आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अटो

गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् दसैँ अफर

बैंकहरूको पनि विशेष अफर
सोमबार, ३१ भदौ २०८१, ०७ : ३०
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । दसैँ, तिहारजस्ता ठुला चाडबाड नजिकिएसँगै गाडी कम्पनीहरूले ग्राहकलक्षित विभिन्न अफर सार्वजनिक गरेका छन् । अन्य समयको तुलनामा अत्यधिक बिक्री हुने भएकाले कम्पनीहरूले यो समयमा ग्राहक तान्न अनेक योजना ल्याउँछन् । दसैँ तथा तिहारको समयमा मात्रै वर्षभरको करिब ४०–५० प्रतिशतसम्म व्यापार हुने गरेको व्यवसायीहरू बताउँछन् । 

  • हुन्डाईमा कार र १० लाखसम्म छुट

यो दसैँ तथा तिहारको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बम्पर उपहारमा भेन्यु कार दिने योजना ल्याएको छ । ‘हुन्डाई डिलाइट फेस्टिभ २०८१’ योजनाअन्तर्गत गाडी किन्ने ग्राहकले १० लाख क्यास छुट पाउनेछन् । स्क्र्याच कार्डमार्फत १ लाख अतिरिक्त छुट, एक वर्षसम्मको निःशुल्क बीमा र सडक दस्तुर छुट दिइएको पनि कम्पनीले जनाएको छ । 

हुन्डाईले क्रिटा, भेन्यु, आई १०, आई २० लगायत गाडी बिक्री गर्दै आइरहेको छ । विद्युतीयमा हुन्डाईको कोना र आयोनिक ५ पनि नेपाली बजारमा सर्वाधिक रुचाइएका गाडी हुन् । 

  • सुजुकीको गाडी किन्दा ४ लाखसम्म छुट  

नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले दसैँतिहारको अवसर पारेर ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एसेसरिज पाउन सक्ने कम्पनीले जनाएको छ । 

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथो संस्करणको नयाँ एपिक स्विफ्ट इलेक्ट्रिक कारमा जस्तै ५ वर्षका लागि शून्य रनिङ खर्च हुने गरी अफर पनि ल्याएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुने र सुजुकीका विभिन्न मोडेलका कारहरूबमोजिम फरक फरक किसिमका छुटहरू लागू हुने कम्पनीले बताएको छ । 

  • टाटाको टुर प्याकेज 

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले प्रत्येक कमर्सियल गाडी खरिदमा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एउटा उपहार छान्न सकिने अफर ल्याएको छ । 

होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टीभी र माइक्रो वेभ रहेको कम्पनीले जनाएको छ । ग्याजेट अन्तर्गत आइफोन, एयरपड, म्याकबुक र एप्पल वाच छन् । यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, ब्यांकक, मलेसिया, दुबई वा युरोपको विकल्प उपलब्ध रहेको सिप्रदी ट्रेडिङले जनाएको छ । टाटाको नेक्सन ईभी यतिबेला सर्वाधिक रुचाइएको गाडीमा पर्छ । भर्खरै सार्वजनिक भएको पञ्च पनि नेपाली उपभोक्ताले रुचाएका छन् । 

यस्तै, गाडी बुकिङ गर्दा ग्राहकले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना टाटाका ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीको खरिदमा लागु हुने कम्पनीले जनाएको छ । 

  • एमजीमा ६ लाख छुट 

नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले ६ लाख छुटको योजना ल्याएको छ । कम्पनीले एमजी जेडएस ईभीको १०० वटा गाडीमा ६ लाख छुटको योजना ल्याएको हो । यसअघि ५२ लाख ९९ हजार पर्ने जेडएस ईभीलाई अफरअन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । 

त्यसका साथै कम्पनीले वुलिङ ईभी किन्दा २ लाख छुट दिने भएको छ । ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई ग्राहकले दसैँ तथा तिहार अफरमा २९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । 

  • होण्डा कारमा ५ लाख छुट 

होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कारको खरिदमा ५ लाखसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र निःशुल्क करको सुविधा दिएको छ । साथै ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि निःशुल्क दिइएको कम्पनीले जनाएको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउने योजना ल्याएको छ ।

बैंकहरूको पनि विशेष अफर 

चाडबाडका लागि गाडी विक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएर ग्राहक तान्ने प्रयास गरेसँगै बैंक तथा वित्तीय संस्थाले पनि कर्जाका लागि आफ्ना योजनाहरू सार्वजनिक गरेका छन् । यतिबेला बैंकहरूसँग पर्याप्त लगानीयोग्य रकम छ । यसकारण विभिन्न योजनामार्फत ग्राहकलाई आफूतिर तान्ने बैंकहरूले प्रयास गरेका छन् । यतिबेला बैंकहरूले विद्युतीय सवारी (ईभी) मा ८० प्रतिशतसम्म लगानी गरिरहेका छन् । केही बैंकको योजना यस्ता छन् । 

  • एनआईसी एसिया बैंक 

एनआईसी एसिया बैंकले कम्तीमा ४ लाखदेखि बढीमा २ करोड रुपैयाँसम्म अटो लोन दिइरहेको छ । यसको अवधि बढीमा १५ वर्ष तोकिएको छ । विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा मूल्यको ५० प्रतिशत लगानी गरिरहेको बैंकले जनाएको छ । बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याजदर र फ्लोटिङ दुवैमार्फत अटोलोन दिइरहेको छ । 

  • एनआईएमबी

एनआईएमबीले गाडी कर्जामा विद्युतीय सवारीलाई प्राथमिकता दिएको छ । बैंकले विद्युतीय गाडीमा ७.६४ मा १ प्रतिशत अर्थात् आफ्नो आधार दर मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गरेर कर्जा उपलब्ध गराउने जनाएको छ । पेट्रोलियम गाडीका लागि भने बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम लिइरहेको छ । गाडी कर्जाका लागि बैंकले ०.२५ प्रतिशत सेवा शुल्क तोकेको छ । 

  • नबिल बैंक

नबिल बैंकले गाडी कर्जाका लागि ५ वर्षे र ७ वर्षे स्थिर ब्याजदर प्रस्ताव गरेको छ । बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । ०.७५ प्रतिशत सेवा शुल्क तोकेको बैंकले विद्युतीय गाडीमा ८० प्रतिशत र अन्यमा ५० प्रतिशत लगानी गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप