१० बजे, १० समाचार
आज २०८१ भदौ ३० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते, संसद् अधिवेशन अन्त्यका लागि सिफारिस, ओली भर्सेस बालेन ‘वाकयुद्ध’ कति उचित ?, पेट्रोल र डिजेलको मूल्यमा भारी गिरावट, नेपाललाई रणनीतिक अड्डा बनाउन विश्व शक्ति राष्ट्र उद्यत : प्रचण्ड, अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन, प्रतिवेदन बुझाउने तयारीमा सहकारी छानबिन समिति लगायत छन् ।
१. स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
सरकारले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको प्रस्ताव अनुसार उपनिर्वाचनको मिति तोकेको हो ।
२. संसद् अधिवेशन अन्त्यका लागि सिफारिस
सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको हो ।
३. ओली भर्सेस बालेन ‘वाकयुद्ध’ कति उचित ?
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच केही समय यता ‘वाकयुद्ध’ चल्दै आएको छ । बालेनले सामाजिक सञ्जालमा ओली लक्षित टिप्पणी गर्दै आएका छन् भने ओलीले सार्वजनिक मञ्चबाटै बालेनलाई जवाफ दिने गरेका छन् ।
४. पेट्रोल र डिजेलको मूल्यमा भारी गिरावट
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको हो ।
५. नेपाललाई रणनीतिक अड्डा बनाउन विश्व शक्ति राष्ट्र उद्यत : प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शक्ति राष्ट्र नेपाललाई रणनीतिक अड्डा बनाउन उद्यत रहेको आरोप लगाएका छन् । आइतबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई नै रणनीतिक अड्डा बनाएर उनीहरू युद्धको तयारीमा जुटेको बताए ।
६. अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आइतबार अख्तियारको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले अख्तियारका काम कारबाही प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रहेको बताए ।
७. प्रतिवेदन बुझाउने तयारीमा सहकारी छानबिन समिति
सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्ने तयारी गरेको हो ।
८. कति जोखिमपूर्ण अवस्थामा पुग्यो सार्वजनिक ऋण ?
राजस्व आम्दानीले चालु खर्च नै धान्न कठिन परेपछि सरकार बजेटरी घाटाको खाडल पुर्न ऋण लिन बाध्य भएको छ । पछिल्लो समय वैदेशिक अनुदान पनि न्यून मात्रामा आइरहेको छ । सरकारको राजस्व आम्दानी लगभग चालु खर्चमै नपुग्ने र सार्वजनिक ऋणको भुक्तानी दायित्व हरेक वर्ष बढ्दै जाने अवस्था भने चिन्ताको विषय भएको जानकारहरूको भनाइ छ ।
९. पाँच महिनामा ५१ श्रमिक बालबालिकाको उद्धार
काठमाडौँ महानगरपालिकाले पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको उद्धार गरेको छ । काठमाडौँ महानगरले थालेको ‘बालबालिकाको रक्षा, भविष्यको सुरक्षा’ अभियान अन्तर्गत वैशाखदेखि हालसम्म ५१ जना बालबालिकाको उद्धार गरेको हो ।
१०. ४० सहसचिवको सरुवा
सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनीहरूको सरुवा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू
-
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन