निलम्बनमा परेका शर्मालाई किन बनाउन खोजिँदैछ संसदीय दलको नेता ?
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा फेरि विवाद उत्पन्न भएको छ । पछिल्लो समय मधेस प्रदेशको संसदीय दलको नेता चयनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको हो ।
सोही विवादका कारण लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनललाई कारबाहीको तयारी गरेका छन् । अध्यक्ष ठाकुरले उपाध्यक्ष सोनललाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशनसम्मको कारबाही हुने बताइएको छ ।
मधेस प्रदेश सभामा यसअघि लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा थिए । उनी निलम्बनमा परेपछि विगत १० महिनादेखि सो पद खाली थियो । पार्टीका सांसदहरूले संसदीय दलको नेता चयनका लागि पार्टी शीर्ष तहमा पटकपटक जानकारी गराए पनि कसैलाई जिम्मेवारी दिइएको थिएन । त्यसपछि लोसपाका प्रदेश सभा सदस्य सांसद जैनुल राइनको अध्यक्षतामा संसदीय दलको बैठक बसेर बहुमत सांसदको हस्ताक्षरबाट प्रदेश सभा सदस्य एवं पार्टीका उपाध्यक्ष जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरियो ।
प्रदेश सभाले सोनललाई संसदीय दलको नेताका रूपमा प्रमाणपत्र पनि दिइसकेको छ । त्यसपछि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभाका सभामुखलाई पत्र लेखेर अभिराम शर्मालाई नै दलको नेतामा निरन्तरता दिन आग्रह गरे ।
महन्थ ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मधेस प्रदेश संसदीय दलका नेता तथा पदाधिकारी सम्बन्धमा कुनै पनि नयाँ आधिकारिक निर्णय नभएको जानकारी गराउँदै अभिराम शर्माजीलाई लोसपा नेपाल मधेस प्रदेश, संसदीय दलका नेतामा निरन्तरता दिनुहुन अनुरोध गर्दछु ।’
जबकि शर्मा १० महिना अगाडि नै प्रदेश सभा सदस्यदेखि लिएर संसदीय दलको नेताबाट निलम्बनमा परिसकेका छन् । उनी अहिले प्रहरीको ‘वान्टेड’ सूचीमा छन् ।
मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट सांसद शर्मालाई जन्मकैदको फैसला सुनाइएको थियो । महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसलामा असई विकको हत्या प्रकरणमा शर्मासहित सात जनालाई जन्मकैदको सजाय तोकिएको छ ।
प्रदेश सभा सचिवालयले २०८० माघदेखि सांसद शर्माले पाउने सेवा–सुविधासमेत रोक्का राखेको छ । तर लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी संसदीय दलको नेतामा अभिराम शर्मा नै रहेको दाबी गर्दै पत्र पठाएपछि विवाद सतहमा आएको हो ।
मधेस आन्दोलनको क्रममा भएको घटनालाई लिएर दोषी देखाउन नमिल्ने, राज्यले दोषी देखाएर निलम्बन गरे पनि पार्टीले निलम्बन गर्न नमिल्ने भन्दै लोसपा नेपालले संसदीय दलको नेतामा शर्मालाई नै निरन्तरता दिन प्रदेश सभालाई पत्रमार्फत आग्रह गरेको छ ।
भदौ ३० गते बसेको लोसपा नेपाल मधेस प्रदेश संसदीय दलको बैठकले जितेन्द्र सोनलाई संसदीय दलको नेतामा चयन गरेको विषयलाई अध्यक्ष ठाकुरले खारेज गरेका छन् ।
प्रदेश सभामा लोसपा नेपालका आठ जना सांसदमध्ये पाँच जनाले सोनलको पक्षमा हस्ताक्षर गरेका छन् । संसदीय दलको बहुमतले गरेको निर्णयलाई समेत अध्यक्ष ठाकुरले मानिरहेका छैनन् । जबकि यसअघि पनि सांसद उपेन्द्र महतोहरूले बहुमत देखाएर अभिराम शर्मालाई संसदीय दलको नेतामा चयन गरेका थिए ।
‘अध्यक्ष ठाकुरले भनेको कुरा भावनात्मक हो तर कानुनले त्यो कुरा मान्दैन,’ लोसपा नेपालका महासचिव प्रमेश्वर साहले भने, ‘पार्टीका अध्यक्ष ठाकुरजीले भावनात्मक कुरा गर्नुभएको छ । केही हदसम्म त्यो पनि जायज हो । पार्टीका एउटा नेतामाथि झुटा मुद्दा लगाइएको छ र त्यसलाई निलम्बन गरिएको छ । त्यस्तो हुनुहुँदैन तर प्रदेश सभाका सभामुखले शर्मालाई निलम्बन गर्नु कानुनी कुरा हो । कानुनले भावनात्मक कुरालाई मान्दैन ।’
जुन सभामुखले शर्मालाई निलम्बन गरेका छन्, उनले नै पार्टी अध्यक्षको पत्र अनुसार शर्मालाई संसदीय दलको नेतामै निरन्तरता दिने विश्वास आफूलाई नलागेको महासचिव साहले बताए । ‘कानुनी हिसाबले शर्मा संसदीय दलबाट निलम्बनमा परेपछि त्यो पद खाली छ,’ साहले भने, ‘पार्टीले त्यहाँ कसैलाई न कसैलाई पठाउनै पर्ने थियो । पार्टीका बहुमत सांसदले निर्णय गरेर सोनललाई संसदीय दलको नेता बनाए । तर यसो गर्दा पार्टीसँग समन्वय हुनुपर्ने थियो । त्यसमा केही त्रुटि भएको छ ।’
प्रदेश सभाले शर्मालाई संसदीय दलको नेता नमानेका कारण अध्यक्ष ठाकुरको पत्रको कुनै अर्थ नरहने प्रदेश सभा सचिवालयका एक कर्मचारीले बताए । उनले भने, ‘प्रदेश सभाले अभिराम शर्मालाई अहिले सांसद तथा दलको नेताको रूपमा चिन्दैन । त्यसैले उहाँलाई दलको नेतामा राख्न मिल्दैन । पार्टीको विवादलाई पार्टीमै मिलाउँदा राम्रो ।’
पार्टीका अर्का महासचिव जासैर यादवले अभिराम शर्मा नै संसदीय दलको नेता रहेको बताए । उनले भने, ‘सरकारले झुटो आरोप लगाएर उहाँलाई फसाएको छ । त्यसलाई पार्टीले पनि मान्दिनु पर्ने अवस्था छैन ।’
उपाध्यक्ष सोनलले जबर्जस्ती संसदीय दलको नेतामा आफ्नो नाम पठाएर पार्टीको अनुशासन विपरीत कार्य गरेको यादवले बताए ।
अर्का महासचिव मनिष मिश्रले पार्टीको यो आन्तरिक कुरा भएकाले शीर्ष तहमा मिलाउने प्रयास भइरहेको जानकारी दिए । पार्टीका अध्यक्ष ठाकुरले नेताहरूसँग समन्वय गरिरहेको र चाँडै नै यसको किनारा लाग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला