शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०१ असोज २०८१, २२ : ००
मङ्गलबार, ०१ असोज २०८१

आज २०८१ असोज १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • स्थानीयलाई सास्ती

चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज सडक विस्तारको काम ६ वर्षदेखि अलपत्र छ । उक्त सडक विस्तारको काम अघि नबढ्दा स्वास्थ्यमा असर पुग्नका साथै व्यापार व्यवसाय नै चौपट बनेको स्थानीयको गुनासो छ । 

  • शिक्षामा भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने निकायको दोस्रो स्थानमा शिक्षा क्षेत्र देखिएको छ । आर्थिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा भ्रष्टाचारका कुल उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित सरदर १५ प्रतिशत छन् ।

  • अवकाश बहस

भदौ २७ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू रिटायरमेन्ट(अवकाश)को सँघारमा पुगेको बताए । केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सभापति देउवाले आफू अवकाश हुने क्रममा रहेको प्रस्ट्याए ।

  • सहकारीको सम्पत्ति व्यवस्थापन

समयमै समस्याग्रस्त घोषणा भएका बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति व्यवस्थापनमा सरकार चुक्दा सर्वसाधारण बचतकर्ताको अर्बौँ रुपैयाँ गुमेको छ ।  कुहिने नासिने प्रकृतिका वस्तुहरूको व्यापार तथा व्यवसाय गर्दै आएका त्यस्ता सहकारीको सम्पत्ति समयमा ‘टेकओभर’ हुन नसक्दा यस्तो अवस्था आएको हो । आर्थिक अपचलन र कतिपय अवस्थामा व्यवस्थापकीय कमजोरीका कारण यस्तो अवस्था देखिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको निष्कर्ष छ । 

  • असोजमा ७ फिल्म

नयाँ नेपाली फिल्म हेर्ने दर्शकलाई असोज महिनाले खुसी दिन सक्छ । किनभने अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा असोजमा हरेक शुक्रबार नयाँ नेपाली फिल्म प्रदर्शन हुने देखिन्छ । हिन्दुको महान चाड दसैँसमेत परेको असोजमा ७ नेपाली फिल्म रिलिज हुने तरखरमा छन् । ‘खुस्मा’, ‘सानो संसार’, ‘बेहुली फ्रम मेघौली’, ‘आँखा’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ असोजमा प्रदर्शन हुनेछन् ।

  • लोसपा नेपालमा विवाद

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा फेरि विवाद उत्पन्न भएको छ । पछिल्लो समय मधेस प्रदेशको संसदीय दलको नेता चयनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको हो ।

  • महतोद्वारा पार्टी घोषणा

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' रहने घोषणा गरेका हुन् ।  पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

  • राष्ट्रिय भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी छानबिन समितिको प्रतिवेदनले उत्साह छाएको छ । मङ्गलबारबाट सुरु भएको दुई दिने राष्ट्रिय भेलाको पहिलो दिन पार्टी कार्यकर्तामा त्यो उत्साह देखिएको हो ।

  • सहकारी छानबिन समिति प्रतिबेदन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति शुक्रबार आफ्नो प्रतिवेदन संसद्मा पेस गर्‍यो । सांसद सूर्य थापा संयोजक रहेको उक्त समितिले प्रतिवेदन पेस गरेलगत्तै उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

 ‘अब चोक र चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस्’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मंगलबार काठमाडौँमा सुरु भएको राष्ट्रिय भेलामा सोही पार्टीका नेता शिशिर खनालले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भनेका शब्द हुन् यी ।

  • सहुलियत पसल

सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्षको चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत मूल्य पसल सञ्चालन हुने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप