम्यान बाहेक अन्य ब्याट्सम्यानले बनाएको रन त क्यानडाले अतिरिक्त रूपमा दिएको रनभन्दा पनि कम थियो । नेपालले अतिरिक्त रूपमा १६ रन पाएको थियो । 

एकदिवसीय ढाँचाको प्रतियोगिता खेलिरहे पनि नेपालका पाँचजना ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । समग्रमा नेपाली ब्याट्सम्यानले अत्यन्तै खराब प्रदर्शन गरेका थिए । नेपाली ब्याट्सम्यानसँग लामो ढाँचाको प्रतियोगिता खेल्ने अनुभवको कमी देखिएको थियो ।

459997126_950627657093615_6073369651793023155_n

देशभित्रै पनि एकदिवसीय ढाँचाको प्रतियोगिता निकै कम हुने गरेको छ । छोटो ढाँचाको फ्रेन्चाइज प्रतियोगिताको बाढीका कारण नेपाली खेलाडीहरु त्यसैमा बढी अभ्यस्त बन्दै गएका छन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडासँग भोगेको यो पहिलो हार हो । 

 यसअघि नेपालले क्यानडासँग तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । घरेलु मैदानमा खेलिएका ति तीनवटै खेलमा नेपालले क्यानडालाई हराएको थियो । नेपाल र क्यानडाबिच तीनवटा खेलको एकदिवसीय शृङ्खला गत फेब्रुअरीमा नेपालमा खेलिएको थियो ।

लिग–२ प्रतियोगिता अन्तर्गत क्यानडा र अमेरिकामा हुने शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण छ । जारी सिजनको लिग–२ प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । हाल नेपाली टोली अङ्क तालिकाको सातौँ स्थानमा छ । पाँच खेल खेलेको नेपालले एक जित र चार हारबाट दुई अङ्कमात्र जोड्न सकेको छ । 

459861848_950400300449684_9039614755420327546_n

आठ खेल खेलेको नेदरल्यान्ड्स १२ अङ्कसहित पहिलो, नौ खेल खेलेको क्यानडा १० अङ्कसहित दोस्रो, सात खेल खेलेको स्कटल्यान्ड नौ अङ्कसहित तेस्रो, नौ खेल खेलेको नामिबिया आठ अङ्कसहित चौथो, पाँच खेल खेलेको अमेरिका ६ अङ्कसहित पाँचौँ, चार खेल खेलेको ओमान तीन अङ्कसहित छैटौँ र तीनवटै खेलमा पराजित भएको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन् ।

नेपाली टोलीले क्यानडा भ्रमणका क्रममा लिग–२ शृङ्खलाको चारवटा खेल खेल्नेछ । शृङ्खलामा नेपालले आफ्नो तेस्रो खेल सेप्टेम्बर २२ तारिखमा क्यानडासँग खेल्नेछ । नेपालले शृङ्खलामा आफ्नो चौथो तथा अन्तिम खेल सेप्टेम्बर २४ तारिखमा ओमानसँग खेल्नेछ । 

क्यानडापछि नेपाल लिग–२ प्रतियोगिताको अर्को शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ । अमेरिकामा हुने लिग–२ शृङ्खलामा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ । अमेरिकामा पनि नेपाली टोलीले आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ ।

460210184_950400503782997_1677924605826788326_n

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ । 

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।   

त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप