क्यालिग्राफी : रञ्जना लिपिभित्रको कला
क्याली जात्रा फाउन्डेसन र क्यालिग्राफी नेपालको आयोजनामा ‘नेपाली अक्षर’ नामक नेपाली क्यालिग्राफी फेस्टिभल २०२४ भर्खरै सम्पन्न भयो । ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चलेको यस फेस्टिभलमा युवाको विशेष संलग्नता र सहभागिता थियो, जस कारण यो कार्यक्रम एउटा रमाइलो उत्सव वा मेलाजस्तो लाग्थ्यो ।
पछिल्ला वर्ष हामीकहाँ क्यालिग्राफी (सुलेखन, हस्तलिपि)मा चासो राख्ने र यसको प्रमोटका लागि पहल गर्ने काम हुन थालेका छन् । अक्षरहरूलाई कला र आममान्छेसँग जोड्ने कामले गति लिन थालेको देखिन्छ । कलाका क्याम्पस र कलेजमा पनि अक्षरहरूलाई कसरी डिजाइन गर्ने भन्ने सिकाउन थालिएको छ । नयाँ–नयाँ ‘फन्ट’ कसरी सिर्जना गर्ने भन्ने पनि कलाका स्कुलमा सिकाइन्छ ।
हाम्रो संस्कृति र संस्कारजस्तै यो सुलेखनको आफ्नै पहिचान रहेकोतर्फ नेपाली समाज सजग हुन थालेको देखिन्छ । अझ रञ्जना लिपिलाई फैलाउन धेरै प्रकारका कार्यक्रम हुन थालेको धेरै भइसक्यो ।
अक्षरलाई कलात्मक ढंगले लेख्ने परम्परा रञ्जना लिपिबाट सुरु भएको मानिन्छ । ब्राह्मी लिपिकै विकसित रूप भए पनि त्यसबखत रञ्जना लिपिलाई कलात्मक रूपमा मात्र विकसित गरिएको थिएन; तत्कालीन समुदायको संस्कृति र संस्कारसँग, दिनचर्यासँग पनि यसलाई आबद्ध गराइएको थियो ।
- लिपि
अक्षर एउटा एकाइ हो, यसैबाट बनेका शब्दहरू अनि वाक्य लिपि हो । त्यसैले अक्षरको इतिहास निकै लामो छ । आधिकारिक रूपमा साउथ एसियामा सबैजसो लिपिलाई ब्राह्मी लिपिकै विकसित रूपमा हेर्ने गरिन्छ ।
हामीकहाँ ब्राह्मी लिपिपछि लिच्छवि लिपि अनि रञ्जना लिपि देखापरेको थियो । लिच्छविकालका शिलालेखमा रहेको लिपिलाई लिच्छवि लिपि भनिन्छ, जसमा भाषा संस्कृत हुन्थ्यो । पछि मल्ल कालमा रञ्जना लिपि देखापर्यो, जसमा भाषा नेवारी हुन्थ्यो ।
३२ वर्षअघि (२०४९ वैशाख अन्तिम साता) मालीगाउँमा घरको जग खन्दा ईसाको दोस्रो शताब्दीका जयवर्माको मूर्ति भेटिएको थियो । यो मूर्तिको पादपीठमा ब्राह्मी लिपिमा लेखिएको छ । मानदेव प्रथमको राज्यकाल (पाँचौँ शताब्दी) र जय वर्माको काल (ईसाको दोस्रो शताब्दी) बिचको काल कलाका दृष्टिले अन्धकारमै छ । लिच्छविकाल (मानदेवका पाला)मै देखापरेकाले लिच्छवि लिपिलाई आजको दिनसम्म एक अलग्ग महत्त्वका साथ उल्लेख गर्ने प्रचलन छ ।
तथापि अक्षरलाई कलात्मक ढंगले लेख्ने परम्परा रञ्जना लिपिबाट सुरु भएको मानिन्छ । ब्राह्मी लिपिकै विकसित रूप भए पनि त्यसबखत रञ्जना लिपिलाई कलात्मक रूपमा मात्र विकसित गरिएको थिएन; तत्कालीन समुदायको संस्कृति र संस्कारसँग, दिनचर्यासँग पनि यसलाई आबद्ध गराइएको थियो । अझ यो लिपिलाई तन्त्रमन्त्र वा तान्त्रिक अवयवसँग पनि संलग्न गराएर एउटा अर्थका साथ विकास गरिएको थियो ।
मल्लकालमा बौद्ध धर्ममा वज्रयान सम्प्रदायको प्रवेश भइसकेको र तान्त्रिक कलाको पनि विकास भएको हुँदा यसै अनुसार चित्र वा मूर्ति एउटा अलग्ग धारमा विकसित हुँदै आए । कलात्मक रञ्जना लिपिको सहाराले ध्यान र तान्त्रिक क्रियाकलाप पनि हुने गर्थे । वज्राचार्य गुरुहरू पौभाचित्रका साथ यही अक्षरलाई प्रयोग गरी अँध्यारो कोठामा बसेर तान्त्रिक ध्यान गर्थे । यो प्रचलन अहिले पनि कायमै छ ।
यसरी रञ्जना लिपि सञ्चारको माध्यम मात्र बनेन, आम जनताको श्रद्धा र आस्थाको केन्द्र समेत बन्यो ।
- रञ्जना लिपि र चित्र
मूलतः चित्रबाटै अक्षरको रूप बनेको यथार्थ हो । गुफा युगमा वा गुफा चित्रमा अक्षरहरू थिएनन् । त्यति वेलाका मान्छे बोल्न जान्दैनथे, भाषा थिएन, अक्षर हुने कुरै भएन । त्यस वेला एउटाले लेखेको चित्रले अर्काले अर्थ लगाई बुझ्ने गर्थे । सन्देशहरू सम्प्रेषित गर्न बनाइएका यी गुफा चित्रहरू नै पछि गएर अक्षरमा परिणत भएको भन्ने गरिन्छ ।
यसर्थ अक्षरहरूलाई पछिल्लो कालसम्म अक्षरका रूपमा मात्र हेरिन्थ्यो । रञ्जनालिपि सन्देशहरूलाई बोक्ने भूमिकामा बसिनरहँदा यो एउटा अलग्ग स्वरूपको आर्टको फर्ममा विकास भएको सन्दर्भ पनि रमाइलो छ । रञ्जना लिपि आठ प्रकारका छन् ।
ईशाको ३०० वर्षअगाडि देखापरेको अशोककालीन ब्राह्मी लिपि नै यी सबैको माउ लिपि हो । पूर्वी एसिया र इस्लामिक राष्ट्रहरूमा लिपिलाई ‘सिग्निफिक्यान्ट आर्ट फर्म’का रूपमा मान्ने गरिन्छ । आज पनि इस्लामी समुदायमा जताततै एउटा ढंगले कलात्मक रूपमा आफ्नो लिपिलाई ठुलाठुला साइजमा राखिएका हुन्छन् । जबकि पश्चिममा विकसित भएका क्यालिग्राफीलाई लेख्ने (सप्रेषण गर्ने प्रयोजन) सन्दर्भमा मात्र लिने गरिन्छ । यसैले मुद्रण, टंकन, बिहेको निमन्त्रणा दिने कार्ड, वा लोगो डिजाइनमा क्यालिग्राफी बढी मात्रामा प्रयोग भएको देखिन्छ । ग्लोबलाइजेनको गहिरो प्रभाव आज नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा परेको छ, त्यसैले विकासोन्मुख देशमा पुराना लिपिलाई लोगोका रूपमा प्रयोग गर्न रमाइलो मान्छन् । यही कार्यशालामा पनि रञ्जना लिपिलाई लोगोका रूपमा, किसिम किसिमका डिजाइनका रूपमा प्रयोग भएका थिए ।
- दुई प्रकारका कार्यक्रम
यो कार्यक्रममा दुई किसिमका क्रियाकलाप भए । एकापट्टि एउटा कक्षमा मल्लकालमा प्रचलनमा रहेको रञ्जना लिपिलाई सम्झदै यसको प्रमोट गर्ने काम भइरहेको थियो । लिपिका अक्षर सिक्ने–सिकाउने क्रियाकलापका रूपमा कार्यशाला नै गरिएको थियो । जहाँ कलात्मक बुट्टाहरूजस्ता देखिने अक्षरलाई चारैतिर सजाएर राखिएका थिए । यही कार्यशालामा युवा जमात कलात्मक हिसाबमा जस्ताको तस्तै लेख्ने वा कपी गर्ने प्रयास गर्दै थिए । सहभागीमा केही विदेशी पनि थिए, उनीहरुले यी कलात्मक अक्षर लेख्न सिक्दै थिए । उनीहरु सबैलाई लुमु श्रेष्ठले सिकाइरहेकी थिइन् ।
मैले लुमुलाई सोधेको थिएँ— उहिले प्रचलनमा रहेका यी अक्षरलाई अहिले किन सिकाउँदै हुनुहुन्छ ? उनले फूर्तिका साथ जवाफ दिइन्— यो हाम्रो मूल लिपि हो, हामी नेपालीको पहिचान हो, जुन अहिले प्रचलनमा छैन तर यसलाई बचाउनु छ । बचाउने मात्र होइन, अक्षरको विकास र परिमार्जन कसरी भएको छ, अन्तर्राष्ट्रिय भाषासँग यो कसरी जोडिँदै गएको छ, त्यसको अनुसन्धान गर्नुपर्नेछ ।
अर्को कक्षमा क्यालिग्राफी आर्टको प्रदर्शन गरिएको थियो । यी सबै समसामयिक कला नै थिए । भावार्थ र एउटा प्याट्रनका रूपमा सिर्जना भएका यस्ता चित्र अलिकता डिजाइनजस्तो तथापि समग्रमा आकर्षक चित्रका रूपमा देखिन्थ्यो । यस कक्षमा क्यालिग्राफी कलाहरु र यो बनाउन आवश्यक सामग्री बेच्न राखिएको थियो ।
पहिले–पहिले यस्ता कलाको प्रदर्शनी आनन्दका लागि र धर्म गाथा, लोकगाथा आदिको सम्प्रेषणका लागि गर्ने गरिन्थ्यो ।
अचेल कलासँग सम्बन्धित यस्ता फेस्टिभललाई व्यापारसँग समेत जोडेर हेर्न थलिएको छ, ताकि कलाको व्यावसायिकतामा वृद्धि होस् । आज मूलतः कलालाई बचाइराख्न अर्थसँग जोड्ने परम्परा बन्दै गएको छ । यो समय सापेक्ष मात्र होइन, आजको आवश्यकता पनि हो ।
- अन्तर्राष्ट्रिय अभ्यास
इस्लामी संसारमा सदियौँदेखि मस्जिददेखि धार्मिक स्थल लगायत हरेक ठाउँमा यस्ता लिपि प्रयोग भइआएको छ । यसैलाई समसामयिक क्यालिग्राफीका रूपमा शुभारम्भ गर्ने काम पाकिस्तानबाट भयो । अहिले त हरेकले यसको प्रयोग गर्ने गरेको देखिन्छ । यही कलालाई आधुनिक कलाको सन्दर्भमा अहिले क्यालिग्राफी आर्ट भन्ने चलन छ ।
सन् १९९६ मा मिडियाभिल्ला क्लाउडले ‘क्यालिग्राफी फ्रम क्यालिग्राफी टु एब्स्ट्र्याक पेन्टिङ’ भन्ने एउटा गहन आर्टिकल लेखे । उनको भनाइमा क्यालिग्राफी भनेको भिजुअल आर्ट हो, जो लेख्नुसँग सम्बन्धित छ, जसमा पेन इन्क र ब्रसद्वारा अक्षरहरूलाई लेख्ने गरिन्छ । समसामयिक क्यालिग्राफीलाई कलाका रूपमा परिभाषित गर्ने गरिन्छ, जहाँ अभिव्यञ्जना अनि सीप वा शिल्प गाँसिएको हुन्छ । चाइनिज क्यालिग्राफीलाई ‘सुता’ अथवा ‘फासु’ भनिन्छ, जापानिजमा ‘सोडो’ अनि कोरियामा यसलाई ‘सेओये’ भन्ने गरिन्छ ।
- इम्प्रिन्ट
भर्खरै (जुलाई २१ देखि अगस्ट ११) ‘इम्प्रिन्ट’ नामक अर्को सामूहिक प्रिन्ट मेकिङ कलाको प्रदर्शनी सिद्धार्थकला दीर्घाको एनेक्स कक्षमा भयो । केयु आर्ट एन्ड डिजाइनका विद्यार्थीले यो प्रदर्शनी गरेका थिए । तीस कलाकार संलग्न यस कला प्रदर्शनीमा सबैका स–साना प्रिन्ट कलालाई मूल्यसहित प्रदर्शनमा राखिएका थिए । ३० कलाकार हुन्— आर्या महर्जन, ध्रिटिका तिवारी, जेनी प्रजापति, श्रीनिधि खड्का, प्रमा राई, श्रेया बज्राचार्य, समीप लिम्बु, अनु महर्जन, दोर्जे छिरिङ शेर्पा, रेबेका तामाङ, आर्या उदास, पलिस्था महर्जन, श्लेश्मा महर्जन, सुप्रिया शाक्य, सुधा पौडेल, दिवस बज्राचार्य, प्रज्ज्वल महर्जन, सादिप स्थापित, सालोङ घिसिङ, आयुसराज शाक्य, मनस्वी दाहाल, अर्पिता पराजुली, रोजा खतिवडा, इभा केसी, अग्रिमा राज्यलक्ष्मी राणा, सुस्मिता सखा, गगनकुमार ज्यापु, अर्जुन सारु, विक्रम पुलामी मगर र समीप लिम्बु ।
अध्ययनकै क्रममा रहेका सबैजसो कलाकारका काम अब्बल देखिन्छ । यसमध्ये केहीको थोरै चर्चा गरौँ : दोर्जेको उडकट माध्यममा गरिएको व्यक्तिचित्र सिङ भएको, झपक्क दारी (परम्परागत थाङ्काका बुट्टाहरू) र केशले मुखै नदेखिने गरी ढाकिने स्वरूपमा देखापरेको छ । गहिरो कल्पना र शिल्प दक्षता एकै साथ देखिँदा यो कला अद्भुत बन्न पुगेको छ ।
‘स्वतन्त्रता’ नामको इभाको चित्रमा अक्षरहरूमाथि अर्धनग्न षोडषी देखिन्छिन् । अक्षरहरूसँग खेल्ने र हाम्रो समसामयिक मोटिफलाई यसैमा समावेश गर्ने प्रचलन नेपालमा सन् ६० तिर आधुनिक कला सुरु भएबाट प्रारम्भ भएको थियो । आधुनिक कलाकार उत्तम नेपालीले अक्षरलाई साहित्यकारको व्यक्तिचित्रसँग गाँसेर प्रस्तुत गरेका थिए, जुन चित्र नै यस्ता कलाका प्रारम्भका चित्र हुन् ।
प्रज्ज्वलको चित्र परम्परा लिपिमाथि नमस्कारका आकृतिसहित देखापरेको छ, जो आफैँमा रोमाञ्चित देखिन्छ । यस्तै, आर्याको चित्रमा हातमाथिको वस्तु आफैँले टिप्न खोज्दा एउटा रहस्यमयी आकृति देखापरेको छ । जेनीको चित्रमा मुकुण्डोधारी मानव आक्रोशमा देखिन्छ । सुप्रियाको आधा युवतीको चित्रमा अलग्ग ढंगको कलागत संयोजन देखिन्छ । प्रेमा राईको चित्रमा देखापरेको माला गाँस्दै गरेका हातले पनि समूहगत कार्यको समन्वयताको सन्देश यथेष्ट मात्रामा दिएका छन् ।
श्रेयाको चित्रमा शृङ्गाररत महिला छन्, जसमा सौन्दर्यताको अनुभूत हुन्छ । ‘गोल्डेन ह्युज’ नामक श्लेश्माको चित्रमा भुइँमा दगुर्दै गरेका सुनौला बाङ्गाटिङ्गा रेखाहरू युवतीको पाउमा पर्दा मनमोहन दृश्य बनेको छ । ध्रिटिका तिवारीले आफ्नो चित्रमा खुट्टा मात्र देखाएर नाचको प्रतिविम्बलाई प्रस्तुत गरेकी छन् । श्रीनिधि खड्काले फूल र महिलाको आत्मीयतालाई आफ्नो चित्रमा प्रस्तुत गरेकी छन् । आयुसले व्यङ्गात्मक कार्टुन कला बनाएका छन् ।
यसरी नै हरेकजसोका कलाहरूले केही न केही नयाँ कुरा लिएर देखापरेका छन् । अलि पहिले कलाका स्कुलमा छात्रछात्रालाई एकेडेमिक कामभन्दा अरु गर्न दिइँदैनथ्यो, सिर्जनात्मक काम गर्न पढाइ सकिनुपर्ने हुन्थ्यो । अहिले त्यो अवस्था तोडिएको छ । यस्ता सिर्जना गर्न छुट दिँदा पनि यसपल्ट विद्यार्थी कलाकारहरू अनुशासनमा बसेका देखिन्छन् । यो एउटा खाइलाग्दो कला स्कुलिङ हो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन