‘आगामी विश्वकपमा पनि अर्जेन्टिना मेस्सीकै कप्तानीमा’

काठमाडौँ । आफ्नो समयका प्रभावशाली अर्जेन्टिनी फुटबलर हुवाँ रोमन रिक्वेल्मले सन् २०२६ को विश्वकपमा पनि लियोनल मेस्सीले नै अर्जेन्टिनी टोलीको कप्तानी गर्ने धारणा व्यक्त गरेका छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतार विश्वकपको उपाधि पनि जितेको थियो ।
पछिल्लो समय घाइते समस्याका कारण निरन्तर मैदानबाट बाहिर रहेपछि मेस्सीको अन्तर्राष्ट्रिय खेल जीवनको विषयमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ । केही फुटबल विश्लेषकले छिट्टै नै मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने आशङ्का समेत व्यक्त गरेका छन् ।
गत जुलाईमा कोपा–अमेरिका फुटबलको फाइनल खेल्ने क्रममा मेस्सी फेरि घाइते भएका थिए । यद्यपि, मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कोपा–अमेरिकाको उपाधि पनि चुमेको थियो । अर्जेन्टिनाले फाइनलमा कोलम्बियालाई हराएको थियो ।
फाइनलका क्रममा घाइते भएका मेस्सी त्यसपछि लामो समय मैदान बाहिर रहेका थिए । लामो समय आराम गरेपछि मेस्सी अहिले फेरि मैदानमा सक्रिय भएका छन् । उनले आफ्नो पुनरागमन खेलमै अमेरिकी क्लब इन्टर मियामीका लागि उत्कृष्ट प्रदर्शन गरे ।
करिब तीन महिनापछि मैदानमा फर्किएका मेस्सीले आइतबार सम्पन्न खेलमा पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ३–१ ले हराएको थियो । त्यही खेलपछि अर्जेन्टिनाका पूर्वमिडफिल्डर हुवाँ रोमन रिक्वेल्मले मेस्सीको खेलको प्रशंसा गरेका हुन् ।
‘लामो समय मैदान बाहिर रहे पनि मेस्सीले आफ्नो लय गुमाएका छैनन् । उनी झनै आक्रामक बनेर मैदानमा फर्किएका छन् । मेरो विचारमा सन् २०२६ को विश्वकपमा पनि उनले नै अर्जेन्टिनी टोलीको नेतृत्व गर्नेछन्,’ अर्जेन्टिनी फुटबल क्लब बोका जुनियर्सका अध्यक्षसमेत रहेका हुवाँ रोमन रिक्वेल्मले भनेका छन् ।
४६ वर्षीय हुवाँ रोमन रिक्वेल्म मेस्सीले तत्काल राष्ट्रिय टोलीबाट सन्न्यास लिने कुनै सम्भावना नरहेको दाबी पनि गरेका छन् । ‘लामो खेल जीवनमा खेलाडी घाइते हुनु सामान्य कुरा हो । तर, मेस्सी अझै लयमा छन् । उनी समकालीन विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले अझै मैदानमा थुप्रै जादु देखाउन बाँकी छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगको मुठभेडमा १६ जना संदिग्ध नक्सलवादी मारिए
-
पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन
-
पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध बनेपामा विरोध सभा
-
राजावादीको छाडातन्त्रलाई छुट दिन सकिँदैन : प्रचण्ड
-
तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध
-
यी ७ राष्ट्र छनोट भए, ५६ राष्ट्रको सम्भावना ५० प्रतिशत