शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
लिग–२  क्रिकेट

क्यानडालाई आज उसैको मैदानमा चुनौति दिँदै नेपाल

सोमबार, ३१ भदौ २०८१, ०६ : ००
सोमबार, ३१ भदौ २०८१

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगितामा सोमबार नेपालले क्यानडासँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबिचको खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

लिग–२ को दोस्रो संस्करणअन्तर्गत खेल्न लागिएको यो छैटौँ शृङ्खला हो । क्यानडामा हुने शृङ्खलामा तेस्रो टोलीका रूपमा ओमानको सहभागिता रहेको छ । जारी लिग–२ प्रतियोगितामा नेपालले खेल्न लागेको यो दोस्रो शृङ्खला हो । 

जारी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको पहिलो शृङ्खला नेपालमै खेलिएको थियो । त्यो त्रिकोणात्मक शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । आफ्नो पहिलो शृङ्खलामा नेपालको प्रदर्शन निराशाजनक थियो । उक्त शृङ्खलामा नेपाली टोली आफूले खेलेको चारमध्ये तीन खेलमा पराजित भएको थियो । 

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शनिबार एउटा अभ्यास खेल पनि खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले एचपी ज्यागुअर्सलाई ६६ रनले हराएको थियो । क्यानडामा हुने शृङ्खलाका लागि नेपाली टोलीले करिब दुई साता भारतको बैंगलुरुमा पनि अभ्यास गरेको थियो ।

यसैगरी, क्यानडा प्रस्थान गर्नुअघि लिग–२ को तयारीका क्रममा नेपाली टोली श्रीलंका भ्रमणमा पनि गएको थियो । श्रीलंका भ्रमणका क्रममा नेपालले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको थियो ।

तर, वर्षाका कारण एउटा अभ्यास खेल मात्र सम्भव भएको थियो । त्यो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई हराएको थियो । क्यानडा र अमेरिकामा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीले घरभित्रै पनि पर्याप्त अभ्यास गरेको थियो । 

लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । नेपाल र क्यानडाबिच हालसम्म तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । तीनवटै खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्धको तीनवटै एकदिवसीय खेल घरेलु मैदानमा खेलेको हो । 

यसै वर्षको फेब्रुअरी ८ तारिखमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीले क्यानडालाई सात रनले हराएको थियो । नेपाली टोली फेब्रुअरी १० तारिखमा खेलिएको दोस्रो खेलमा चार विकेट र फेब्रुअरी १२ मा खेलिएको तेस्रो खेलमा नौ विकेटले विजयी भएको थियो ।

यसपटक नेपाली टोलीले क्यानडा भ्रमणका क्रममा कुल चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । त्यो शृङ्खलामा तीनवटा राष्ट्रले कुल ६ खेल खेल्नेछन् ।  शृङ्खलाको दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा नेपाल र ओमानबिच खेलिने छ । 

सेप्टेम्बर २० मा हुने तेस्रो खेलमा आयोजक क्यानडाले ओमानको सामना गर्नेछ । चौथो खेल सेप्टेम्बर २२ तारिखमा नेपाल र क्यानडाबिच खेलिने छ । पाँचौँ खेल नेपाल र ओमानबिच २४ तारिखमा खेलिने छ । शृङ्खलाको छैटौँ तथा अन्तिम खेल सेप्टेम्बर २६ तारिखमा ओमान र क्यानडाबिच हुनेछ । 

एकदिवसीय शृङ्खला सकिए लगत्तै क्यानडामै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । टी–२० शृङ्खलामा पनि यी तीन राष्ट्र नै सहभागी हुनेछन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिए लगत्तै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहँदै आएको छ । 

सोही अनुरूप, पहिलो टी–२० खेल सेप्टेम्बर २८ तारिखमा नेपालविरुद्ध क्यानडाबिच खेलिने छ । दोस्रो टी–२० सेप्टेम्बर २९ मा नेपालविरुद्ध ओमानबिच हुनेछ । सेप्टेम्बर ३० मा क्यानडा र ओमानबिच तेस्रो टी–२० खेलिने छ । 

चौथो खेल अक्टोबर १ मा नेपाल र क्यानडाबिच, पाँचौँ खेल अक्टोबर २ मा नेपाल र ओमानबिच तथा छैटौँ टी–२० अन्तर्राष्ट्रिय अक्टोबर ३ तारिखमा क्यानडा र ओमानबिच खेलिने छ । क्यानडा भ्रमणपछि नेपाली टोली लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ ।  

अमेरिका भ्रमणका क्रममा पनि नेपाली टोलीले लिग–२ अन्तर्गत आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ शृङ्खलाको समाप्तिपछि अमेरिकामै तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ ।  

जारी लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि लिग–२ को पहिलो संस्करणमा सात टोली मात्र सहभागी थिए । अघिल्लो संस्करणको आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अङ्क तालिकामा सबैभन्दा तल (१३औँ स्थानमा) रहेको राष्ट्र नेदरल्यान्ड्सलाई पनि यसपटक लिग–२ मा समावेश गरिएको हो । लिग–२ तालिकामा अहिले नेदरल्यान्ड्स नै पहिलो स्थानमा आसीन छ । 

नेदरल्यान्ड्सले हालसम्म आफूले खेलेको आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजाबाट १२ अङ्क जोडेको छ । सात खेल खेलेको स्कटल्यान्ड नौ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । आठ खेल खेलेको क्यानडा आठ अङ्कसहित तेस्रो स्थानमा छ । 

यसैगरी, आठ खेल खेलेको नामिबिया आठ अङ्कसहित चौथो स्थानमा छ । हालसम्म चार खेल खेलेको अमेरिका चार अङ्क बटुल्दै तालिकाको पाँचौँ स्थानमा छ । समान चार खेल खेलेको ओमान तीन अङ्क जोड्दै छैटौँ स्थानमा छ । चार खेल खेलेको नेपाल दुई अङ्कसहित सातौँ स्थानमा छ । हालसम्म अङ्क बटुल्न नसकेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा आसीन छ । 

लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ । 

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।   

त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ । 

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) द्वारा घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । 

देव खनाल पनि रिजर्भ खेलाडीका रूपमा क्यानडा प्रस्थान गरेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा जगत नै टोलीका प्रमुख प्रशिक्षक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप