विश्वकर्मा पूजाका आयाम
हिन्दु संस्कृतिमा पूजा–अर्चनाको महत्त्व छ । ईश्वर वा कुनै देवी–देवताप्रति श्रद्धा, सम्मान, विनय र समर्पणको भाव प्रकट गर्ने कार्य नै पूजा । पूजा त्यस्तो धार्मिक कृत्य हो, जसमा जल, फूल, फल, अक्षता अथवा यसै प्रकारका अन्य पदार्थ कुनै देवी–देवतालाई भावपूर्ण भएर समर्पित गरिन्छ ।
पूजा परम्परा संसारका प्रायः सबै आस्तिक र धार्मिक जातिमा कुनै न कुनै रूपमा छ । पूजाको तीन भेद छन्— नित्य, नैमित्तिक र काम्य ।
आज असोज १ गते, कन्या सङ्क्रान्ति वा विश्वकर्मा पूजा । नेपाल र भारतका केही स्थानमा यस संक्रान्तिका दिन विश्वकर्मा पूजा गरिन्छ ।
विश्वकर्मा पूजा सरकारी वा गैरसरकारी इन्जिनियरिङ संस्थान, प्रतिष्ठानहरूमा बडो हर्षोल्लाषबाट सम्पन्न गरिन्छ । यातायात कलकारखाना, कालिगड पसल आदि यस दिन बन्द रहन्छन् । भगवान् विश्वकर्मालाई शिल्पशास्त्रका आराध्य मानेर कालिगड, मिस्त्रीहरूले पूजा गर्छन् र त्यसपछि धुमधामसँग उत्सव मनाउँछन् । भनिन्छ, चीनमा पनि बरही मिस्त्रीहरूले ‘लु पान’लाई शिल्पी देवता मानेर पूजा गर्छन् ।
मान्यताका अनुसार भगवान् विश्वकर्मा प्रथम वास्तुकार हुन् । उनले नै स्वर्ग लोक, पुष्पक विमान, द्वारिका नगरी, यमपुरी, कुबेर पुरी आदिको निर्माण गरेका थिए । यस दिन विशेष रूपमा औजार, मेसिन, कारखाना, मोटर, ग्यारेज, वर्कसप, लेथ युनिट आदिका देवता भगवान् विश्वकर्माको विशेष पूजा आयोजना गरिन्छ ।
प्राचीन ग्रन्थहरूमा जहाँ ब्रह्मा, विष्णु र महेशको वन्दना–अर्चना भएको छ, त्यहाँ भगवान् विश्वकर्माको पनि स्तुति गरिएको छ ।
‘विश्वं कृत्स्नं गर्म व्यापारो वा यस्य सः’ अर्थात् विश्वकर्मा शब्दबाटै यो अर्थ व्यञ्जित हुन्छ । जसको सम्यक् सृष्टि र गर्म व्यापार छ, उनी विश्वकर्मा हुन् ।
वेदमा ‘विश्वतः चक्षुरुत विश्वतोमुखो विश्वतोबाहुरुत विश्वस्पात्’ भनेर उनलाई सर्वव्यापक, सर्वज्ञ, शक्ति–सम्पन्न र अनन्त आयामी पुरुषको रूपमा दर्शाइएको छ ।
विश्वकर्मा कंबासूत्र, जलपात्र, पुस्तक र ज्ञानसूत्र धारक हुन्, हंसवाहन आरुढ, सर्वदृष्टिधारक, शुभ मुकुट र वृद्धकाय हुन् ।
भगवान् विश्वकर्माको प्रतिमा बनाएर वा चित्र राखेर पूजा गर्ने गरिन्छ । उनको अष्टगंधादिबाट पूजनको विशेष महत्त्व छ ।
विष्णुपुराणमा विश्वकर्मालाई देवताहरूको वर्धकी (देव–बढई) भनिएको छ, तथा शिल्पावतारका रूपमा बताइएको छ । यही मान्यता अनेक पुराणमा पाइन्छ । शिल्पग्रन्थमा उनलाई सृष्टिकर्ता भनिएको छ । स्कन्दपुराणमा उनलाई देवालयका स्रष्टा भनिएको छ । भनिन्छ, उनी शिल्पकलाका यस्ता ज्ञाता थिए, जो पानीमाथि चल्न सक्ने खडाऊ बनाउन समर्थ थिए ।
वास्तुका १८ उपद्रष्टामा विश्वकर्मालाई प्रमुख मानिएको छ । उत्तर र दक्षिण भारत तथा नेपालमा, विश्वकर्मा पूजालाई लोकमान्यता प्राप्त छ । वराहमिहिरले पनि अनेक कृतिमा विश्वकर्मा मत उद्धृत गरेका छन् ।
बृहस्पते भगिनी भुवना ब्रह्मवादिनी ।
प्रभासस्य तस्य भार्या बसूनामष्टमस्य च ।
विश्वकर्मा सुतस्तस्यशिल्पकर्ता प्रजापतिः ।।
अर्थात् महर्षि अङ्गिराका ज्येष्ठ पुत्र बृहस्पतिको बहिनी भुवना जो ब्रह्मविद्याकी ज्ञाता थिइन्, अष्टम् वसु महर्षि प्रभासको पत्नी बनिन् र भुवनादेवीबाट सम्पूर्ण शिल्प विद्याका ज्ञाता प्रजापति विश्वकर्माको जन्म भयो ।
विश्वकर्मा स्वयंमा एक भगवान् हुन् कि प्रजापतिको जस्तो उपाधि भन्ने विचार पनि गरिन्छ । विश्वकर्माको गुण र धर्म धारण गर्ने श्रेष्ठ पुरुष युगान्तकारी विश्वकर्माको उपाधिबाट अलङ्कृत हुने गरेको धारणा पनि पाइन्छ ।
विश्वकर्मा पूजा सरकारी वा गैरसरकारी इन्जिनियरिङ संस्थान, प्रतिष्ठानहरूमा बडो हर्षोल्लाषबाट सम्पन्न गरिन्छ । यातायात कलकारखाना, कालिगड पसल आदि यस दिन बन्द रहन्छन् । भगवान् विश्वकर्मालाई शिल्पशास्त्रका आराध्य मानेर कालिगड, मिस्त्रीहरूले पूजा गर्छन्
विश्वकर्मा उत्पत्ति वा अवतारका कथा पनि पाइन्छन् । स्कन्द पुराणको काशी खण्डमा महादेवले पार्वतीलाई भनेका छन्— हे पार्वती ! म पाप नाशक कथा भन्छु । प्रत्यक्ष आदि ब्रह्मा विश्वकर्मा त्वष्टा प्रजापतिका पुत्र पहिला उत्पन्न भए र उनी सबै काममा निपुण थिए ।
स्कन्द पुराण प्रभास खण्ड सोमनाथ महात्म्य सोम पुत्र संवादमा विश्वकर्माको दोस्रो अवतारको वर्णन यस प्रकार देखिन्छ— एक समय कैलाश पर्वतमा शिवजी, पार्वती, स्कन्द, गणपति आदि संवादमा संलग्न थिए । स्कन्दले गणपतिको रत्नजडित दाँत र पार्वतीको जेवर देखेर प्रश्न गरे— हे पार्वतीनाथ ! तपाईं यो बताउने कृपा गर्नुहोस्, यी हीरा–रत्नजडित चम्किला आभूषण कसले निर्मित गरेका हुन् ?
भोलेनाथ शंकरले भने— शिल्पीहरूका अधिपति श्री विश्वकर्माले निर्माण गरेका हुन् । शिल्पका प्रवर्तक विश्वकर्मा पाँच मुखबाट पाँच जटाधरी पुत्र उत्पन्न भए, जसको नाम मनु, मय, शिल्प, त्वष्टा, दैवेज्ञ हुन् । यी पाँचैपुत्र ब्रह्माको उपासनामा सदा लागिरहन्छन् ।
शिल्पशास्त्रका प्रणेता भगवान् विश्वकर्मा जो ऋषि रूपमै सबै ज्ञानका भण्डार हुन् । शिल्पाचार्य तथा शिल्पी प्रजापतिको रूपमा विभूषित देव विश्वकर्माले मानव समाजलाई लाभान्वित तुल्याउन पाँच प्रमुख शिल्पाचार्य उत्पन्न गरे— मनु, मय, त्वष्टा, शिल्पी र दैवज्ञ । यी सबै ऋषि आ–आफ्नो विधामा पारङ्गत थिए ।
स्कन्दपुराण नागर खण्डमा भगवान् विश्वकर्माका उत्तराधिकारीहरूको चर्चा गरिएको छ । ब्रह्म स्वरूप विराट श्री विश्वकर्मा पञ्चमुख हुन् । उनका पाँच मुख छन्, जो पूर्व, पश्चिम, उत्तर, दक्षिण र ऋषिहरूको मन्त्रद्वारा उत्पन्न गरिएका हुन् । उनको नाम पनि मनु, मय, त्वष्टा, शिल्पी र देवज्ञ नै हो ।
विवाहादिषु यज्ञेषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम् ।।
अर्थात् विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्ने श्रुतिको वचन छ ।
नेपालमा लोहार, कामी, विश्वकर्मा, सुनार आदि थर भएका समुदाय छन् । उनीहरूले लोहा (फलाम) का औजार, कल, पुर्जा बनाउने पेसा अपनाउँथे । उनीहरू सुनचाँदीको व्यवसाय र गरगहना बनाउने कालिगडको काममा पनि संलग्न छन् । वेद, भागवत गीता, पुराण आदि विश्वकर्मा समुदायले नै लिपिबद्ध गरेको मानिन्छ । किनकि त्यतिबेला इतिहास पुराण तामाको पातामा अंकित गर्ने गरिन्थ्यो ।
उनीहरूले शिल्प विज्ञानका विधाता विश्वकर्मालाई आफ्नो आराध्य मान्छन् । नेपालमा यस समुदायप्रति जातीय भेदभाव गरिएको छ । यस जातिलाई दलित वर्गमा राखिएको छ भने सामाजिक आर्थिक विकासमा पछाडि पारिएको छ ।
विश्वको सबैभन्दा पहिलो तकनिकी ग्रन्थ विश्वकर्मीय ग्रन्थ हो । विश्वकर्मीय ग्रन्थ धेरै प्राचीन मानिएको छ । यसमा मानव र देववास्तु विद्याको गणित धेरै सूत्रहरूका साथ बताइएको छ, यी सब प्रामाणिक र प्रासंगिक छन् ।
विश्वकर्मा पूजा कालिगडहरू, वास्तुकारहरू, इन्जिनियरहरू र मेकानिक्सहरूद्वारा नेपाल–भारतभर मनाइन्छ । भगवान् विश्वकर्मालाई सृष्टि, वास्तुकला र यान्त्रिक कार्यको देवताको रूपमा पूजा गरिन्छ । यस दिन भक्तहरूले आफ्नो सीपका लागि देवतालाई कृतज्ञता व्यक्त गर्दै आ–आफ्नो क्षेत्रमा उन्नति र समृद्धिको कामना गर्छन् । आफ्नो दैनिक कार्यमा औजार र मेसिनरीमा भर परेका मजदुरहरूले यो पूजाको विशेष महत्त्व छ । किनकि यी उपकरणको पूजा गर्नाले सफलता मिल्छ र तिनीहरूको सुचारु कार्य सुनिश्चित हुन्छ भन्ने विश्वास गरिन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)