बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बजेट किताब जलाउँछु भन्ने एमाले नै सरकारमा, गण्डकीको बजेट कार्यान्वयन के होला ?

मङ्गलबार, ०१ असोज २०८१, ११ : ३२
मङ्गलबार, ०१ असोज २०८१

पोखरा । असारतिरको कुरा हो– प्रतिपक्षमा रहँदा एमाले सांसद कृष्ण पाठकले गण्डकी सरकारको बजेट पुस्तिका जलाउने चेतावनी संसदमै दिए । पाठक केन्द्रीय सत्ता समीकरणको फेरबदलपछि अहिले गण्डकीको स्वास्थ्यमन्त्री नियुक्त भएका छन् । उतिबेला बजेट एकपाखे बनाइएको र अपारदर्शी हिसाबले निर्माण गरिएको आरोप उनले लगाएका थिए ।

‘यो बजेट किताब सुधारिएन भने मन्त्रालयगत छलफलमा विकास पुस्तिका च्यात्नेमात्रै होइन, धुजाधुजा पार्ने हो । धुजाधुजामात्रै होइन, जलाउने हो,’ उनले भनेका थिए । पाठकमात्रै होइन, तत्कालीन समयमा प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अधिकांश सांसदले बजेटमाथि कडा आलोचना गरे ।

पूर्वमन्त्री समेत रहेका बेदबहादुर गुरुङले बजेटमा आम्दानी बढाउने खाका नआएको बताएका थिए । ‘इच्छाशक्ति र पहलकदमी गर्यौँ भने र चुहावट रोक्न सकियो भने सजिलै आन्तरिक आम्दानी १३ अर्ब हुँदै २० अर्ब पुर्याउन सकिन्छ,’ उनी भन्थे, ‘तर आम्दानी बढाउन चासो नदेखाउनु दुःखद् कुरा हो ।’

बजेट निर्माणका बेला भर्खरै मन्त्रीबाट बिदा भएकी सीता सुन्दासलाई पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले बनाएको बजेट चित्त बुझेको थिएन । उनले त झन् संविधानका मुलभूत विशेषतालाई नै बजेटले बिर्सिएको आरोप लगाएकी थिइन् ।

‘संविधानले नै व्यवस्था गरेको विषयलाई सरकारले किन राख्न सकिरहेको छैन ?,’ उनको प्रश्न थियो । सरसर्ती हेर्दा अहिले कार्यान्वयनमा रहेको बजेटप्रति एमाले प्रतिपक्षमा हुँदा पूरै असहमत थियो । प्रतिपक्षमा रहँदा चित्त नबुझेको बजेटमा भर्खरै सरकारमा छिरेको एमालेले अब संशोधन गर्ला ? स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ ।

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने अहिलेको बजेट र नीति तथा कार्यक्रममा कुनै संशोधन नहुने बताउँछन् । ‘न्यूनतम साझा कार्यक्रम आउँछ । बजेट कार्यान्वयन र स्रोत बृद्धि गर्ने विषयमा हाम्रो जोड छ,’ उनले भने, ‘तर असारमा ल्याएको बजेट नै संशोधन भन्ने कुरा सम्भव छैन । त्यो गर्दैनौँ पनि ।’

एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली बजेट संशोधन गर्ने पक्षमा आफूहरू नरहेको बताउँछन् । ‘मुलभूत रुपमा पाण्डे नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई नै आफ्नो बनाउछौँ । संशोधन गर्दैनौँ । किनकि यो राष्ट्रिय सहमतिको सरकार हो,’ उनले भने, ‘तर के हो भने मुख्य दलहरू मिलिसकेपछि साझा गाइडलाइन जस्तोचाहिँ बनाउनैपर्छ । जनभावना अनुसार सरकारलाई प्रभावकारी कसरी बनाउने, राजस्व बढाउने र बजेट कार्यान्वयनको गति बढाउने हिसाबले अगाडि बढ्छौँ ।’

नेपालीले पुँजीगत खर्च बढाउने, आन्तरिक आम्दानी थप्ने राजस्व बढाउने विषयमा बढी केन्द्रित हुने प्रस्ट पारे । ‘बाहिर रहँदाखेरी आम धारणाका केही कुरा राखेकै हो । पहुँचका भरमा बजेट आयो कि भन्ने कुरा उठाएका थियौँ । अब हामीले उठाएका मुद्दा कति आवश्यक हो र कुन योजना आवश्यक हो भनेर अध्ययन गर्छौं,’ उनले भने, ‘बजेटको स्रोत भयो भने त्यसलाई सम्बोधन गरेर लैजान्छौँ ।’

कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने अहिलेको बजेट र नीति तथा कार्यक्रममा कुनै संशोधन नहुने बताउँछन् । ‘न्यूनतम साझा कार्यक्रम आउँछ । बजेट कार्यान्वयन र स्रोत बृद्धि गर्ने विषयमा हाम्रो जोड छ,’ उनले भने, ‘तर असारमा ल्याएको बजेट नै संशोधन भन्ने कुरा सम्भव छैन । त्यो गर्दैनौँ पनि ।’

बजेटको विषयमा गम्भीर हिसाबले बैठकहरूमा छलफल समेत नभएको न्यौपानेको भनाइ छ । ‘कुनैकुनै ठाउँमा बजेट धेरै थोरै भयो भन्ने कुरा आएको हो । अलिअलि तलमाथि स्वाभाविक हो,’ उनले भने, ‘बजेट पुनर्लेखन अब सम्भव छैन ।’

हाल कार्यान्वयनमा रहेको बजेट कांग्रेस, राप्रपा, नेसपा र स्वतन्त्र सांसद समेतको उपस्थितिमा बनेको हो । एमाले र माओवादी बजेट निर्माण प्रक्रियाबाट बाहिर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप