मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
अवकाश बहस

नेताहरूको ‘रिटायरमेन्ट’ को उमेर कति ?

नेपाली राजनीतिमा दशकौँसम्म एउटै अनुहार
मङ्गलबार, ०१ असोज २०८१, १२ : २४
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । भदौ २७ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू रिटायरमेन्ट(अवकाश)को सँघारमा पुगेको बताए । केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सभापति देउवाले आफू अवकाश हुने क्रममा रहेको प्रस्ट्याए ।

२०७२ साल माघमा पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि नेतृत्वमा आएका देउवा दुई कार्यकाल पार्टी सभापति भए । कांग्रेसको विधान अनुसार २०८२ मा हुने १५ औँ महाधिवेशनबाट देउवाले नेतृत्व हस्तान्तरण गर्नेछन् । भावी नेतृत्वका लागि अहिलेदेखि नै तयारी थाल्न नेताहरूलाई उनले निर्देशन दिए ।

‘मेरो उमेर पनि गयो । रिटायरमेन्टको बेला भइसकेको छ । मलाईभन्दा बढ्ता भोलि हुने नेताहरूले चिन्ता गर्नुपर्छ । भोलि आउने नेताहरूले सबैलाई समन्वय गरेर लैजानुपर्नेछ,’ देउवाले भनेका थिए ।

उमेरले ७९ वर्ष पार गरेका उनी प्रधानमन्त्री केपी ओलीपछि सरकारको नेतृत्व गर्ने आकाङ्क्षा राखेका छन् । देउवाको आकाङ्क्षा पूरा गर्न ओली इमानदार देखिन्छन् कि देखिँदैनन्, त्यो हेर्न बाँकी छ ।

नेपालको सुदूरपश्चिमी जिल्ला डडेलधुराबाट सक्रिय राजनीतिमा होमिएका उनी २०४८ देखि २०७९ सम्म संसदीय निर्वाचनमा लगातार निर्वाचित एकमात्र नेता हुन् । २०४८ सालमा ४५ वर्षको उमेरमा गृहमन्त्री भएका देउवा २०५२ सालमा ४९ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल भए । ढिलै भए पनि भावी नेतृत्वका लागि मुख ताकेर बसेका कांग्रेसी नेताहरूका लागि उनको ‘रिटायरमेन्ट’ घोषणाले उत्साहित बनाएको देखिन्छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय समिति बैठकमा नेतृत्वको समयावधि सम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा राष्ट्रपति पदमा एक पटकमात्र, प्रधानमन्त्री पदमा बढीमा दुई पटक निर्वाचित हुन पाउने सीमा निर्धारण गरिएको थियो ।

देउवाले रिटायरमेन्ट हुने घोषणा गर्दा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राजनीतिमा नेताको ‘एक्जिट’ नहुने तर्क गरिरहेका छन् । भदौ २९ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिमा विश्राम लिने छुट नेतालाई नहुने स्पष्ट पारे ।

‘एउटै व्यक्ति कति पटक प्रधानमन्त्री बन्न पाउने भन्नेमा आम नागरिकको चासो छ  । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटकमात्रै बनेर शीतलनिवासबाट बिदा भएर जानुपर्छ,’ केन्द्रीय समिति बैठक बस्नुअघि उनले भनेका थिए, ‘अनि प्रधानमन्त्री बन्दै गर्दा चार चोटी बन्नुभयो रे, पाँच चोटी बन्नुभयो रे, ६ चोटी बन्नुभयो रे भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ ।’

उनको प्रस्तावलाई लिएर पार्टीको संस्थापन पक्ष र इतर पक्षबिच चर्काचर्की नै भएको थियो । अन्ततः भदौ १६ मा सम्पन्न बैठकले एक्जिट पोलिसी र चुनावअगाडि गठबन्धन नगर्ने विषयमा पछि छलफल गर्ने निर्णय गर्यो ।

देउवाले रिटायरमेन्ट हुने घोषणा गर्दा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राजनीतिमा नेताको ‘एक्जिट’ नहुने तर्क गरिरहेका छन् । भदौ २९ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिमा विश्राम लिने छुट नेतालाई नहुने स्पष्ट पारे ।

‘राजनीतिमा नेताको एक्जिट भन्ने हुँदैन । सच्चा राजनीतिज्ञहरू बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरूले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छुट हुँदैन’, प्रचण्डले भनेका थिए ।

२०४५ साल यता निरन्तर पार्टी नेतृत्वमा रहेका उनी तीन पटक प्रधानमन्त्री बन्न सफल भए । ३५ वर्षको उमेरमा नेतृत्वमा आएका प्रचण्ड अहिले ७० वर्षका भइसकेका छन् । विशेष महाधिवेशन वा पार्टीको नवौँ महाधिवेशनबाट पनि उनी नेतृत्वमा दोहोरिन चाहन्छन् । फागुनको पहिलो हप्ता सम्पन्न माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा सरकार र पार्टी दुवैमा दुई कार्यकाल तोक्नुपर्ने आवाज उठेको थियो । तर यो विषय विधानमा समेटिन सकेन ।

माओवादीमा मात्र होइन अहिले सरकारको नेतृत्व गरिरहेको दल एमालेमा पनि उमेरहद तथा कार्यकालको विषयमा चर्को बहस भएको थियो । एमालेको नवौँ महाधिवेशनमा ७० वर्षे उमेर हदको व्यवस्था गर्दै एक्जिट पोलिसी लागु गर्यो । तर १०औँ महाधिवेशनअघि २०७८ असोजको दोस्रो हप्ता सम्पन्न प्रथम विधान अधिवेशनमा उमेरहदको व्यवस्था हटाइयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ११औँ महाधिवेशनमा समेत अध्यक्ष बन्न सजिलो हुने गरी उमेरहद हटाएको एमालेकै नेताहरू बताउँछन् । ७२ वर्ष उमेर पार गरेका ओली चौथो पटक प्रधानमन्त्री बन्न सफल भए । ओली अझै २० वर्ष सक्रिय राजनीतिमा रहने दाबी गरिरहेका छन् । ‘मिसन–०८४’लाई विशेष महत्त्व दिएका उनले एकल बहुमत ल्याएर शक्तिशाली प्रधानमन्त्री बन्ने आकाङ्क्षा राखेका छन् ।

एमालेमा झण्डै १५ वर्ष महासचिव भएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल यही असार २० गते सम्पन्न १०औँ महाधिवेशनबाट नेतृत्वमा दोहोरिएका छन् । उनले पनि प्रधानमन्त्री बन्ने आकाङ्क्षा राखेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ७० वर्षका भए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य, राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द लगायत नेताहरू पनि सक्रिय राजनीतिमा छन् । ८० वर्ष पुग्न लागेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् ।

संशोधित विधानमा एकीकृत समाजवादीले न उमेरहदको व्यवस्था गरेको छ, न त कार्यकाल नै तोकेको छ । सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल उमेरले ७६ वर्ष भए पनि राजनीतिमा सक्रिय छन् । उनले अझै १० वर्ष सक्रिय राजनीति गर्ने बताएका छन् ।

उमेरले सबैभन्दा पाका वामपन्थी नेता तथा नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंह सक्रिय राजनीतिमा छन् । ९१ वर्ष पार गरेका उनी राजनीतिबाट अवकाश लिने मुडमा अझै छैनन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ७० वर्षका भए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य, राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द लगायत नेताहरू पनि सक्रिय राजनीतिमा छन् । ८० वर्ष पुग्न लागेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिन् । ६३ वर्षकी उनी फेरि सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा चलेको छ ।

एउटै व्यक्ति पार्टी नेतृत्व र सरकारमा बारम्बार दोहोरिँदा आम नागरिकमा नेताहरूप्रति वितृष्णा बढ्दै गएको देखिन्छ ।

‘राजनीतिमा रिटायरमेन्ट भन्ने हुँदैन’

कर्मचारीमा जस्तो राजनीतिमा लिखित रूपमा रिटायरमेन्ट नहुने विश्लेषक डम्बर खतिवडाको तर्क छ । खास गरी एउटै व्यक्ति बारम्बार नेतृत्वमा दोहोरिँदा आम नागरिकले प्रश्न उठाउनु स्वाभाविक भएको उनले बताए ।

‘उमेरभन्दा पनि लोकतान्त्रिक संस्कार बसाल्नुपर्छ । त्यो भनेको दुई कार्यकालको व्यवस्था तोक्ने । यति भएपछि सरकार र पार्टीभित्रको समस्या स्वतः हल हुन्छ । कोही ७० मा हट्छ । कोही ६० मा हट्छ । कोही ५० वा ४० वर्षमा हट्छ, त्यसमा केही फरक पर्दैन’, उनले भने ।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा पहिलोपटक ५४ वर्षको उमेरमा राष्ट्रपति भए । उनले दुई कार्यकाल पूरा गरी सक्रिय राजनीतिबाट बाहिरिएको उदाहरण दिए । उनले भने, ‘अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन एक कार्यकालमै हटे । उनले चाहेको भए कसैले रोक्न सक्दैनथ्यो । त्यसकारण त्यस्तो खालको संस्कार हाम्रो देशले  बुझ्दै बुझ्दैन । समस्या यही हो ।’

उमेर आधारित बहस गर्नु त्यति त्यति राम्रो नभएको खतिवडाको तर्क छ । कर्मचारीमा जस्तो उमेरहदको अभ्यास राजनीतिमा नभएको उनको भनाइ छ ।

२०४८ देखि सरकारको नेतृत्वमा पुगेका नेताहरू कोही पनि सक्रिय राजनीतिबाट विश्राम लिएको देखिँदैन । २०१५ सालमा ३४ वर्षको उमेरमा सभामुख भएका कृष्णप्रसाद भट्टराई ६६ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी ७४ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । ०४८ देखि ०८१ सालसम्म ३३ वर्षमा १३ जनाले देशको प्रमुख कार्यकारी भूमिका निर्वाह गरे । तीमध्ये पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीमात्र गैर राजनीतिज्ञ हुन् । सो अवधिमा सरकारको नेतृत्व गरेका केहीको निधन भइसकेको छ । भट्टराई, अधिकारीसहित गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र सूर्यबहादुर थापाको निधन भइसकेको छ ।

२०४८ देखि २०८१ सम्म कार्यकारी पदमा पुगेका नेताहरू

कृष्णप्रसाद भट्टराई (१९८१–२०६७)

प्रधानमन्त्री दुई पटक

२०४७ मा पहिलो पटक ६६ वर्षको उमेरमा प्रधानमन्त्री, २०५६ मा दोस्रो पटक ७५ वर्षको उमेरमा प्रधानमन्त्री

गिरिजाप्रसाद कोइराला (१९८१–२०६६)

पाँच पटक प्रधानमन्त्री

२०४८ मा पहिलो पटक ६७ वर्षको उमेरमा प्रधानमन्त्री, २०६३ मा ८२ वर्षमा अन्तिम पटक प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रप्रमुख  

मनमोहन अधिकारी (१९७७–२०५६)

२०५१ मा ७४ वर्षको उमेरमा प्रधानमन्त्री

शेरबहादुर देउवा (२००३–)

पाँच पटक प्रधानमन्त्री

२०५२ मा पहिलोपटक ४९ वर्षको उमेरमा प्रधानमन्त्री, २०८३ मा ८१ वर्ष पुग्ने । छैटौँपटक प्रधानमन्त्री बन्ने गरी एमालेसँग सहमति  

लोकेन्द्रबहादुर चन्द(१९९७–)

चार पटक प्रधानमन्त्री

२०४० पहिलो पटक ४३ वर्षको उमेरमा प्रधानमन्त्री, २०५९ मा ६२ वर्षको उमेर चौथो पटक प्रधानमन्त्री

सूर्यबहादुर थापा (१९८४–२०७२)

पाँच पटक प्रधानमन्त्री

२०२१ पहिलो पटक ३७ वर्षको उमेरमा प्रधानमन्त्री, २०६० मा ७६ वर्षको उमेरमा अन्तिमपटक प्रधानमन्त्री

 प्रचण्ड(२०११–)

तीन पटक प्रधानमन्त्री

२०६५ पहिलो पटक ५४ वर्षको उमेरमा प्रधानमन्त्री, २०७९ मा ६८ वर्षको उमेरमा तेस्रो पटक प्रधानमन्त्री

माधवकुमार नेपाल (२००९–)

२०६६ मा ५७ वर्षको उमेर प्रधानमन्त्री

झलनाथ खनाल (२००६–)

२०६७ मा ६१ वर्षको उमेरमा प्रधानमन्त्री

बाबुराम भट्टराई (२०११–)

२०६८ मा ५७ वर्षको उमेरमा प्रधानमन्त्री

सुशील कोइराला (१९९६–२०७२)

२०७० मा ७४ वर्षको उमेरमा प्रधानमन्त्री

केपी शर्मा ओली (२००९–)

चारपटक प्रधानमन्त्री

२०७२ मा ६३ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप