सहकारी प्रतिवेदनले रास्वपामा उत्साह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी छानबिन समितिको प्रतिवेदनले उत्साह छाएको छ । मङ्गलबारबाट सुरु भएको दुई दिने राष्ट्रिय भेलाको पहिलो दिन पार्टी कार्यकर्तामा त्यो उत्साह देखिएको हो ।
सहकारीको बचत अपचलन छानबिन समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात् असोज १ गते पार्टीको राष्ट्रिय भेला सुरु भएको हो । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म चल्ने भेलामा ‘सभापति रवि लामिछानेले क्लिन चिट’ पाएको भन्दै देशभरबाट आएका प्रतिनिधिमा छुट्टै उत्साह छाएको हो ।
प्रदेशगत प्रतिवेदन पेस गरेका प्रदेश सभापतिहरूले भने पुराना दलले रास्वपा मा गए देखाइदिन्छौँ भनी जनता धम्काएपछि सङ्गठन विस्तारमा चुनौती थपिएको पनि उल्लेख गरे ।
उद्घाटन सत्रको सम्बोधन पश्चात् प्रदेशगत समितिको रिपोर्ट सुनाइएको थियो । कोशी प्रदेश सभापति राजेश तिमल्सिनाले रिपोर्ट प्रस्तुत गरिसकेपछि पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सहकारी समितिको प्रतिवेदनबारे स्पष्ट पार्न शिशिर खनाललाई बोलाए ।
पोडियममा पुगेर खनालले काँक्रो चोरको उदाहरण दिँदै भने, ‘पहिला काँक्रो चोर तँ होस् भनेर आरोप लगाइयो । तर, काँक्रो अरूले नै चोरेको रहेछ । ल्याइएको काँक्रो अरूले काटेपछि तैले पनि एक टुक्रा खाइछस् भन्नु कति न्यायोचित हो ? प्रचारचाहिँ यही रूपमा गराइँदै छ ।’
खनालले चिया पसल र चोकचोकमा शिर ठाडो गरेर मेरो सभापति (रवि लामिछाने) सहकारी ठग हैन भनेर गर्वका साथ बोल्न देशभरबाट आएका प्रतिनिधिहरूलाई निर्देशन दिए ।
‘समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको छ । अब हाम्रो काम चिया पसल, चोकदेखि संसद् भवनसम्म त्यो पैसा खोज्ने हो । हामी त्यो पैसा खोज्छौँ,’ उनले भने ।
त्यसपछि हलमा माहोल तात्यो । सभापति लामिछाने जुरुक्क उठेर कार्यकर्तातर्फ फर्किएर अभिनन्दन गरे । ‘रवि दाइ, हाइ हाइ’को नारा पनि सुनियो ।
दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनाइछाड्ने घोषणा
राष्ट्रिय भेलामा सातै प्रदेशका सभापतिहरूले प्रदेशगत प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्न उनीहरूलाई ७ देखि १० मिनेटको समय छुट्ट्याइएको थियो । निर्धारित समयमा प्रतिवेदन प्रस्तुत गरेका उनीहरूको साझा प्रतिबद्धता ०८४ को निर्वाचन जितेर पार्टी सभापति रवि लामिछानेलाई दुई तिहाइ बहुमत सहितको प्रधानमन्त्री बनाउने थियो ।
भेलामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै मधेस प्रदेश सभापति तपेश्वर यादवले लामिछानेलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सपना बाहेक आफूसँग थप केही इच्छा, चाहना नभएको घोषणा गरे ।
‘रवि सरलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सपना छ । त्यसमा मधेसले पूर्ण भूमिका खेल्ने म विश्वास दिलाउन चाहन्छु,’ उनले भेलामा प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेश सभापति राजन गौतमले आफूलाई चुनाव लड्ने रहर नभएको समेत बताए । योग्य र क्षमतावान् मान्छे भए चुनाव जिताउन लाग्ने उनको भनाइ थियो । उनले भने, ‘रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ ।’
लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले पनि सोही आशयको अभिव्यक्ति दिए । ‘सभापतिज्यूलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने रहर छ,’ प्रदेशको प्रतिवेदन प्रस्तुत गर्दै उनले भने ।
‘रास्वपामा प्रवेश नगर भन्दै पुराना दलले जनता धम्क्याए’
सङ्गठन विस्तारमा पहाड र हिमाली जिल्लामा समस्या आएको प्रदेश सभापतिहरूको भनाइ थियो । गण्डकी प्रदेश सभापति गौतमले हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा सङ्गठन निर्माण गर्ने कार्ययोजना बनाउन आवश्यक रहेको बताए ।
‘मनाङमा १ र मुस्ताङमा ७ जना पार्टी सदस्य रहेका छन्,’ उनले भने ।
यस्तै कर्णाली जिल्ला सभापति मदन खड्का र सुदूरपश्चिम जिल्ला सभापति विष्टले साझा समस्या सुनाए । भौगोलिक विकटता रहेका यी दुई जिल्लामा ठुला पार्टीको डरले सङ्गठन विस्तारमा समस्या भएको उनीहरूको भनाइ थियो ।
‘पुराना दलले रास्वपामा गइस् भने सुविधा दिन्नँ, सहयोग गर्दिनँ भनेर धम्काउने गरेपछि सङ्गठन विस्तार गर्न समस्या छ,’ कर्णाली सभापति खड्काको गुनासो थियो ।
उनले हिमाली जिल्लामा सङ्गठन विस्तार गर्ने विषयमा कार्ययोजना बनाएरै अघि बढ्नुपर्ने सुझाव बैठकमा राखे ।
मधेस प्रदेश सभापति तपेश्वर यादवले महेन्द्र राजमार्ग आसपास सङ्गठन विस्तार भइसकेको भन्दै भित्री मधेसमा सङ्गठन निर्माण कार्य जारी रहेको बताए ।
‘अहिले चुनाव भए हामी जित्छौँ नभए हामी प्रमुख प्रतिपक्षी दल बन्ने गरी महेन्द्र राजमार्ग आसपास सङ्गठन विस्तार भएको छ,’ उनले भने ।
बागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेले पार्टीभित्रको कलहको विषय इङ्गित गर्दै भने, ‘पार्टीभित्र युवराज सफल बन्ने कोसिस नगरौँ ।’ उनको भनाइ पूर्वमहामन्त्री डा. मुकुल ढकालतिर लक्षित थियो ।
सङ्गठन विस्तार सुस्त, कार्यक्रम गर्न आर्थिक अभाव
प्रदेश सभापतिहरूले केही गुनासो, केही समस्या र धेरै आशा सम्मिलित प्रतिवेदन प्रस्तुत गरे । उनीहरूमध्ये धेरैले सङ्गठन विस्तारको रफ्तार बढाउन नसकिएको स्वीकार गरे । प्रदेशमा पार्टी गतिविधि र जनतामुखी कार्य गर्न गोजीको पैसा हालेरमात्र सम्भव नहुने प्रदेश सभापतिहरूको गुनासो थियो ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कोशी प्रदेश सभापति राजेश तिम्सिनाले पार्टी विस्तारमा शिथिलता आएको र सभापति लामिछानेको सहकारी प्रकरण आएपछि पार्टीमा विकर्षण छाएको स्वीकार पनि गरे । तर, पछिल्लो समय भने पुनः रास्वपाप्रतिको विश्वास बढ्न थालेको दाबी उनको थियो ।
लेवी नियमित सङ्कलन नहुँदा पार्टी सञ्चालनमा समस्या भएको तिम्सिनाको गुनासो थियो । ‘लेवी नियमित सङ्कलन हुन नसक्दा पार्टी सञ्चालन गर्न गाह्रो भएको छ,’ उनले भने, ‘आर्थिक स्रोतको विकल्प र सुनिश्चितबारे केन्द्रीय नेतृत्वले पनि सोचिदिनु पर्यो ।’
गण्डकी सभापति राजन गौतम, लुम्बिनी प्रदेश सभापति देवराज पाठक र सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले पनि सङ्गठन र पार्टीको गतिविधि सञ्चालन गर्न आर्थिक अभाव हुने गरेको गुनासो राखे ।
‘सम्पूर्ण खर्च एकै व्यक्ति र व्यक्ति विशेषले गर्दा साङ्गठनिक गतिविधिमा सुस्तता आएको छ,’ उनले भने ।
कांग्रेस महामन्त्री थापालाई लामिछानेको व्यङ्ग्य : प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !
बैठकको खुला सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताए । उनले देशका नेताहरू बिहानदेखि बेलुकासम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको दाबी गरे ।
आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अब गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए । उनले कांग्रेस महामन्त्री गगनकुमार थापा लक्षित अभिव्यक्ति पनि दिए ।
थापाप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ?’
उनले भने, ‘म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुपर्यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ । मेरो पनि प्रणाम छ उहाँलाई ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान सेनापतिद्वारा पूर्वी पृतनाको निरीक्षण
-
चम्पावती हाइड्रोपावर लिमिटेडकाे सार्वजनिक सेयर निष्कासन हुने
-
पर्यटन क्षेत्रको विकास गर्न बौद्ध सर्किट महत्त्वपूर्ण छ : मुख्यमन्त्री आचार्य
-
टुँडिखेलमा मनाइयो उधौली साकेला, तस्बिरहरू
-
भारतीय दूतावासमा मनाइयो ध्यान दिवस
-
पोखरामा ९ पुसदेखि पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव