ब्याजदर घट्ने क्रम असोजमा पनि रोकिएन, ‘ट्रयाप’ मा बैंकहरू
काठमाडौँ । घट्दो क्रममा रहेको बैंकिङ ब्याजदरले असोज महिनामा समेत निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि प्रकाशन गरेको ब्याजदर तालिका अनुसार अधिकांश बैंकहरूले आगामी महिनाको लागि ब्याजदर घटाएका हुन् ।
तथ्याङ्क अनुसार ९ वटा बैंकहरूको ब्याजदर घट्दा चार बैंकले सामान्य वृद्धिसहित ब्याजदर समायोजन गरेका छन् । बाँकी बैंकहरूको ब्याजदर स्थिर रहेको छ ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदर तालिका अनुसार साधारण बचत खाता र एक वर्षे व्यक्तिगत तथा संस्थागत मुद्दती खाताका लागि तोकिएको ब्याजदरका आधारमा यस्तो देखिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरूले विशेष खाताहरू सिर्जना गरेर केही प्रिमियम दरसहित ब्याजदर तालिका प्रकाशन गर्ने गरेका छन् ।
यस्तो छ बैंकहरूको नयाँ ब्याजदरको अवस्था
कुमारी बैंकः कुमारी बैंकले बचत खातामा ०.१० प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ०.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा १.७५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । असोज महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ ।
नबिल बैंक
नबिल बैंकले साधारण बचत खाता र एकवर्षे मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ । एक वर्षभन्दा बढी अवधिको लागि भने ब्याजदरमा सामान्य वृद्धि गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले सबै प्रकारका खाताहरूको ब्याज असोज महिनाका लागि यथावत राखेको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत राख्दा व्यक्तिगत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ र ०.५० प्रतिशत विन्दुले घटाएको छ । असोज महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर दिनेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले यो पटक ब्याजदरको मिश्रित समायोजन गरेको छ । बचत खाताको ब्याजदरलाई ०.२४ प्रतिशत विन्दुले घटाएर न्यूनतम ब्याजदरको नजिक ल्याएको उक्त बैंकले मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ६.०० प्रतिशत र ५.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
नेपाल एसबीआई बैंकले बचत खातामा ०.१८ प्रतिशत विन्दु तथा मुद्दती खातामा ०.२५ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत ब्याजदर तोकेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचत खाताको ब्याजदरलाई ३.०५ प्रतिशतमा यथावत राख्दा मुद्दती खाताका ब्याजदरहरूमा ०.३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत राख्दा व्यक्तिगत मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ । संस्थागत मुद्दतीमा भने १.५० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ५.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ । यस अनुसार बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत कायम गरिएको छ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई असोज महिनाका लागि यथावत राखेको छ । बैंकले असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ६.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राइम कमर्सियल बैंक
साधारण बचत खातामा ०.०३ प्रतिशत विन्दु तथा व्यक्तिगत मुद्दती खातामा ०.५० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । असोज महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.२५ प्रतिशत र ४.५० प्रतिशत ब्याज दिनेछ ।
एनएमबि बैंक
एनएमबि बैंकले बचत खाताको ब्याजदरलाई ३.०२ प्रतिशतमा यथावत राखेको छ । सबै प्रकारका मुद्दती १.०५ प्रतिशत विन्दुले घटाइएको छ । यस अनुसार असोजमा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले बचत खातामा ब्याजदर स्थिर राख्दा व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत बिन्दु र संस्थागत खातामा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.४१ प्रतिशत, ५.६० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.४१ प्रतिशत, ५.६० प्रतिशत र ४.२५प्रतिशत ब्याजदर कायम गरेको छ ।
सानिमा बैंक
सानिमा बैंकले बचत खातामा ०.१० प्रतिशत बिन्दु, व्यक्तिगत मुद्दती खातामा ०.३० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.६० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.७५ प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको हो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले सबै प्रकारका खाताको ब्याजदर असोज महिनामा लागि यथावत राखेको छ । अघिल्लो महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५ प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिनेगरी तालिका प्रकाशन गरेको थियो ।
नेपाल बैंक
नेपाल बैंकले अन्य प्रकारका खाताहरूको ब्याजदर स्थिर राख्दा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । बैंकले अब बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुन बैंकमा बढी पाइन्छ ब्याज ?
उल्लेखित ब्याजदर तालिका अनुसार अहिले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपका लागि बैंकहरूले ४.१५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यसरी सबैभन्दा धेरै ब्याज दिने सिटिजन्स् र माछापुच्छ«े बैंक छन् भने सबैभन्दा कम ब्याजदर एभरेष्ट बैंकको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकले तोकेको ५ प्रतिशत ब्याजदर नै अहिले सर्वाधिक देखिएको छ । यस्तो खातामा प्रभु बैंकले सबैभन्दा कम ३.१० प्रतिशत ब्याजदर तोकेको छ ।
बचत खातामा सर्वाधिक ब्याजदर एनआईसी एसिया बैंकको रहेको छ । उक्त बैंकले ३.४१ प्रतिशत ब्याजदर तोकेको छ । त्यसबाहेक अरु सबैजसो बैंकको ब्याजदर ३ प्रतिशतकै नजिकमा झरिसकेकको छ ।
नेपाल राष्ट्र बैंकले अहिले बैंकहरूलाई बचत खाताको ब्याजदर निक्षेप संकलन दरभन्दा झार्न नपाइने व्यवस्था गरेको छ । अहिले यो ३ प्रतिशत तोकिएको छ । त्यो फ्लोरमा रहेर बैंकहरूले ब्याजदर निर्धारण गर्दै आएका छन् ।
ब्याजदर ‘ट्र्याप’ मा बैंकहरू
राष्ट्र बैंकले अहिले निक्षेपमा ब्याजदरको न्यूनतम सीमा कायम गरिदिएको थिएन भने ब्याजदर विगतमा जस्तै एक/डेढ प्रतिशतको हाराहारीमा झर्ने अवस्था रहेको बैंकर्सहरूको दाबी छ । तर, बजारमा थप कर्जाको माग नै नभएको अवस्थामा निक्षेपलाई मात्रै ब्याज तिर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । यसले आफूहरूलाई ब्याजदर ‘ट्रयाप’को अवस्थामा पुर्याएको एकजना बैंकर बताउँछन् ।
तर, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भने जनताको पैसा सस्तोमा उठाएर राष्ट्र बैंकबाट ब्याज खाने प्रवृत्ति निरुत्साहित गर्न नियामकले लिएको नीति सही भएको बताउँछन् । थापा भन्छन्, ‘यद्यपि राष्ट्र बैंकको सुविधा प्राप्त गर्दिनँ भन्ने हो भने शून्य प्रतिशत ब्याजदर कायम गर्न पनि कसैले रोक्दैन । नत्र भने तोकिएको न्यूनतम ब्याज त दिनुपर्छ ।’
तर, कुनै समयमा निक्षेप खोसाखोस गर्ने बैंकहरू अहिले ३ प्रतिशतमा झर्ने अवस्था आउनु र त्यो ब्याजदर आउँदा पनि कर्जाको माग भएन भन्दै हिँड्नुपर्ने अवस्था आउनु बिडम्बना भएको थापा बताउँछन् । यो अवस्थाले अर्थतन्त्र अझै ठूलो मन्दीमा जाने हो कि भन्ने संकेत गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
-
एनआरएनका माग क्रमशः पुरा हुँदै जान्छन् : प्रधानमन्त्री
-
प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
-
पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार