बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
अर्थ

नेपालमा एनसेलको दुई दशक यात्रा, १ करोड ६० लाख प्रयोगकर्ता

एनसेल फाउन्डेसनको सुरुवात
मङ्गलबार, ०१ असोज २०८१, १५ : ५२
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । एनसेलले नेपालमा आफ्नो सेवा सुरु गरेको १९ वर्ष पूरा भएर २० वर्ष प्रवेश गरेको छ । सन् २००४ मा स्थापना भएको कम्पनीले त्यसको अर्को वर्ष अर्थात २००५ देखि आफ्नो सेवा सुरु गरेको थियो  । 

निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेलले दुई दशकको अवधिमा सेवा, बजार विस्तार र मूल्यमा आमउपभोक्तलाई राहत दिएको छ । यसको उपस्थितिले नै अन्य सेवा प्रदायकलाई पनि मूल्य घटाउन र प्रतिस्पर्धी सेवा दिन बाध्य बनाएको थियो । 

एनसेल आउनुअघि नेपालमा मोबाइलमार्फत फोन गरेका मात्रै होइन, उठाएको पनि पैसा लाग्थ्यो । ६ प्रतिशत जनसङ्ख्यामा मात्रै मोबाइल फोनको पहुँच थियो । सिम पाउनको लागि फारम भरेर कम्तीमा ६ महिना कुर्नुपर्थ्यो । तर एनसेलको उपस्थितिले ग्राहकलाई सहज मात्रै बनायो । ग्राहकले सिमलगायतका सुविधा तत्काल पाउन थाले । 

अहिले एनसेलले मोबाइल फोन सेवासँगै उच्च पहाडी र हिमाली भेगमा समेत जीएसएम नेटवर्क र फोरजी सेवा विस्तार गरेको छ । सन् २०१० मै थ्रीजी सेवा ल्याएको एनसेलले २०१७ मा फोरजी स्थापना गरेको थियो । अहिले देशको करिब ९० प्रतिशत क्षेत्रफलमा फोरजी सेवा पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई हाइस्पिड डेटा र भिडियो कन्टेन्ट प्रयोग गर्न सजिलो भएको छ ।

एनसेलको उपस्थितिले गर्दा अन्य कम्पनीले समेत दुर्गम स्थानको सेवा विस्तारलाई ध्यान दिन थालेका छन् । एनसेलले दिएको जानकारी अनुसार यसको प्रयोगकर्ता १ करोड ६० लाख छन् । 

स्थापना हुँदा ‘मेरो मोबाइल’ नाम राखिएको थियो । सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० पछि मेरो मोबाइलको नाम फेरेर एनसेल बनाइएको थियो । 

फेरि सन् २०१६ मा टेलिया सोनेरासँग मलेसियका आजियटा ग्रुपले एनसेलको सेयर किन्यो । ७ वर्षपछि ‘नेपालमा लगानीको वातावरण नभएको’ विज्ञप्ति निकाल्दै आजियटा बाहिरियो । सन् २०२० मा एनसेल प्रालिबाट पब्लिक लिमिटेड बनेको छ । 

सन् २०२३ डिसेम्बरदेखि ऐनसेलमा स्पेक्ट्रलाइट युके लिमिटेड भित्रियो । उसले आजियटाको शतप्रतिशत सेयर खरिद गरेको छ । जुन एनसेलको करिब ८० प्रतिशत सेयर हो । 

अर्थतन्त्रमा योगदान 

गत आर्थिक वर्ष २०८०/८१ सम्म विभिन्न शीषकमा एनसेलले राज्यलाई ३ खर्ब २० अर्बभन्दा बढी राजस्व तिरिसकेको छ । गत वर्ष मात्रै एनसेलले करिब २३ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । एनसेल हरेक वर्ष सर्वाधिक कर तिर्ने कम्पनीहरूको सूचीमा सरकारबाट सम्मानित हुँदै पनि आएको छ । सन् २०१६ मा आजियटाले एनसेलको सेयर खरिद गर्दा ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो । प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब २५ हजार जनालाई रोजगारी दिएको एनसेलले जनाएको छ । 

ncell_Nepal photo library-10

एनसलले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्बभन्दा बढी रुपैयाँ समाजका लागि खर्च गरेको छ । शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रमा उक्त रकम खर्च गरिएको कम्पनीले जनाएको छ । एनसेलले स्थानीय तहहरू मिलेर कलंकी–कोटेश्वर चक्रपथमा ग्रिन बेल्ट बनाएको छ । विभिन्न अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा पनि दिइरहेको छ । एनसेलको यो सेवा कोरोना महामारीमा असाध्यै उपयोगी भएको थियो । अहिले पनि यो सेवाबाट हजारौँ नागरिक लाभान्वित भइरहेका छन् । 

यो दुई दशकमा नेपालको सञ्चार क्षेत्रमा तीव्र विकास भएको छ । जसमा एनसेलले महत्त्वपूर्ण योगदान दिएको छ । सञ्चार प्रविधिको विकास सँगै ई–कमर्स, टेलिमेडिसिन, मोबाइल बैंकिङ क्षेत्रले समेत फड्को मारेको छ ।

घट्दो आम्दानी 

नेपालमा हाल एनसेल र नेपाल टेलिकम गरेर दुई मोबाइल सेवा प्रदायक कम्पनी छन् । दुवै कम्पनीको वार्षिक आम्दानी लगातार ओरालो लागेको छ । विभिन्न्न प्रविधिको विकास गर्दा मोबाइल डेटा खपत बढाउन सहयोग गरेको छैन । जबकि बङ्गलादेश, श्रीलङ्का जस्ता देशमा मोबाइल सेवा प्रदायकको आम्दानी बढ्दो क्रममा छ । एक अध्ययन अनुसार नेपालमा प्रतिव्यक्ति डेटा खपत मासिक ४.५ जीबी मात्रै हुँदा भारतमा २० जीबी छ ।

आम्दानी घट्दो क्रममा रहे पनि सेवा विस्तार र अन्य सुविधा लागि गर्नुपर्ने लगानी भने महँगो भएको छ । एनसेलका अनुसार दूरसञ्चार सेवा प्रदायकले पछिल्लो समय ३ गुणासम्म बढी लगानी गर्नुपर्ने अवस्था छ ।

कानुनको समस्या 

नेपालमा दूरसञ्चार ऐन २०५३ कार्यान्वयनमा छ । यो अवधिमा प्रविधिले ठुलो छलाङ मारिसकेको छ । तर सरकारले समयानुसार ऐन परिवर्तन गर्ने तादम्यता देखाएको छैन । 

यो ऐन अनुसार पहिलो १० वर्षका लागि दूरसञ्चार कम्पनीले लाइसेन्स पाउँछन् । त्यसपछि प्रत्येक ५ वर्षमा नवीकरण गर्नुपर्छ । हरेक नवीकरणमा २० अर्ब रुपैयाँ राज्यलाई भुक्तानी गर्नुपर्छ । एनसेलले भर्खरै अर्को ५ वर्षका लागि लाइसेन्स नवीकरण गरेको छ । यसकारण दूरसञ्चार क्षेत्र थप महँगो भएको कम्पनीहरूको भनाइ छ । कुल आम्दानीको ५० प्रतिशत सरकारलाई कर तिर्न खर्च हुने कम्पनीहरूको भनाइ छ । 

राज्यलाई राजस्व बुझाउन नसक्दा युनाइटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम, नेपाल स्याटलाइट टेलिकम र सीजी टेलिकम जस्ता कम्पनी बन्द भइसकेका छन् । 

 एनसेल फाउन्डेसनको सुरुवात

ncell_Nepal photo library-06

यसैबिच  एनसेलले २० वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रम आयोजना  गरेको छ । “नेपाल र नेपालीलाई जोड्दै दुई दशक नजिक” भन्ने नाराका साथ, कम्पनीले काठमाडौँको मेरियट होटेलमा कार्यक्रम गरेको हो  ।  एनसेलका सीईओ तथा प्रबन्ध निर्देशक जब्बोर कायुमोवको उपस्थितिमा गरिएको कार्यक्रममा कम्पनीले अघिल्ला वर्षहरूमा हासिल गरेका उपलब्धिहरू र भविष्यका योजनाहरूको बारेमा जानकारी गराएको थियो । सोही अवसरमा कम्पनीले एनसेल फाउन्डेसनको सुरुवात  गरेको पनि जानकारी गरायो  ।  फाउन्डेसनमार्फत एनसेलले १९ वटा प्रोजेक्टका लागि प्रति प्रोजेक्ट १० लाख रुपैयाँका दरले १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

यसैगरी कम्पनीले भविष्यमा १०० वटा प्रोजेक्ट, १ करोड ३० लाख मानिसको जीवनमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने र सामाजिक योगदानमा २ अर्ब लगानी गर्ने लक्ष्य लिएको समेत लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप