मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

बागमतीमा १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमण

सोमबार, ३१ भदौ २०८१, ०८ : ३३
सोमबार, ३१ भदौ २०८१

मकवानपुर । बागमती प्रदेशमा करिब १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । प्रदेशका १३ जिल्लाका सामुदायिक, कबुलियती र धार्मिक गरी १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमण भएको हो ।

२०७४ बाट स्थानीय तहहरूले भवन निर्माण र खेलकुद मैदानसहित अन्य पूर्वाधारका संरचना निर्माणका क्रममा वन क्षेत्र अतिक्रमण गरिएको हो । प्रदेशको कुल क्षेत्रफलको ५३.७३ प्रतिशत वन क्षेत्र छ । बागमती प्रदेशमा ४ हजार ५३४ वटा सामुदायिक वन, ३ हजार ३ सय ३६ कबुलियती वन, ४९ वटा धार्मिक वन र ६७३ वटा निजी वन छन् ।

प्रदेशमा रहेका सोही वन क्षेत्रमा मानवीय क्रियाकलापका कारण अतिक्रमण भएको बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वन अतिक्रमणको तथ्याङ्क अनुसार प्रदेशको १३ जिल्लामध्ये सिन्धुलीमा सबैभन्दा बढी ६ हजार ४०४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।

यस्तै, मकवानपुरमा ३ हजार ५५६, चितवनमा १ हजार ६८८, धादिङमा २४६, रसुवामा ३६ र नुवाकोटमा ९३ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । काठमाडौँमा १३, ललितपुरमा ३०, काभ्रेमा २५८, सिन्धुपाल्चोकमा ७८.९०, रामेछापमा ४९५ र दोलखामा ४४.८५ हेक्टर वन क्षेत्र अतिक्रमण भएको मन्त्रालयले जनाएको छ ।

  • अतिक्रमण रोक्न वृक्षारोपण

प्रदेश सरकारले अतिक्रमित ४२ हेक्टर क्षेत्रफल वन क्षेत्र कायम गरिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा अतिक्रमित ४२ हेक्टर जमिनलाई वन क्षेत्र कायम गरिएको हो । दोलखामा १७.१० हेक्टर, चितवनमा ९ हेक्टर, काठमाडौँमा ६.७४ हेक्टर, ललितपुर र भक्तपुरको १–१ हेक्टर, मकवानपुरको ०.५१ हेक्टर अतिक्रमित जमिनलाई वन क्षेत्र कायम गरिएको हो ।

प्रदेशमा ६ वर्षको अवधिमा ३ हजार हेक्टरमा वृक्षारोपण गरिएको छ । प्रदेशको वन तथा वातावरण मन्त्रालयका अनुसार ६ आर्थिक वर्षमा ३ हजार हेक्टरमा वृक्षारोपण गरिएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ मा २ हजार ८१८ हेक्टरमा वृक्षारोपण गरिएको हो । आर्थिक वर्ष २०७५/०७६ मा ३३० हेक्टरमा वृक्षारोपण गरेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा २६८, आर्थिक वर्ष २०७७/०७८ मा ५२२, आर्थिक वर्ष २०७८/०७९ मा ८३९, आर्थिक वर्ष २०७९/०८० मा ५१९ र २०८०/०८१ म ३४० हेक्टरमा वृक्षारोपण गरेको छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४९ प्रतिशत अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको छ भने २०७६/०७७ मा १२ प्रतिशत, २०७७/०७८ मा ११ प्रतिशत, २०७८/०७९ मा ११.४० प्रतिशत, २०७९/०८० मा ६१.४५ प्रतिशत र २०८०/०८१ म ४२.२६ प्रतिशत क्षेत्रफलमा अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि वृक्षारोपण गरेको छ ।

  • ७७ लाख बिरुवा उत्पादन

मन्त्रालयले ६ वर्षमा ७६ लाख थानभन्दा बढी बिरुवा उत्पादन गरेको छ । मन्त्रालयले एक हाईटेक नसर्री तथा १५ वटा डिभिजन वन कार्यालयबाट ७६ लाख ७७ हजार ४८३ थान बिरुवा उत्पादन गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ लाख ७२ हजार ८६८ थान बिरुवा उत्पादन गरेको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १२ लाख ९९  हजार ५०९ थान, आर्थिक वर्ष २०७७/०७८ मा १९ लाख ६० हजार ५१५ थान, आर्थिक वर्ष २०७८/०७९ मा १२ लाख ५४ हजार ४९७ थान, आर्थिक वर्ष २०७९/०८० मा ८ लाख ९२ हजार ९३३ थान र आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख ९६ हजार ८६१ थान बिरुवा उत्पादन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप