बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सामारान्च जुनियरदेखि सेबास्टियन कोएसम्म आईओसी अध्यक्षको होडमा

मङ्गलबार, ०१ असोज २०८१, १४ : ०५
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । विश्व एथलेटिक्सका अध्यक्ष लर्ड सेबास्टियन कोए पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आगामी अध्यक्ष बन्ने दौडमा उभिएका छन् । बेलायती नागरिक कोएसँगै अन्य ६ ब्यक्ति पनि आईओसी अध्यक्षको होडमा छन् ।

आईओसीका वर्तमान अध्यक्ष थोमस ब्याचले आफू आगामी निर्वाचनमा उम्मेदबार नबन्ने घोषणा यसअघि नै गरिसकेका छन् । ब्याचले हालै फ्रान्सको पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिक खेलकुदका क्रममा आफूले उम्मेदबारी नदिने घोषणा गरेका थिए ।

आईओसी अध्यक्षका रुपमा ब्याचको दोस्रो कार्यकाल आगामी वर्ष सकिँदैछ । जर्मन कानुन ब्यवसायी ब्याचको उक्त घोषणापछि नयाँ अध्यक्ष बन्न कोए पनि अगाडि सरेका हुन् । कोए चर्चित पूर्वखेलाडी पनि हुन् । उनले ओलम्पिकमा एथलेटिको १५ सय मिटर दौडमा दुईवटा पदक जितेका थिए ।

कोएसँगै स्पेनका हुवाँ एन्टोनियो सामरान्च जुनियर, फ्रान्सका डेभिड लापार्टिएन्ट, जिम्बाबेका क्रिस्टी कोभेन्ट्री, जापानका मोरिनारी वातानाबे, स्विडेनका जोहान इलियास र जोर्डनका राजकुमार फैसल अल हुसेन पनि अध्यक्ष बन्ने होडमा छन् ।

४१ वर्षीया कोभेन्ट्री सातपटककी ओलम्पिक च्याम्पियन पौडी खेलाडी हुन् । उनी आईओसीको पहिलो महिला अध्यक्ष बन्ने धुनमा छिन् । उनी अध्यक्ष पदमा निर्वाचित भएमा आईओसीले अफ्रिकी महादेशबाट पहिलो अध्यक्ष पाउने छ । कोभेन्ट्री आफै पनि जिम्बाबेकी ओलम्पिक हुन् ।

यसैगरी, जोर्डनका ६३ वर्षीय राजकुमार हुसेन आफ्नो समयका चर्चित रेस्लर हुन् । उनी अहिले जोर्डन ओलम्पिक कमिटीका अध्यक्ष पनि हुन् । उनले विश्व शान्तीका लागि विभिन्न अभियान पनि सञ्चालन गर्दै आएका छन् ।

यसैगरी, ६७ वर्षीय सेबास्टियन कोए आफ्नो समयका चर्चित मध्यम दुरीका धावक हुन् । उनी कन्जरभेटिव पार्टीको तर्फबाट सांसद पनि बनेका थिए । सन् २०१२ मा लन्डनमा ओलम्पिक खेलकुद आयोजना हुँदा उनी स्थानीय आयोजक समितिका प्रमुख पनि बनेका थिए । उनले ब्रिटिस ओलम्पिक कमिटीलाई पनि सफल नेतृत्व प्रदान गरिसकेका छन् ।

यसैगरी, ६२ वर्षीय जोहान इलियास अन्तर्राष्ट्रि स्की तथा स्नोबोर्ड महासंका अध्यक्ष हुन् । उनी आफैले पनि खेलकुदसँग सम्बन्धित सामाग्रीहरु उत्पादन गर्ने कम्पनी स्थापना गरेका छन् । उनले अन्तर्राष्ट्रिय खेलकुदमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

यसैगरी, ५१ वर्षीय फ्रान्सेली नागरिक डेभिड साइक्लिङको अन्तर्राष्ट्रिय महासंघको अध्यक्ष हुन् । उनी फ्रान्स ओलम्पिक कमिटीका अध्यक्ष पनि हुन् । यसका अतिरिक्त उनी आईओसीअन्तर्गत ई–स्पोर्ट समितिका अध्यक्ष पनि हुन् ।

यसैगरी, ६४ वर्षीय स्पेनिस नागरिक हुवाँ एन्टोनियो सामारान्च जुनियर आईओसीको वर्तमान कमिटीका चार उपाध्यक्षमध्येका एक हुन् । सन् २०२२ को बेइजिङ शितकालीन ओलम्पिक खेलकुदलाई सफल बनाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो । उनका पिताले सन् २००१ सम्म लगातार २१ वर्ष आईओसीलाई सफल नेतृत्व प्रदान गरेका थिए । हाल उनका पिताको निधन भइसकेको छ ।

यसैगरी, ६५ वर्षीय जापानी नागरिक मोरिनारी अन्तर्राष्ट्रिय जिमन्याष्टिक महासंघका अध्यक्ष हुन् । उनले सन् २०१७ देखि जिमन्याष्टिक महासंघलाई सफल नेतृत्व प्रदान गर्दै आएका छन् । सन् २०२० को टोकिया ओलम्पिकलाई सफल बनाउन उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप