नयाँ ढाँचाको युरोपेली च्याम्पियन्स लिग आजदेखि
पहिलो दिनको खेल
- योङ ब्वाइज (स्विट्जरल्यान्ड) विरुद्ध एस्टन भिल्ला (इङ्ल्यान्ड) : राति २२ः३० बजे ।
- युभेन्ट्स (इटाली) विरुद्ध पीएसभी आइन्डओभन (नेदरल्यान्ड्स) : राति २२ः३० बजे ।
- एसी मिलान (इटाली) विरुद्ध लिभरपुल (इङ्ल्यान्ड) : राति ००ः४५ बजे ।
- बायर्न म्युनिख (जर्मनी) विरुद्ध डाइनामो जाग्रेब (क्रोएसियन) राति ००ः४५ बजे ।
- रियल मड्रिड (स्पेन) विरुद्ध भीएफबी स्टुटगार्ट (जर्मनी) : राति ००ः४५ बजे ।
- स्पोर्टिङ सीपी (पोर्चुगल) विरुद्ध लिल (फ्रान्स) राति ००ः४५ बजे ।
काठमाडौँ । युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको लिग चरण मंगलबार रातिदेखि सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल सन् २०२५ को मे ३१ तारिखमा जर्मनीको म्युनिखस्थित अलियान्ज एरिनामा हुनेछ ।
यसपटक च्याम्पियन्स लिगको लिग चरण परम्परागत ढाँचाभन्दा फरक तरिकाले खेलाइँदै छ । नयाँ ढाँचासँगै टोलीको सङ्ख्यादेखि अन्य केही कुरामा पनि महत्त्वपूर्ण परिवर्तन गरिएको छ । च्याम्पियन्स लिगको पुरानो ढाँचामा ३२ टोलीले सहभागिता जनाउँथे । तर, यस पटकदेखि सुरु गरिएको नयाँ ढाँचामा ३६ टोलीलाई समावेश गरिएको छ ।
यस आधारमा थप चार क्लबले च्याम्पियन्स लिगको लिग चरणमा सहभागिता जनाउन पाउने छन् । लिग चरणमा सहभागी ३६ टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा नौवटा टोलीको सहभागिता रहने छ । प्रत्येक समूहमा रहेका टोलीहरूको चयन ‘लक्की ड्र’मार्फत गरिएको हो ।
सहभागी टोलीहरू छनोट चरणको लामो यात्रा तय गर्दै लिग चरणमा प्रवेश गरेका हुन् । प्रत्येक समूहमा रहेका टोलीले आठवटा प्रतिद्वन्द्वी पाएका छन् । लिग चरणमा एउटा टोली घरेलु मैदानमा चार र विपक्षीको मैदानमा चार गरी कुल आठ खेल खेल्नेछन् ।
यसअघिको ढाँचामा प्रत्येक समूहमा चार–चारवटा टोली रहने गरेका थिए । त्यो ढाँचामा प्रत्येक टोलीले एक–अर्कासँग ‘होम एन्ड अवे’ एक–एक खेल खेल्थे । अर्थात्, समूहमा रहेका चारवटै टोलीले कुल ६–६ खेल खेल्ने गरेका थिए ।
नयाँ ढाँचा अनुसार, लिग चरणको समाप्तिपछि तालिकाको पहिलोदेखि आठौँ स्थानसम्म रहने टोली सिधै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्नेछन् । नौदेखि २४औँ स्थानसम्म रहेका टोलीले भने अन्तिम १६ मा प्रवेश पाउन एक–अर्कासँग प्ले–अफ चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्ले–अफ चरण भने नकआउटका आधारमा खेलाइने छ ।
समूहगत चरणको समाप्तिपछि अङ्क तालिकाको २५औँ देखि ३६औँ स्थानमा रहेका टोलीहरू भने रेलिगेसनमा पर्नेछन् । रेलिगेसनमा परेका १२ वटा टोलीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने छैनन् । अर्को सिजन वरीयताका आधारमा नयाँ टोलीले प्रवेश पाउने छन् ।
यस पटकदेखि च्याम्पियन्स लिगको पुरस्कार रकममा पनि उल्लेख्य वृद्धि गरिएको छ । पुरस्कार राशि बढाएर दुई अर्ब ७९ करोड अमेरिकी डलर पुर्याइएको छ । विगतको तुलनामा पुरस्कार राशिमा २५ प्रतिशतले वृद्धि गरिएको हो ।
- किन परिवर्तन गरियो ढाँचा ?
रमाइलो पक्ष के हो भने, फुटबल पारखीले नयाँ ढाँचामा फाइनलको झल्को दिने थुप्रै खेलको मजा लिन पाउने छन् । उदाहरणका लागि च्याम्पियन्स लिगको साबिक विजेता स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडले लिग चरणमै इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बोरुसिया डर्टमन्डजस्ता बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ ।
अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई नै पराजित गरेको थियो । च्याम्पियन्स लिगको ढाँचा परिवर्तन गरिनुको पछाडि आर्थिक पक्ष सबैभन्दा बलियो रूपमा उभिएको छ । लिग चरणमै बलिया प्रतिद्वन्द्वीहरूबिच भिडन्त हुने भएकाले यस्ता खेलमा दर्शकको ओइरो लाग्नु स्वाभाविक पनि हो ।
अर्कोतिर, यसमा प्रसारण अधिकार पनि जोडिएको हुन्छ । त्यसैले युरोपेली फुटबलका ठुला क्लबहरू पनि ढाँचा परिवर्तनबाट उत्साही देखिएका छन् । नयाँ ढाँचा लागू भएपछि तुलनात्मक रूपमा कमजोर क्लबहरूले पनि बलिया क्लबहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । नयाँ ढाँचामा खेल सङ्ख्या पनि बढ्ने भएको छ । यसअघिको ढाँचामा कुल एक सय २५ खेल खेलाइन्थ्यो भने नयाँ ढाँचामा एक सय ८९ खेल खेलाइन्छ ।
- लिग चरणमा पुगेका क्लबहरू
नयाँ ढाँचाको लिग चरणमा कुल ३६ खेल सहभागी हुनेछन् । सहभागी क्लबमा आर्सनल, एस्टन भिल्ला, एटलान्टा, एट्लेटिको मड्रिड, बार्सिलोना, बायर लेभरकुजेन, बायर्न म्युनिख, बेनफिका, बोलोग्ना, बोरुसिया डर्टमन्ड र ब्रेस्ट रहेका छन् ।
यसैगरी, सेल्टिक, क्लब ब्रुग, डाइनामो जाग्रेब, फेयनुर्ड, जिरोना, इन्टर मिलान, युभेन्ट्स, लिल, लिभरपुल, म्यानचेस्टर सिटी, मिलान, मोनाको, पेरिस सेन्ट जर्मन, पीएसभी आइन्डओभन र आरबी लिपजिग पनि रहेका छन् ।
यसका अतिरिक्त लिग चरणमा रियल मड्रिड, रेड बुल साल्जबर्ग, रेड स्टार बेलग्रेड, साख्तर डोनेट्स्क, स्लोभान ब्रातिस्लाभा, स्पार्टा पाराग्वे, स्पोर्टिङ सीपी, स्ट्रुम ग्राज, भीएफबी स्टुटगार्ट र योङ ब्वाइज पनि रहेका छन् ।
- को–को भिड्दैछन् पहिलो चरणमा ?
प्रतियोगिताको पहिलो दिन मंगलबार राति स्विस क्लब योङ ब्वाइजले इङ्लिस क्लब एस्टन भिल्लाको सामना गर्नेछ । अर्को खेल इटालियन क्लब युभेन्ट्स र नेदरल्यान्ड्सको पीएसभी आइन्डओभनबिच खेलिने छ । यी दुवै खेल नेपाली समय अनुसार, राति २२ः३० बजे सुरु हुनेछ ।
मंगलबार रातिकै अन्य खेल इटालियन क्लब मिलान र इङ्लिस क्लब लिभरपुल, जर्मन क्लब बायर्न म्युनिख र क्रोएसियन क्लब डाइनामो जाग्रेब, स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब भीएफबी स्टुटगार्ट तथा पोर्चुगिज क्लब स्पोर्टिङ सीपी र फ्रान्सेली क्लब लिलबिच खेलिने छ ।
यसैगरी, बुधबार राति पाराग्वेको स्पार्टा पाराग्वे, अस्ट्रियाको रेड बुल साल्जबर्ग, इटालीको बोलोग्ना र युक्रेनको साख्तर डोनेट्स्क, स्कटल्यान्डको सेल्टिक र स्लोभाकियाको स्लोभान ब्रातिस्लाभा, बेल्जियमको क्लब ब्रुग र जर्मनीको बोरुसिया डर्टमन्ड, इङ्ल्यान्डको म्यानचेस्टर सिटी र इटालीको इन्टर मिलान तथा फ्रान्सको पेरिस सेन्ट जर्मन र स्पेनको जिरोनाबिच खेल हुनेछ ।
यसैगरी, बिहीबार राति नेदरल्यान्ड्सको फेयनुर्ड र जर्मनीको बायर लेभरकुजेन, सर्बियाको रेड स्टार बेलग्रेड र पोर्चुगलको बेनफिका, फ्रान्सको मोनाको र स्पेनको बार्सिलोना, इटालीको एटलान्टा र इङ्ल्यान्डको आर्सनल, स्पेनको एट्लेटिको मड्रिड र जर्मनीको आरबी लिपजिग तथा फ्रान्सको ब्रेस्ट र अस्ट्रियाको स्ट्रुम ग्राजबिच खेल हुनेछ ।
- फाइनलको झल्को दिन भिडन्तहरू
नयाँ ढाँचाको च्याम्पियन्स लिगमा फाइनलको झल्को दिने थुप्रै खेल हुनेछन् । चर्चित क्लबहरू पटक–पटक आपसमा भिड्ने छन् । पहिलो दिन (सेप्टेम्बर १७ तारिख) नै युभेन्ट्सले पीएसभी आइन्डओभनको सामना गर्नेछ । च्याम्पियन्स लिगको इतिहासमा युभेन्ट्स दुईपटक र पीएसभी एकपटकको च्याम्पियन हुन् । युभेन्ट्सले सन् १९८५ र सन् १९९६ मा तथा पीएसभीले सन् १९८८ मा उपाधि जितेका थिए ।
पहिलो दिन नै एसी मिलान र लिभरपुलबिच खेल हुनेछ । एसी मिलान सातपटक र लिभरपुल ६ पटकका च्याम्पियन हुन् । मिलानले पछिल्लो पटक सन् २००७ मा उपाधि जितेको थियो भने लिभरपुल पछिल्लो पटक सन् २०१९ मा विजेता बनेको थियो । मिलान र लिभरपुल चार–चारपटक उप–विजेता पनि बनेका छन् ।
यसैगरी, सेप्टेम्बर १८ तारिखमा पनि च्याम्पियन्स लिगका दुई पूर्वविजेताबिच भिडन्त हुनेछ । त्यो खेलमा इन्टर मिलानले म्यानचेस्टर सिटीको सामना गर्नेछ । इन्टर मिलान तीन र म्यानचेस्टर सिटी एकपटकको च्याम्पियन हुन् । पछिल्लो पटक इन्टर मिलानले सन् २०१० मा र म्यानचेस्टर सिटीले सन् २०२३ मा उपाधि चुमेका थिए । इन्टर मिलान तीन र म्यानचेस्टर सिटी एक पटक उप–विजेता पनि बनेका छन् ।
यसैगरी, अक्टोबर १ तारिखमा आर्सनल र पेरिस सेन्ट जर्मनबिच रोचक भिडन्त हुनेछ । यी दुवै टोली च्याम्पियन्स लिगमा एक–एक पटक उप–विजेता बनेका छन् । अक्टोबर २२ तारिखमा रियल मड्रिड र बोरुसिया डर्टमन्डबिच भिडन्त हुनेछ ।
रियल मड्रिड सर्वाधिक १५ पटक र बोरुसिया डर्टमन्ड एकपटकका च्याम्पियन हुन् । बोरुसियाले सन् १९९७ मा उपाधि जितेको थियो भने दुईपटक उप–विजेता बनेको थियो । रियल मड्रिड च्याम्पियन्स लिगको साबिक विजेता पनि हो ।
यसैगरी, अक्टोबर २३ तारिखमा बार्सिलोना र बायर्न म्युनिखबिच बहुप्रतिक्षीत खेल हुनेछ । बायर्न म्युनिख ६ र बार्सिलोना पाँचपटकको च्याम्पियन हो । पछिल्लो पटक बायर्न म्युनिखले सन् २०२० मा र बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग जितेका थिए । बायर्न म्युनिख पाँच र बार्सिलोना तीनपटक उप–विजेता पनि बनेका छन् ।
यसैगरी, नोभेम्बर ५ तारिखमा रियल मड्रिड र एसी मिलानबिच खेल हुनेछ । नोभेम्बर ६ तारिखमा इन्टर मिलान र आर्सनल आपसमा भिड्नेछन् । नोभम्बर ६ तारिखमा पेरिस सेन्ट जर्मेन र एट्लेटिको मड्रिडबिच भिडन्त हुनेछन् ।
यसैगरी, नोभेम्बर २६ तारिखमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन आपसमा भिड्नेछन् । नोभेम्बर २७ तारिखमा स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडले इङ्लिस ‘जायन्ट’ लिभरपुलको सामना गर्नेछ । डिसेम्बर ११ तारिखमा युभेन्ट्स र म्यानचेस्टर सिटीबिच रोचक भिडन्त हुनेछ । सन् २०२५ को जनवरी २२ तारिखमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।