आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गानले समेट्न नसकेको सिमाना

मङ्गलबार, ०१ असोज २०८१, १५ : ४२
मङ्गलबार, ०१ असोज २०८१

नेपाल भौगोलिक रूपमा सानो तर ऐतिहासिक रूपमा गौरवमय देश हो । यस देशले विगतमा विदेशी शक्तिसँग बलिदानीपूर्ण संघर्ष गरेर आफ्नो भूभागको रक्षा गरेको छ । तथापि आज पनि नेपालले भारतसँग सीमा विवाद झेलिरहेको छ, जसमा प्रमुख रूपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र छन् । यी विवादले केवल नेपालको भूगोलमा प्रत्यक्ष प्रभाव मात्रै पारेको छैन । यसले राष्ट्रिय एकता, सार्वभौमसत्ता र आत्मसम्मानमा पनि गहिरो असर पारेको छ ।

  • नेपालको सीमा र राष्ट्रिय गानको सन्दर्भ

नेपाल–भारत सिमानासम्बन्धी विवाद कुनै नयाँ होइन । नेपालको राष्ट्रिय गानले ‘सार्वभौम भई फैलिएका मेची–महाकाली’ भने पनि वास्तविक सिमाना विवादले गीतको यस हरफलाई पुनर्विचार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । झापा भद्रपुर घर भएका सामाजिक अभियन्ता मुकुन्द आचार्यजस्ता व्यक्तिहरूले राष्ट्रिय गीतको यस हरफले नेपालका सिमानाहरूलाई वास्तविक रूपमा समेट्न नसकेको भनेर औँल्याएका छन् । उनी भन्छन्, ‘सिमाना मेची र महाकालीसम्म सीमित छैन, मेची र काली नदीको पारिपट्टि पनि नेपालका भूमि छन्, जसलाई गीतले छाडेको छ ।’

  • मेची क्षेत्रको विवाद : मुकुन्द आचार्यको मुद्दा

अभियन्ता आचार्यले मेची नदीको पारिपट्टिको भू–भागबारे प्रश्न उठाएका छन् । उनले झापा जिल्लामा पर्ने साबिक महेशपुर गाविस– २ अन्तर्गत रहेको मेची नदी पारिको क्षेत्र नेपालको भूभाग विद्यमान रहेको बताए । उनले जिल्ला नापी कार्यालयमा सिमानाको वास्तविक स्थिति माग गर्दै निवेदन दिएका थिए, तर कार्यालयले यसको स्पष्ट जवाफ दिन सकेको छैन । यो विवाद स्थानीयस्तरमा मात्र सीमित छैन, यो अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित गम्भीर मुद्दा हो भनेर उनलाई जवाफ दिइयो । 

मेची नदी पारिपट्टि करिब पाँच सय बिघा जमिन रहेको स्थानीयवासी भरतप्रसाद दाहालको भनाइ छ । उनले प्रस्ट पार्दै भने, साबिक ज्यामिरगढी–२ र हाल मेचीनगरको वडा १५, वडा १ को पनि केही भूभाग पारि पर्छ । साबिक महेशपुरको एउटा वडा पारि पनि छ । भद्रपुरका भूभाग पनि मेची पारि छन् । भारतले पटक–पटक सिमाना स्तम्भहरू सारिरहे पनि नेपालले खासै चासो नदिएकामा उनको गुनासो छ । 
यसरी नेपालका सिमानाहरू क्रमिक रूपमा खुम्चिँदै गएको र सरकारले पर्याप्त कदम नचालेको त छँदै छ, झन् राष्ट्रिय गीतमै मेचीसम्म खुम्च्याएपछि यसले पछि दाबी गर्ने अवस्था नै बन्द हुन सक्नेतर्फ आचार्यको चिन्ता छ । 

  • नेपालको सिमाना र ऐतिहासिक भू–भाग

नेपालको ऐतिहासिक भूगोल मेची र महाकाली पारि धेरै नै फैलिएर रहेको थियो । १८१६ को सुगौली सन्धिले नेपालले विशाल भूभाग गुमाएको थियो, जसमा पश्चिममा कुमाऊँ र गढवाल क्षेत्रहरू तथा पूर्वमा टिस्टासम्मका क्षेत्र थिए । आज पनि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले सीमा विवाद झिकेको छ । 

नेपालको सीमा विवादले देशको सार्वभौमसत्तामा गम्भीर चुनौती खडा गरेको छ । आचार्यजस्ता अभियन्ताले राष्ट्रिय गीतमा सिमाना चित्रण गर्नुपर्ने आवाज उठाएका छन्, जुन एकदमै महत्त्वपूर्ण र स्वागतयोग्य छ ।
  • राष्ट्रिय गीतको संशोधन आवश्यक

वर्तमान राष्ट्रिय गीतले नेपालको विविधता र एकतालाई बलियो रूपमा प्रस्तुत त गरेको छ, तर भूगोलको यथार्थ चित्रण गर्न असमर्थ रहेको छ । मुकुन्द आचार्यले भनेझैँ ‘सिमानाको सही चित्रण नगर्नु वास्तविकतामा नेपालको अवहेलना हो ।’ यस्तो अवस्थामा राष्ट्रिय गीतको संशोधन र पुनर्विचार गर्नुपर्ने प्रश्न उठ्न थालेका छन् । राष्ट्रिय गीत देशको इतिहास, संघर्ष र सार्वभौमसत्ताको प्रतीक हो, त्यसैले यसले भूगोलको यथार्थ चित्रण गर्नुपर्छ ।

  • महाकालीपारि सामरिक महत्त्वका नेपाली भू–भाग

महाकाली नदीले नेपाल–भारत सिमाना छुट्ट्याउँछ भन्ने प्रचलित धारणा भए पनि महाकालीपारि पनि नेपालका केही भू–भाग रहेका छन् । दोधारा चाँदनी नगरपालिकाको उदाहरण लिउँ, जुन महाकाली नदी पारिपट्टि रहेको क्षेत्र हो । यो क्षेत्र नेपालसँग सीमा जोडिएको भए पनि यस क्षेत्रका जनताले आफ्नो दैनिकीमा भारतसँग सिधा सम्पर्क राख्नुपर्ने बाध्यता छ ।

२०६१ सालमा बनाइएको झोलुंगे पुलले यस क्षेत्रका बासिन्दालाई महेन्द्रनगरसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ । तथापि झोलुंगे पुलको मर्मत नहुँदा तथा भारतले महाकाली नदीमा पानीको बहाव परिवर्तन गर्दा यातायात अवरुद्ध हुन सक्ने समस्या देखिएको यो क्षेत्रका क्रियाशील पत्रकार रामसिंह ठगुन्नाको मत छ । 

यस क्षेत्रको महत्त्व केवल भूगोलमा मात्र सीमित छैन, यसले नेपालको सिमाना सुरक्षामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । जोगबुढा नदी पारिपट्टि रहेका चारवटा गाउँहरू कुतियाकबर, १८ नम्बर, सुन्दरनगर र कञ्जभोजलाई भारतीय पक्षले पटक–पटक चुनौती दिएको ठगुन्नाले बताए । यद्यपि सिमाना पिलरहरू यथावत् रहेका छन्, यस क्षेत्रका जनतामा सिमाना सुरक्षाबारे गहिरो चिन्ता देखिन्छ ।

मेची, महाकाली पारि रहेका सामरिक महत्त्वका भूभागको संरक्षण र विकास पनि राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ । नेपालले आफ्नो इतिहास र भूगोललाई पुनर्संरचना गर्दै राष्ट्रिय गीतको संशोधन र सिमाना सुरक्षामा ठोस कदम चाल्न आवश्यक छ ।
  • कालापानी र लिपुलेक विवाद : ऐतिहासिक पृष्ठभूमि

नेपाल–भारत सिमानाको विवादित क्षेत्रमध्ये सबैभन्दा चर्चित कालापानी, लिपुलेक र लिम्पियाधुरा हुन् । यी क्षेत्रमा ऐतिहासिक रूपमा नेपालले सार्वभौम अधिकार दाबी गर्दै आएको छ । सन् १८१६ को सुगौली सन्धिमा नेपालले महाकाली नदीलाई पश्चिमी सिमाना मानेको थियो । लिम्पियाधुरा, कुटी, नाबी र गुन्जीजस्ता भारतको कब्जामा रहेका भू–भाग सामरिक महत्त्वका छन् । सन् २०१५ मा भारत र चीनले लिपुलेकलाई व्यापार मार्गका रूपमा प्रयोग गर्ने सम्झौता गरेपछि यो विवाद अझ चर्कियो । नेपालले लिम्पियाधुराको पश्चिमी सिमानालाई आफ्नो भू–भाग मान्दै आएको छ, तर भारतले यसलाई आफ्नो नक्सामा राखेको छ । यस प्रकारका अतिक्रमणमा नेपालले अन्तर्राष्ट्रिय कूटनीतिक पहल गर्नुपर्नेछ ।

  • महाकाली पारिका अन्य क्षेत्रहरूको स्थिति

दोधारा चाँदनी क्षेत्रमा हाल सरकारको शान्ति सुरक्षा र विकास निर्माणका सवालमा ध्यान पु¥याउन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । यस क्षेत्रका गाउँहरूमा भारतसँग पारिवारिक र व्यापारिक सम्बन्ध अझै पनि बलियो छ । सिमाना सुरक्षाका लागि सशस्त्र प्रहरीको बेस–क्याम्प त राखिएको छ, तर विकासका दृष्टिले यो क्षेत्र अझै पछि परेको छ ।

नेपालको सीमा विवादले देशको सार्वभौमसत्तामा गम्भीर चुनौती खडा गरेको छ । आचार्यजस्ता अभियन्ताले राष्ट्रिय गीतमा सिमाना चित्रण गर्नुपर्ने आवाज उठाएका छन्, जुन एकदमै महत्त्वपूर्ण र स्वागतयोग्य छ । यसका साथै मेची, महाकाली पारि रहेका सामरिक महत्त्वका भूभागको संरक्षण र विकास पनि राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ । नेपालले आफ्नो इतिहास र भूगोललाई पुनर्संरचना गर्दै राष्ट्रिय गीतको संशोधन र सिमाना सुरक्षामा ठोस कदम चाल्न आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप