बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पुल्चोकमा खानेपानीको पाइप फुटेको बारे छानबिन गर्न समिति गठन

आइतबार, ३० भदौ २०८१, २० : १२
आइतबार, ३० भदौ २०८१

 काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइप फुटेर क्षति भएको विषयमा छानबिन गर्न  समिति गठन गरेका छन् ।

काठमाडौँ उपत्यकाको बालाजु, पुलचोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिन यतादेखि देखा परेका पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्दै समस्याको जड पत्ता लगाउन मन्त्री यादवले छानबिन समिति गठन गरेका हुन् ।

आइतबार मन्त्री यादवले मन्त्रीस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेश गर्न सह–सचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

मन्त्री यादवले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो, र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रूपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताए । बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्त्वपूर्ण रहेको बताउँदै उनले पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन पनि दिए ।

मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए ।

उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनाहरूमा क्षति पुर्‍याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्री यादवले पाइपलाइन विस्तारको क्रममा गरिएका त्रुटिहरूलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नसमेत निर्देशन दिए ।

खानेपानीको पाइप बारम्बार फुट्नुमा त्यसको गुण्स्तरमा प्रश्न उठेको छ । स्रोतका अनुसार मन्त्री यादवले फुटेका पाइपको बारेमा अध्ययन गर्न परीक्षणका लागि भारत पठाउने तयारी गरेका छन् । भारतको ल्याबमा परीक्षण भएर आएपछि थप कारबाही अगाडि बढाउने मन्त्री यादवको तयारी छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप