अलबिदा कमरेड यचुरी !
गत सेप्टेम्बर १२ मा भारतीय कम्युनिस्ट पार्टीका महासचिव कमरेड सीताराम यचुरीको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण निधन भयो । समग्र दक्षिण एसियाका कम्युनिस्ट तथा प्रगतिशील रूपान्तरण आन्दोलनमा लागेका मानिसका लागि यो असामयिक निधन अनपेक्षित झट्का बन्न पुग्यो ।
कम्युनिस्ट आन्दोलनमा नयाँ विचारको बहस र सक्रिय प्रतिरोध आन्दोलनको पहल कमजोर हुँदै गएको वर्तमान समयमा सादगी, प्रतिबद्ध र कुशल नेतृत्व क्षमता भएका नेता गुमाउनु ठुलो क्षति हो । अझ नेपालमा सक्रिय राजतन्त्र र जनयुद्धबिच घर्षण भइरहँदा उनी सधैँ नेपालको प्रगति उन्मुख निकासका लागि सक्रिय रहनुभयो । त्यसैले पनि नेपाली जनताले उहाँलाई सम्झिरहन्छन् ।
नेपालको संविधान ०७२ जारी हुँदै गर्दा भारतीय पक्षले नाकाबन्दी लगाइदियो । यचुरीले नाकाबन्दीविरुद्ध नयाँ दिल्लीमै नेपालको संविधानको पक्षमा बोले । यहाँ स्मरण योग्य कुरा के छ भने, भारतीय सत्ताधारीले लगाएको नाकाबन्दीविरुद्ध बोल्नेमा उनी थोरै भारतीय नेतामध्ये पर्थे । नेपाली जनताको आन्दोलन, स्वाधीनतालाई सम्मान गर्ने नेताको निधनले नेपाली कम्युनिस्ट आन्दोलन पनि शोकमा छ ।
संसारभर कम्युनिस्ट पार्टीहरू दुर्लभ हुँदै गएका छन् । नेपालका कम्युनिस्टमाथि जनताले विविध प्रश्न उठाउन थालेका छन् । कम्युनिस्ट मूल्य–मान्यता आयरल्यान्डको सर्पजस्तै हुँदै गएको समयमा दक्षिण एसियामा आफ्नो सादगी, दृढप्रतिज्ञा र जुझारु छवि बोकेका शालीन नेताको निधनले सबैलाई स्तब्ध पार्नु स्वाभाविकै हो । उनको निधनले यस क्षेत्रको कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्याउनेमा कुनै शंका छैन ।
दक्षिण एसिया इन्दिरा गान्धीको आक्रामक रबैयाबाट त्रसित थियो । यसविरुद्ध उभिने निकै न्यून भारतीय राजनीतिज्ञमा सीताराम यचुरी पर्थे । इन्दिराविरुद्ध उभिएकै कारण उनी जेल जानुपर्यो ।
सन् १९५२ अगस्ट १२मा चेन्नाईमा जमिएका यचुरी मेधावी विद्यार्थी थिए । भारतमा असाध्यै महत्त्वका साथ हेरिने सीबीएसई परीक्षामा उनी भारतभरिकै प्रथम भए । त्यसपछि उनी अर्थशास्त्रको अध्ययन गर्न दिल्ली विश्वविद्यालय अन्तर्गतको सेन्ट स्टिफेन कलेज पुगे । अर्थशास्त्रमा स्नातक उत्तीर्ण भएपछि थप अध्ययनका लागि उनले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) तर्फ पाइला चाले ।
जेएनयू उनको राजनीतिक जीवनकै सबैभन्दा आरम्भिक महत्त्वपूर्ण भट्टी हो । जेएनयूको वामपन्थी राजनीतिक वातावरणमा हुर्किएकै कारण उनले तानाशाहको छवि बनाएकी इन्दिरा गान्धीसँग जुध्ने साहस गरे । त्यो समय भारतमा इन्दिरा गान्धीको जगजगी थियो । पाकिस्तानबाट बंगलादेश विभाजन, सिक्किम भारतमा विलय, भारतभर आपतकाल जस्ता घटनाहरू राजनीतिको रंगमञ्चमा मञ्चन भइरहेका थिए ।
नेपालमा राजतन्त्रसँग घाँटी जोडिएको भन्दै विश्वेश्वरप्रसाद कोइराला नेपाल फर्कंदै थिए । दक्षिण एसिया इन्दिरा गान्धीको आक्रामक रबैयाबाट त्रसित थियो । यसविरुद्ध उभिने निकै न्यून भारतीय राजनीतिज्ञमा सीताराम यचुरी पर्थे । इन्दिराविरुद्ध उभिएकै कारण उनी जेल जानुपर्यो । राजनीतिमा सशक्त हुँदै गएका कारण जेएनयू छात्र संघको सभापति हुँदै उनी ‘स्टुडेन्ट्स फेडेरेसन अफ इन्डिया’को अखिल भारतीय अध्यक्ष बने ।
संकटकालपछिको आमनिर्वाचनमा पराजयका बाबजुद जेएनयूको कुलपतिमा कायम रहेकी इन्दिरा गान्धीको घरमै गएर यचुरी नेतृत्वको टोलीले पद छाड्न लिखित माग गरेको थियो, यस घटनाले उनलाई भारतमा मात्रै नभएर दक्षिण एसियामै प्रख्यात बनाइदियो । आज पनि त्यो घटनालाई विद्यार्थी राजनीतिको उल्लेख्य घटनाका रूपमा स्मरण गरिन्छ ।
विश्वको कम्युनिस्ट आन्दोलनमा सोभियत र चीन धुरीबिच भएको विवादले संसारभरको आन्दोलनमा दरार आउन थाल्यो । भारतीय कम्युनिस्ट आन्दोलन पनि यसबाट अछुतो थिएन । सन् १९६४ मा विविध विषयमा भएको विवादसँगै भाकपामा पनि विवाद आइसकेको थियो । ज्योति बसु, हरकिसन सुरजित सिंह, ई.एम.एस. नुम्बुदिरिपाद, एके गोविन्द पिल्लाई जस्ता नेताले भाकपा (मार्क्सवादी) निर्माण गरे, जसले संवैधानिक बाटोबाट निर्वाचन हुँदै सत्तामा पुग्ने तय गथ्र्यो । अर्कोतर्फ कानु सन्याल, चारु मजुमदारहरूले प्रत्यक्ष वर्ग संघर्षको बाटो समात्दै नक्सलवाडी भनिएको माओवादी आन्दोलनको धारा समाते ।
निर्वाचन र संविधानको उपयोगको बाटो हुँदै भारतीय माक्र्सवादी कम्युनिस्टहरू बंगाल, केरला र त्रिपुरामा सरकार बनाउन सफल भए । बंगालमा भूमिसुधारका कार्यक्रम लागु भयो । केरेलामा भएको व्यवस्थालाई आज विश्वभर ‘केरला मोडल’ भनेर चर्चा गरिन्छ । त्यहाँ शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा भएका प्रबन्ध अन्यत्र पनि सिक्न लायक नै मानिन्छन् ।
सोभियत संघको विघटन र पूर्वी युरोपमा भएका ‘विन्ड अफ चेन्ज’ भनिएका तख्तापलटपछि विश्वभर कम्युनिस्ट आन्दोलनले असामान्य झट्काको सामना गर्नुपर्ने अवस्था आयो । खास गरेर तेस्रो विश्वमा भएका रष्ट्रिय स्वतन्त्रता र समाजवादका आन्दोलनहरू वैचारिक र कार्यदिशा दुवै सन्दर्भमा अलमलमा पर्न थाले । धमाधम कम्युनिस्ट पार्टीहरू विघटन, विलय र अन्यमा रूपान्तर हुन थाले ।
संसारकै धेरै जनसंख्यामध्येको एक भारतमा भएको कम्युनिस्ट आन्दोलनले विविध धारामा आफूलाई सक्रिय राखेकै थियो । चारु मजुमदारको नेतृत्वमा एउटा समूह दीर्घकालीन सशस्त्र संघर्षमै थियो । ज्योति वसु, हरकिसन सुरजित लगायतको अगुवाइमा भएको भाकपा (माक्र्सवादी) बंगाल, केरेला र त्रिपुरामा प्रगतिशील सुधारका कार्यक्रम मार्फत सरकारको नेतृत्व गरिरहेकै थियो । यस्तोमा यचुरी पनि एउटा धाराको नेतृत्व गर्दै अघि बढ्दै थिए ।
विश्व र भारतको रानजीतिक रंगमञ्चमा उथलपुथलका छालहरू देखापरिरहेकै समयमा सन् १९९२ मा यचुरी भाकपा (माक्र्सवादी) को पोलिटब्युरोमा चुनिए । आफ्ना सहकर्मी र रचनात्मक प्रतिस्पर्धी प्रकाश करात र उनी भारतको कम्युनिस्ट राजनीतिबाट राष्ट्रिय राजनीतिमा देखापर्न थालिसकेका थिए । सन् ९० को दशकको मध्यमा भएका केन्द्रीय सरकार निर्माण र विघटनमा यचुरी महत्त्वपूर्ण नेताका रूपमा सतहमा देखापर्न थालिसकेका थिए ।
सन् १९९६ मा अटलविहारी बाजपेयीको सरकार ढलेपछि विभिन्न राजनीतिक घटकले ज्योति वसुलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे । तर, संसदमा ३२ सिट मात्र भएको पार्टीले सरकारको नेतृत्व गर्दा आफ्ना नीति लागु गराउन नसकिने तथा आन्दोलन बदनाम हुने तर्क गर्दै यचुरी–करात समूहले सरकारमा जानु नहुने लाइनलाई केन्द्रीय समितिमा मतदानबाटै पास गराए । कम्युनिस्ट आचरणका लागि यो घटनालाई आजपर्यन्त स्मरण गरिन्छ ।
भारतको माथिल्लो सदनमा सन् २००५ देखि १२ वर्षसम्म सदस्य रहेका उनी न्यायपूर्ण र प्रगतिशील समाजका पक्षमा गम्भीरताका साथ आफ्नो विचार राख्ने व्यक्ति थिए । चाहे त्यो प्यालेस्टाइनको मामिलामा होस् वा देशभित्र अल्पसंख्यकमाथि भइरहेका हमलाको विषयलाई लिएर होस् । हामीले उनलाई जहिल्यै न्याय र वामपन्थी मूल्य–मान्यताको पक्षमै उभिएको पायौँ ।
पार्टी सञ्चालन तथा आफ्नो व्यक्तिगत जीवनमा सादगीको अनुपम प्रयोग गरेका उनी विचारका क्षेत्रमा पनि गम्भीर र सूक्ष्म ढंगले काम गर्ने नेताहरूमा पर्थे । उनका आठवटा भन्दा बढी पुस्तक प्रकाशित छन् ।
समग्रमा भन्दा संसारभर कम्युनिस्ट पार्टी र उसले अपनाउने आचरण हराउँदै गएको तर समाजवादी एजेन्डाले पुनः उपस्थिति देखाउन थालेको समयमा भारतमा यचुरीको अन्त्य भारतीय समाजका लागि मात्रै नभई समग्र दक्षिण एसियाकै आन्दोलनका लागि चिन्ता र शोकको विषय हो ।
सात महिनाअघि माघमा उपचारका क्रममा म दिल्लीको मेदान्त अस्पताल पुगेको थिएँ । मेदान्तका वरिष्ट डाक्टर वानी अकबरसँग मेरो अपोइन्मेन्ट थियो । उपचारका क्रममा म नेपालको माओवादी पार्टीमा आबद्ध छु भन्ने थाहा पाउना साथ डाक्टर निकै खुसी भए । रुसमा अध्ययन गरेर फर्केका उनी समाजवादी विचारका डाक्टर रहेछन् ।
लामो कुराकानीका क्रममा उनले एकाएक तपाईंको कमरेड यचुरीसँग भेटघाट छ वा छैन भनी सोधे । र, कमरेड यचुरीलाई फोन गरेर कुरा गर्न थाले । त्यसपछि उनले ल कुरा गर्नुस् भनेर फोन मतर्फ बढाए । हामीले सामान्य औपचारिक गर्यौँ । मैले यचुरीलाई तपाईंको वैचारिक स्पष्टता र दृढताको प्रसशंक हुँ भनी बताएँ । त्यही साँझ हामी भेट्ने तय भयो । तर, दुःखद भन्नुपर्छ भेट हुन सकेन । र, त्यही फोन संवाद नै हाम्रो अन्तिम संवाद बन्न पुग्यो ।
कम्युनिस्ट राजनीतिबाट ओतप्रोत नेपाली जनताका तर्फबाट कमरेड यचुरीलाई भावपूर्ण श्रद्धाञ्जली !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनिता कोइरालाको ‘उज्यालो औँसी’माथि चकटी बहस
-
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
-
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
-
विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
-
बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे जनकपुर बोल्ट्सलाई सम्मान
-
अमेरिकामा टर्याे सरकारी कामकाज ठप्प हुने सम्भावना