‘१२ खरी कथा प्रतियोगिता २०८१’ मा घोषणा
काठमाडौँ । कथा लेखनको सम्बद्र्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच प्रतियोगिता घोषणा गरिएको हो ।
कार्यक्रममा प्रतियोगिताको उद्देश्य आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने रहेको बताइयो । यस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्ने छ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।
‘डिशहोम बाह्रखरी कथा–२०८१’ को निर्णायक समूहमा सशक्त समालोचक तथा लेखक प्रा.डा. ज्ञानू पाण्डे रहेका छन् भने सदस्यहरूमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार धीरेन्द्र प्रेमर्षि छन् ।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ । ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संगृहीत पुस्तक प्रकाशन गरिनेछ । संग्र्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो ।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबिच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८१ को लोकार्पण पनि गरिनेछ । डिशहोम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो । प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो । तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो । चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो । पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रुख’ प्रथम, काठमाडौँका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथा संगृहीत पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ । बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिशहोम डिश मिडिया नेटवर्कले गर्दै आएको छ । उत्कृष्ट कथा–२०८१ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइन प्रिन्ट रहेको छ भने प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड तथा कृषि विकास बैंक लिमिटेड रहेका छन् । यस वर्ष एयरलाइन्स पार्टनर यती एयरलाइन्स रहेको छ ।
भाग लिने कथाका लागि यस्तो छ नियम
कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ । अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन पाइने छैन ।
कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन । छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ । कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ । प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ
-
मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?
-
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
-
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै