मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल

चीन र भारतबारे के छ राजेन्द्र महतोको पार्टीको बुझाइ ?

मङ्गलबार, ०१ असोज २०८१, १७ : ३२
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । राजेन्द्र महतोको नेतृत्वमा मंगलबार घोषणा भएको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ले चीन र भारतबाट देशले धेरै लाभ लिन सक्ने बताएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालको कार्यदिशा एवं एकीकृत कार्ययोजनामा भारत र चीनबाट देशले फाइदा लिन सक्ने भएकाले प्राप्त अवसरलाई भरपुर उपयोग गर्न सक्नुपर्ने उल्लेख उल्लेख छ ।

तर दुई देशसँगको भौगोलिक अवस्थाले गर्दा कोसँग बढी फाइदा लिन सकिन्छ सोहीअनुसार नीति बनाएर अघि बढ्नुपर्ने सो पार्टीको निष्कर्ष छ ।

कार्यदिशा र कार्ययोजनामा चीनसँगको सिमाना जटिल र वरपर घना बस्ती एवं सहरहरू नभएको तर भारतसँग यसको ठिक विपरीत रहेको उल्लेख छ ।  अझ साझा राजनीतिक, सामाजिक, सांस्कृतिक इतिहास रहेको उल्लेख गरिएको छ ।

रोजगारीको लागि दुवै देशतर्फ श्रमिकहरूको आवागमन हुने गरेको, धर्म, संस्कृति र राजनीतिक प्रणालीमा समेत धेरै हदसम्म समानता रहेको उल्लेख गर्दै अध्यक्ष महतोले भूगोलको सामीप्यता दुवै देश अस्तित्वमा रहँदा नरहँदादेखि नै रहिआएको उल्लेख गरेका छन् । पार्टीको कार्यदिशामा भनिएको छ, ‘तस्बिर आफैँ बोल्दछ भने झैँ नेपाल भू–राजनीतिक जटिलतामा रहेको सत्य तथ्यहरूले प्रमाणित गर्दछ । त्यसकारण नेपालको यो महत्त्वपूर्ण भूगोललाई कसरी अवसरमा परिणत गरी बढीभन्दा बढी लाभ हासिल गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय विमर्श भई राष्ट्रिय सहमति बन्न आवश्यक छ ।’

नेपालको भूगोल चीनसँग करिब एक हजार ४०० किलोमिटर र भारतसँग करिब एक हजार ८०० किलोमिटर जोडिएको छ ।  

विगतको नाटो र साटोको परिवर्तित स्वरुपमा बीआरआई र आईपीएस आएको उल्लेख गर्दै महतोले आफ्नो कार्यदिशमा भनेका छन्, ‘चीनको राजनीतिक प्रणाली र भारत तथा अमेरिकाको राजनीतिक प्रणाली फरक हुनु, विगतमा रुस र चीन दुवै साटो ध्रुवमा रहनु तर हाल भारत आईपीएसमा सहभागी हुनु, व्यापार, पारवहन, सुरक्षा र सामरिक शक्तिमा एकअर्काका प्रतिस्पर्धी रहनुले हामी गम्भीरता पूर्वक कुन ध्रुवको नजिक बस्ने वा कुन ध्रुवमा बस्ने गम्भीरता पूर्वक निर्णय लिनु पर्दछ ।’

आईपीएसमा भारत सहभागी हुनु चीन नहुनु, बीआरआईमा नेपाल सहभागी हुनु, भारत नहुनु जस्ता विषयले भू–राजनीतिको जटिलता अझै थप्ने गरेको उल्लेख गर्दै अध्यक्ष महतोले यो बहु ध्रुवीय विश्वव्यापीकरणको युगमा तटस्थता सम्भव नरहेको उल्लेख गरेका छन् ।

पछिल्लो समय नेपाली राज्य र जनता दुवैको अन्तरक्रिया विभिन्न देशसँग बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष महतोले नेपाली राज्यको भन्दा नेपाली राष्ट्रको अन्तरक्रिया विभिन्न कारणले बढ्दै गएको दाबी गरेका छन् ।

पार्टीको कार्यदिशमा भनिएको छ, ‘नेपाली राज्यले असंलग्न नीति अंगीकार गरे पनि नेपाली जनताले त्योभन्दा फरक नीति लिएको पाइन्छ । यसरी जनताले असंलग्न नीति परित्याग गरी संलग्नता तर्फ बढेको नीतिलाई राष्ट्र मुक्ति क्रान्ति समर्थन गर्दछ र यसो गर्नु नै क्रान्ति सफलता तर्फ अग्रसर हुनु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप