बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

७६ जिल्लामा फैलिएको डेंगु स्थानीय नै हो कि बाहिरबाट भित्रियो ?

मङ्गलबार, ०१ असोज २०८१, ११ : ४५
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ ।

यो तथ्याङ्क गत माघ दोस्रो साता यताको रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण पाइएको हो ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन स्थानीय वातावरणमा लामखुट्टेले नै डेंगु सारेको वा अन्य स्थानबाट सङ्क्रमण भित्रिएको भन्ने पहिचान हुन आवश्यक रहेको बताउँछन् । ‘देशभरका ७६ जिल्लामा डेंगु देखिएको छ, तर यसमा त्यही स्थानीय तहमा डेंगु सार्ने भेक्टर छन् कि बाहिरबाट सङ्क्रमण भएको हो ?’ उनले भने, ‘मैले हेर्ने भनेको स्थानीय वातावरण अनुकूल छ कि छैन भनेर हो, तर कम डेंगु सङ्क्रमण भएका जिल्लामा अन्य जिल्लाबाट पनि सङ्क्रमण सरेको हुन सक्छ ।’

ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेले देशका ७६ जिल्लामा देखिएको डेंगु सङ्क्रमण स्थानीय वातावरणमै भएको वा अन्य क्षेत्रबाट आएको भनेर यकिन गर्न नसक्ने बताए । ‘वातावरणीय प्रभाव परेको छ,’ उनले भने, ‘स्थानीय स्तरबाट सङ्क्रमित भएका हुन् वा बाहिरबाट सङ्क्रमण भएर त्यहाँ डेंगु देखिएको हो भन्नेबारे स्थानीय स्तरमै गएर अध्ययन गर्नुपर्छ, तर त्यो काम गर्न सकिएको छैन ।’

जलवायु परिवर्तनसँगै लामखुट्टेले आफूलाई सोही अनुसार अनुकूल बनाइसकेका कारण डेंगु सङ्क्रमण बढ्दै गएको विज्ञ बताउँछन् । तर यसको वैज्ञानिक ढङ्गबाट अनुसन्धान भने हुन सकेको छैन । नेपालमा बाह्रै महिना डेंगु सङ्क्रमण देखिन थालेको छ । तर मनसुनमा डेंगुको प्रकोप धेरै बढ्ने गरेको पाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार वर्षभर नै डेंगुको जोखिम रहन्छ । जसमध्ये मनसुनमा यसको जोखिम बढेको पाइएको छ । वर्षातको समयमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने उच्च जोखिम रहने ईडीसीडी अन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए ।

‘मनसुनमा गमला, टायर, खल्डाखुल्डी लगायत क्षेत्रमा पानी जम्छ,’ उनले भने, ‘त्यसमा लामखुट्टेले अण्डा पार्छ । लामखुट्टेको सङ्ख्या बढेपछि डेंगु बढ्ने भइहाल्यो ।’

ईडीसीडीका अनुसार अगस्ट ५ मा २ हजार ३६५ जनामा डेंगु सङ्क्रमण भएको थियो । यो अवधिमा एक जनाको मृत्यु हुनका साथै ७३ जिल्लामा डेंगु फैलिएको थियो । हुम्ला, मुगु, मनाङ लगायत उच्च पहाडी क्षेत्रमा डेंगु सङ्क्रमण त्यतिबेला देखिएको थिएन ।

यस्तै, अगस्ट १९ मा डेंगु सङ्क्रमितको सङ्ख्या ४ हजार ९७ पुगेको ईडीसीडीको तथ्याङ्क छ । अगस्ट १९ सम्ममा २ जनाको मृत्यु डेंगु सङ्क्रमणका कारण भएको थियो । यस्तै, यो समयावधिसम्म ७४ जिल्लामा डेंगु फैलिएको थियो ।

यसैगरी, सेप्टेम्बर ९ सम्ममा ८ हजार १५९ जनामा डेंगु सङ्क्रमण फैलिएको थियो । यो अवधिसम्म ५ जनाको मृत्यु भएको थियो । यसबेला ७५ जनामा डेंगु फैलिएको ईडीसीडीको तथ्याङ्क छ ।

यस्तै, पछिल्लो तथ्याङ्क (सेप्टेम्बर १३)मा ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ७६ जिल्लामा डेंगु फैलिएको छ ।

कुन प्रदेशमा कति सङ्क्रमित ?

गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १३९ जनामा डेंगु सङ्क्रमण फैलिएको छ ।

यसैगरी मधेसमा १८० जनामा सङ्क्रमण देखिएको छ । कोशीमा १ हजार २७ जना, बागमती प्रदेशमा २ हजार ४५३ जनामा डेंगु सङ्क्रमित छन् ।

लुम्बिनी प्रदेशका ६४४ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका ५०४ जनामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका अनुसार यो तथ्यांक माघ दोस्रो साता यताको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप