सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने एमालेको निर्णय

मङ्गलबार, ०१ असोज २०८१, १६ : ५२
मङ्गलबार, ०१ असोज २०८१

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको  बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए । 

प्रदेश सभा दलको विधान २०७५ बमोजिम प्रदेश सभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गर्ने निर्णय गरेको उनको भनाइ छ । 

बैठकले सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने र जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको उनले बताए । 

यस्तै बैठकले विधान संशोधन उपसमिति गठन पनि गरेको छ ।उपसमितिको संयोजकमा  श्रेष्ठ नै रहेका छन् । यसैगरी प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र सचेतक यमुना रोका तामाङ सदस्य रहेका छन् । 

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सभा सदस्यहरूको सुझावहरूलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताए । उनले  योजना कार्यान्वयनको नाममा हुने आर्थिक बेथितिलाई रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गरिने भएकाले यस विषयमा प्रदेश सभा सदस्यहरूले समेत सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप