बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
उडान योजना

चार वर्षमा १५ विमान थपेर सिड्नीलगायत सहरमा उडान गर्ने निगमको योजना

मङ्गलबार, ०१ असोज २०८१, ११ : ३०
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौँ । नेपाल वायु सेवा निगमले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन विभिन्न योजना अघि सारेको छ । निगमले चार वर्षमा १५ वटा विमान पुर्याउने लक्ष्यसहितको योजना तयार पारेको हो । 

एयरलाइन्सले आन्तरिकतर्फ ९ र अन्तर्राष्ट्रिय उडानमा ६ सहित १५ विमान थपेर प्रतिस्पर्धी सेवा दिने योजना बनाएको छ । एयरलाइन्सले पाँच थान (स्लट) साना, चार थान ट्रंक रुटका लागि, चार थान न्यारोबडी र दुई थान वाइडबडी विमान खरिद गर्ने योजना ल्याएको हो । 

निगमसँग अहिले अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार र आन्तरिकका लागि एक मात्रै जहाज उडानयोग्य छ । अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने एउटा जहाज भने सि–चेकका लागि इटलीमा छ । निगमले पहिलो चरणमा तीन वटा साना विमानस्थलमा उड्न सक्ने जहाज खरिदको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बनाएको योजनामा साना विमान खरिद गरेर पहाडी र हिमाली क्षेत्रमा संख्या बढाउने र नियमित उडान गर्ने उल्लेख छ । ट्रंक रुट (व्यावसायिक रुपमा फाइदा हुने रुट) का लागि ठुला विमान खरिद गरेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने निगमको योजना छ । काठमाडौँबाट नेपालगञ्ज, धनगढी, पोखरा, भैरहवा, विराटनगरजस्ता व्यस्त विमानस्थलमा उडान गर्ने र एयरलाइन्सलाई नाफामा लग्ने निगमको योजना छ । 

यसका साथै अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी विमान लिजमा लिनको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी प्रस्ताव प्राप्त भएको पनि निगमको भनाइ छ । निगमको योजनामा क्षेत्रीय विमानस्थलहरूमा उडानका लागि तीन वटा विमान लिजमा लिने कार्यका लागि अध्ययन गर्न उपसमिति गठन भई काम भइरहेको उल्लेख छ । 

सिड्ने उड्ने योजना 

निगमले सिड्नी विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने एजेन्ट छनोट गरिसकेको, स्लट प्राप्त भइसकेको, एयरक्राफ्ट फ्युलिङको लागि सप्लाएर छनोट भइसकेको योजना प्रतिवेदनमा उल्लेख गरेको छ । 

योजनामा अस्ट्रेलियाको सिड्नीमा काठमाडौँबाट सिधा उडानलाई प्राथमिकता दिइएको छ । त्यसका लागि उडान अनुमति (एओसी) प्राप्त गर्न नागरिक उड्डयन अष्ट्रेलियामा कागजात पेस भएको र यसको मूल्याङ्कन प्रक्रिया लगभग सकिएको निगमले जनाएको छ । 

निगमले सिड्नी विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने एजेन्ट छनोट गरिसकेको, स्लट प्राप्त भइसकेको, एयरक्राफ्ट फ्युलिङको लागि सप्लाएर छनोट भइसकेको योजना प्रतिवेदनमा उल्लेख गरेको छ । 

अस्ट्रेलियाको नागरिक उड्डयनले थप छलफलका लागि बोलाएको र छिट्टै हुने उक्त छलफलले काठमाडौँ–सिड्नी सिधा उडान हुने निगमले विश्वास लिएको छ । 

सहुलियतपूर्ण ऋणको माग 

निगमले उच्च ब्याजदरको ऋण उपभोग गर्दा व्यावसायिक नाफामा प्रतिकूल असर परेको जनाएको छ । यसको व्यवस्थापनका लागि न्यून ब्याजदरमा ऋणलाई स्वाप गर्दा निगमको ब्याज दायित्व न्यून भई समग्र दायित्व कमी आउने निगमको बुझाइ छ । यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने निगमको भनाइ छ । 

ह्याङ्गगर निर्माण 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक ह्याङ्गगर निर्माण गर्ने योजना बनाएको छ । यसको लागि डीपीआरको प्रतिवेदनसमेत प्राप्त भइसकेको निगमले जनाएको छ । 

हालको ह्याङ्गर पुरानो र जीर्ण भएको, न्यारोबडी र वाइडबडीका लागि ह्याङ्गर साँघुरो भएका कारण विभिन्न समस्या उत्पन्न भएको निगमको योजनामा उल्लेख छ । नयाँ ह्याङ्गगर बनाएपछि नेपाल एयरलाइन्सका साथै अन्य कम्पनीका विमानलाई पनि सेवा दिन सकिने निगमले जनाएको छ । आइकाओ, ईयू मापदण्डका सामग्री सहितको ह्याङ्गगर आवश्यक रहेको निगमको भनाइ छ । 

कोड सियरिङको विस्तार 

विभिन्न देशका कम्पनीहरूसँगको एसपीए अर्थात् टाईअप फेयरको सहकार्यबाट निगमले अन्तर महादेशीय टिकट बिक्री गरिरहेको छ । निगमले यात्रु तथा कार्गो गरेर ४७ वटा वायुसेवा कम्पनीसँग सहकार्य गरिरहेको छ । यसलाई थप विस्तार गर्ने र केही वायु सेवासँग सम्झौताको अन्तिम चरणमा छलफल भइरहेको निगमको भनाइ छ । कोड सियरिङका लागि एयर इन्डिया, श्रीलङ्का र ट्रकिस एयरलाइन्सका प्रतिनिधिसँग निगम व्यवस्थापनको प्रारम्भिक चरणको बैठकसमेत सम्पन्न भएको निगमले जनाएको छ । यसो गर्दा यात्रुहरूलाई थप सुविधा प्राप्त हुने र व्यवसाय विस्तार हुने निगमले जनाएको छ । 

पुराना जहाजको व्यवस्थापन 

चिनियाँ जहाज एमएसएन ०२६ ले २०७१ कात्तिक १९ देखि पुस ११ सम्म मात्रै उडान भरेको थियो । निगमले पटकपटक लिज र बिक्रीका लागि आह्वान गरे पनि यी जहाज हालसम्म ग्राउण्डेड छन् ।

२०७१ वैशाख १४ गते  एमए ६० (एमएसएन १००७) चिनियाँ जहाज पहिलोपटक काठमाडौँ अवतरण गरेको थियो । उक्त जहाजले तीन महिना अर्थात् असार ११ गतेसम्म मात्रै उडान गरेको देखिन्छ । 

अर्को चिनियाँ जहाज एमएसएन ०२६ ले २०७१ कात्तिक १९ देखि पुस ११ सम्म मात्रै उडान भरेको थियो । निगमले पटकपटक लिज र बिक्रीका लागि आह्वान गरे पनि यी जहाज हालसम्म ग्राउण्डेड छन् । यस्ता जहाजहरूको व्यवस्थापन गर्न आवश्यक रहेको पनि निगमले जनाएको छ । पुराना जहाज व्यवस्थापन गर्ने र नयाँ खरिद गर्दा प्रतिस्पर्धी सेवा दिन सकिने उसको बुझाइ छ । 

देशभरको जग्गा उपभोग

निगमको लगानीमा बनेका थुप्रै विमानस्थल उपयोगविहीन छन् । बन्द रहेका विमानस्थल र त्यस आसपास रहेका भवन, जग्गाको उपयोग गर्ने निगमले जनाएको छ । 

काठमाडौँको सिनामंगलमा भव्य केन्द्रीय कार्यालय भवन बनाउने तथा न्यूरोडमा बहुआयमिक भवन बनाएर आम्दानी गर्ने निगमको योजनामा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप