आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

देउवाले भने– समानुपातिकमा प्रश्न छ, समावेशिता हट्दैन

मङ्गलबार, ०१ असोज २०८१, १७ : २७
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने स्पष्ट पारेका छन् । उनले प्रदेश संरचना बनिसकेकाले हटाउन नसकिने बताए । 

मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रदेश खारेजी भन्दा पनि मजबुत र जबाफदेही बनाउने बताए । 

‘प्रदेश सरकार संरचना बनिसकेको छ । हट्ने कुरा छैन र यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ उत्तरदायी बनाउने‚ अझ बढी जबाफदेही बनाउनेदेखि लिएर सारा कुरामा सुधार गर्न सकिन्छ‚’ उनले भने‚‘सधैँ कति समानुपातिकबाट ल्याउने समस्या छ । कतिपय समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता र आवश्यकता छ ।’

उनले धेरै समुदायले चुनाव जित्न गाह्रो भएको भन्दै नेपालमा समावेशी राजनीति आवश्यक भएको बताए । उनले समावेशिताको खिलाफमा समाज नभएको भन्दै समानुपातिकको विषयमा कुरा उठेको बताए । 

‘समावेशी समाजको चरित्र हो । सबैको देश हो यो‚’ उनले भने‚‘देशको शासन प्रणालीमा सबैको प्रतिनिधित्व हुनुपर्दछ ।’

सभापति देउवाले इतिहासले गरेको गल्ती अझै पनि समाधान गर्न नसकिएको स्पष्ट पारे । 

‘त्यसैले छुवाछुत लगायत कतिपय कुरा कानुनी रूपमा समाधान भएपनि प्राक्टिसमा लागु भएको छैन । लागु हुन धेरै समय लाग्ने स्पष्ट छ‚’ उनले भने‚‘नेपालमा लोकतन्त्रले निर्वाध बोल्ने लेख्ने आफ्ना कुरा राख्ने अधिकार दिएको छ । जनमत बनाउने अधिकार दिएको छ ।’

प्रजातन्त्रको खिलाफमा काम भए स्वतन्त्र न्यायपालिका हेर्ने भन्दै देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने जानकारी दिए । 

सभापति देउवाले कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको भन्दै आफू र एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्रका लागि विद्यार्थी हुँदादेखि नै लड्दै आएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप