बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

सोमबार, ३१ भदौ २०८१, १४ : १२
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सञ्चालित सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही शिक्षालयमा सोमबार एक कार्यक्रमका बिच उक्त तालिमको समापन गरेका हुन् ।

महानिरीक्षक अर्यालले तालिमका सर्वप्रथम र कवाजमा उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रविन सार्कीलाई खुकुरी प्रदान तथा शारीरिक सहिष्णुतातर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक भीष्म परियार र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव पटेललाई पुरस्कार प्रदान गरे ।

उनले राष्ट्रको सेवा, सुरक्षार्थ दृढ सङ्कल्पित भई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै आफ्ना सन्ततिहरूलाई सशस्त्र प्रहरी बल नेपालको सदस्यका रूपमा संगठनमा आबद्ध गराई राष्ट्र र जनताको सेवामा समर्पित रहन उत्प्रेरणा प्रदान गर्ने अभिभावकहरूमा हार्दिक कृतज्ञता व्यक्त गरे ।

_DSC1048 (2) (Large)

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गरीले धन्यवादको क्रममा दीक्षित भएका अधिकृतहरूले कार्यक्षेत्रमा संगठनले अपेक्षा गरे अनुरूप उत्कृष्ट तवरमा कार्य सम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे ।

गत साल भदौ १२ गतेबाट सञ्चालन भएको उक्त तालिम ६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । कार्यक्रममा नेपाली सेना पश्चिम पृतनाका पृतनापति, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयका समादेशक, स्थानीय जनप्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरू एवं दीक्षित अधिकृतहरूका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप