असोजमा ७ फिल्म : स्टार कलाकारको दबदबा
काठमाडौंँ । नयाँ नेपाली फिल्म हेर्ने दर्शकलाई असोज महिनाले खुसी दिन सक्छ । किनभने अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा असोजमा हरेक शुक्रबार नयाँ नेपाली फिल्म प्रदर्शन हुने देखिन्छ ।
हिन्दुको महान चाड दसैँसमेत परेको असोजमा ७ नेपाली फिल्म रिलिज हुने तरखरमा छन् । ‘खुस्मा’, ‘सानो संसार’, ‘बेहुली फ्रम मेघौली’, ‘आँखा’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ असोजमा प्रदर्शन हुनेछन् ।
यी ७ फिल्ममध्ये ‘खुस्मा’ असोज ३ गते, ‘सानो संसार’ ११ गते प्रदर्शनमा आउँँदैछ । त्यस्तै, तेस्रो साता फिल्म ‘बेहुली फ्रम मेघौली’ र ‘आँखा’ एक आपसमा भिड्दैछन् । चौथो साता भने ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ गरेर तीन फिल्म एकसाथ रिलिज हुनेछ ।
‘खुस्मा’ प्रेम कथामा बनेको फिल्म हो । सशस्त्र द्वन्द्वको परिवेशमा अङ्कुराएको एक जोडीको प्रेम र उतारचढाव देखाइएको फिल्ममा धीरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन, अरुण पुन लगायतको अभिनय छ । फिल्म अशोक थापाले निर्देशन गरेका हुन् ।
‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र सङ्घर्षको कथामा छ । सिद्धार्थ पुडासैनी निर्देशित फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल लगायतको अभिनय छ । फिल्म अर्जुन कुमारले बनाएका हुन् ।
‘बेहुली फ्रम मेघौली’ विवाहको संस्कृतिमा निर्माण भएको फिल्म हो । ३० वर्ष लागेपछि विशेषगरी युवतीहरूलाई विवाहका लागि परिवार र समाजबाट आउने दबाब यसको कथा हो । साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्म अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतले बनाएका हुन् । फिल्ममा स्वस्तिमा र निश्चलको अलावा विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल लगायतको अभिनय छ ।
सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ जौन योन्जनले निर्देशन गरेका हुन् । स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई लगायतको अभिनय रहेको फिल्मले सुकुम्बासी बस्तीको कथा बोकेको छ ।
यस्तै, ‘१२ गाउँ’ एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म हो । फिल्ममा विराजका छोरा समिर भट्ट मुख्य भूमिकामा छन् । पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्केको समेत अभिनय रहेको फिल्म एक्सन–थ्रिलर कथामा छ ।
‘छक्का पञ्जा ५’ दीपकराज गिरीको समूहले निर्माण गरेको फिल्म हो । फिल्मका निर्देशक दीपाश्री निरौला हुन् । दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका रहेको फिल्म ‘छक्का पञ्जा’को पाँचौँ सिरिज हो । ‘छक्का पञ्जा’ सिरिज राम्रो व्यापार गर्ने फिल्म ठहरिँदै आएको छ ।
‘ज्वाइँ साब’लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा जीतु र नीतिका अलवा वुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
- फूलपातीमा तीन फिल्म भिड्ने
आगामी फूलपाती अर्थात् असोज २४ गते तीन फिल्मले रिलिज मिति तय गरेका छन् । ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ गरी तीन फिल्मले दसैँकै अवसरमा प्रदर्शनको साइत जुराएका छन् ।
यीमध्ये पनि ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’मार्फत दिपकराज गिरी र जीतु नेपाल आपसमा भिड्दै छन् । ‘ज्वाइँ साब’मा जीतु नेपालको मूख्य भुमिका छ भने ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी मुख्य भूमिकामा छन् ।
फूलपातीमा प्रदर्शन हुने तीनै फिल्ममा चलेका कलाकार छन् । यी फिल्म अनुभवी निर्देशकले बनाएका हुन् ।
असोजमा प्रदर्शन हुन लागेका सात फिल्ममध्ये ‘सानो संसार’लाई छोड्ने हो भने सबै फिल्म चलेका कलाकारले भरिएका छन् ।
दसैँमा लामो समय सार्वजनिक बिदा हुने र मानिस फुर्सदमा हुने भएकाले यो बेला निर्माताहरू दर्शकको साथ पाउने अपेक्षाले फिल्म प्रदर्शन गर्न हौसिने गर्दछन् । त्यसैले पनि दसैँकै समय अर्थात् असोज तेस्रो साता एक साथ तीन नेपाली फिल्म आपसमा भिड्न लागेका हुन् ।
असोजको पहिलो र दोस्रो साता एक–एक फिल्म प्रदर्शन हुँदा तेस्रो साता दुई र चौथो साता तीन फिल्म प्रदर्शनको तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री