शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

ओली भर्सेस बालेन द्वन्द्व : प्रधानमन्त्रीले ‘इग्नोर’ गर्ने कि जुहारी खेल्ने ?

आइतबार, ३० भदौ २०८१, १९ : ३०
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । पछिल्ला केही दिन काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चल्ने क्रम जारी छ । फरक यति हो, बालेनले सामाजिक सञ्जाल प्रयोग गरेका छन् भने प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमको मञ्च ।

मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ महिनामा मात्रै प्रधानमन्त्री ओली लक्षित ६ वटा ‘स्ट्याटस’ लेखेका छन् । लगातार बालेनले आफू लक्षित स्ट्याटस लेखेपछि प्रधानमन्त्री ओलीले समस्या पहिचान र सम्बोधनमा ध्यान दिएनन् । बरु उनले सार्वजनिक रूपमै बालेनलाई चेतावनीपूर्ण जवाफ दिन समय खर्चिने गरेका छन् ।

बालेनले प्रयोग गर्ने गरेको भाषा, शैली र शब्दलाई एकछिन बिर्सने र प्रधानमन्त्रीको टिप्पणीलाई विश्लेषण गर्ने हो भने के प्रधानमन्त्रीले त्यसरी जवाफ फर्काएर बस्न मिल्छ ? पटक्कै मिल्ने र सुहाउने कुरा होइन । तर प्रधानमन्त्री ओली बालेनले कुन बेला स्ट्याटस लेख्छन् र जवाफ फर्काऊँ भनेर बसेको जस्तो भान हुन्छ । अब योसँगै प्रश्न उठ्छ– एक जना मेयरले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर देशको कार्यकारी प्रमुख समेत रहेको प्रधानमन्त्रीजस्तो व्यक्तिले जवाफ फर्काउँदै जाने हो भने भोलि ७५३ वटै स्थानीय तहका प्रमुखले आफूलाई चित्त नबुझेका कुरामा स्ट्याटस लेखे भने त्यसै गरी प्रधानमन्त्रीले जवाफ फर्काउने हो ?

विश्लेषकहरू प्रधानमन्त्रीको यो शैलीलाई अस्वाभाविक र अनावश्यक ठान्छन् । उनीहरू मेयर बालेन र प्रधानमन्त्री दुवैमा जिम्मेवारीबोधको कमी देख्छन् ।

बालेनलाई ओलीको चेतावनी

यही भदौ २९ गते शनिबार पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर शाहलाई लक्षित गर्दै ‘मनपरी गर्ने केटो’ भने । ‘मनपरी गर्ने’ भने पनि बालेनबाट भएका ‘मनपरी’ उनले खुलाएनन् ।

‘अहिले कहाँबाट एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे, त्योसँग जनमत छ रे ! नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले बालेनलाई कसैले बोकेको पनि सङ्केत गरे । उनले भने, ‘देखिसक्यौँ त हामीले, बोक्नेले बोकेकै छ त । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ । यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मार्‍यो भन्दै चलाइदिन्छ । त्यस कारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

  • ओलीलाई बालेनको जवाफ

ओलीको बोली सार्वजनिक भएपछि बालेन पनि के कम ? भदौ २९ गते शनिबार नै ओलीलाई साङ्केतिक रूपमा जवाफ फर्काइहाले । मेयर बालेनले ओलीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीका कारण पीडित बालिकाहरूले न्याय नपाएर मर्नु परेको भन्दै बाल दिवसको शुभकामना दिन नसकेको बताए ।

बरु बालेनले बालदिवसको शुभकामना प्रधानमन्त्रीलाई नै ‘टक्य्राउन’ चाहेको भन्दै ग्रहण गर्नसमेत आग्रह गरे ।

‘पीडित बालिकाहरूले प्रम (खड्गप्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिनँ । सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्य्राउन चाहन्छु, ग्रहण गर्नुहोला’, मेयर बालेनले फेसबुकमा लेखेका थिए ।

  • ओलीमाथि बालेनको लगातार प्रश्न

त्यसो त बालेनले भदौ २६ गते पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठाएका थिए । तीन वर्ष अगाडि नै सर्वोच्च अदालतले गरेको नदी किनाराको २० मिटर जग्गा छाड्नुपर्ने एक फैसलालाई लिएर प्रधानमन्त्री ओली अहिले तातेको भन्दै शाहले ओलीमाथि प्रश्न गरेका थिए । जबकि सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार भ्याकेटमा जाने चर्चा भइरहेको थियो ।

सोही प्रसङ्गलाई जोडेर शाहले थप लेखे, ‘उहिल्यै मरिन् सासू, अहिले आए आँसु, यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण ।’

सर्वोच्चले गरेको फैसलालाई आफूले कार्यान्वयन गर्न खोजेको भन्दै बालेनले थप भनेका थिए, ‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनुभन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।’

सर्वोच्चको उक्त फैसला जतिबेला आएको थियो, त्यति बेला अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली नै प्रधानमन्त्री रहेको बालेनले जनाएका छन् । उनले भनेका थिए, ‘उहाँले नियुक्त गर्नुभएको महान्यायाधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडौँको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो ।’

त्यतिमात्र होइन, भदौ २३ गते पनि बालेनले सोही विषयमा प्रधानमन्त्री ओलीलाई सोधेका थिए । सर्वोच्चको आदेश कार्यान्वयन गर्न सरकार नै अनिच्छुक देखिएपछि बालेनले प्रधानमन्त्रीलाई लक्षित गर्दै प्रश्न गरेका थिए ।

भदौ ८ मा पनि बालेनले नदीकिनारको मापदण्डबारे आवाज उठाए । ‘आफैँ धामी, आफैँ झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषदमा को छ ?’, बालेनले कटाक्ष गरेका थिए ।

‘सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै । अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौँ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ’, बालेनको भनाइ थियो । नदी किनारका सवालमा बालेनले पहिलो पटक भदौ १० मा सामाजिक सञ्जालमा विषय उठान गरेका थिए ।

  • सांसद रेखा प्रकरणमा बालेनले खोलेको फायर

भदौ १६, १७ र १८ गते लगातार बालेनले ओली नेतृत्वको सरकारमाथि आक्रमण गरेका थिए । ती स्टाटसमा बालिकामाथि हिंसा गर्ने आफ्नै पार्टीका सांसदलाई कारबाही गर्नुको साटो संरक्षण गरेको भन्दै मेयर बालेनले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए ।

‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ’, मेयर बालेनले सुशासनको कुरा गर्ने प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । साथमा उनले सांसद शर्माको तस्बिरसमेत राखेका थिए ।

बालेन त्यतिमा मात्र रोकिएनन् । भदौ १७ गते उनले अर्को स्ट्याटस लेखे । ‘अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ, जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगरबिचको मुद्दा होइन’, बालेनले भनेका थिए, ‘बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्‍यो भनी बन्दी बनाएको भन्ने रिट हालेका हुन् । जुन रिट अदालतले खारेज गरेको छ । अदालतले खारेज गरेपछि महानगरले गरेको उद्धार सही थियो भन्ने पुष्टि भएको कुरा छर्लङ्ग नै छ ।’

बालेनले यति लेखेपछि सरकारको नेतृत्व गर्ने पार्टी एमाले समर्थक नेता कार्यकर्ताले अदालतको आधा फैसला राख्दै प्रदेश सांसद शर्माको बचाउ र बालेनको प्रतिवाद गर्न थालिसकेका थिए ।

त्यसै क्रममा बालेनको फेसबुकबाट एउटा स्ट्याटस डिलिट हुन पुग्यो । आफ्नो स्ट्याटस सरकारले नै उडाएको आरोप बालेनले लगाए ।

‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ’, मेयर शाहले फेसबुकमा यस्तो लेखेलगत्तै प्रधानमन्त्री ओलीको फेसबुकका फलोअर्स घट्न थालेका थिए । तर केही दिनपछि बालेनको उडेको पोस्ट रिकभर भएको थियो ।

  • जिम्मेवारीबोधको कमी : मैनाली

पुराना वामपन्थी नेता राधाकृष्ण मैनाली प्रधानमन्त्रीले एउटा मेयरसँग जुहारी खेल्नु राजनीतिक हैसियत गुमाएको अर्थमा बुझ्नुपर्ने बताउँछन् । ‘मेयरका आफ्ना समस्या होलान्, प्रधानमन्त्रीका आफ्नै राष्ट्रिय समस्या हुन्छन् । मेयरका समस्या जति नै भए पनि नगरभित्रकामात्र हुन्’, मैनालीले भने, ‘त्यसैले प्रधानमन्त्री र मेयरको समस्याको स्तर पनि मिल्दैन । मेयरले केही कुरा भनिहाले पनि प्रधानमन्त्रीले के हो त ? भनेर आन्तरिक रूपमा सम्बोधन गर्नतिर लाग्ने हो ।’

राष्ट्रकै नेतृत्व गर्ने व्यक्तिले स्थानीय निकायको प्रमुखसँग जुहारी खेल्ने तरिका कुनै हालतमा नमिल्ने मैनालीको तर्क छ । ‘जुहारी किन खेलिरहेका छन् ? त्यो उनीहरूले जान्ने कुरा हो तर राजनीतिक स्तर नै नमिल्ने गरी इगो साँध्नु र जवाफ फर्काउनुले प्रधानमन्त्रीले आफ्नै स्तर गिराइरहेका छन्’, मैनालीले भने, ‘मेयरसँग प्रधानमन्त्रीले जुहारी खेल्दा हेर्नेलाई पनि लाज लाग्छ ।’

मेयर बालेन र प्रधानमन्त्री ओली दुवै आ–आफ्नै ठाउँका जिम्मेवार व्यक्ति भएको मैनालीले बताए । दुवैले जुहारी खेलेर नाटक देखाउनुभन्दा जिम्मेवार बन्नतर्फ लाग्नुपर्ने उनको सुझाव छ । ‘जिम्मेवारीबोधको कमी हो र राजनीतिक स्वार्थको टकराब पनि हो,’ उनले भने, ‘जसले गर्दा एक अर्कामाथि आरोप–प्रत्यारोप चलिरहेको छ ।’

  • प्रधानमन्त्रीले इग्नोर गर्नुपर्छ : विश्लेषक गौतम

विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम प्रधानमन्त्रीले मेयर बालेनलाई जवाफ दिनु स्तरहीन विषय भएको बताउँछन् ।

‘मेयरको तुलनामा प्रधानमन्त्री बढी जिम्मेवार हुने भएकाले प्रधानमन्त्रीले नै मर्यादा नराखेको देखिन्छ’, गौतमले भने, ‘मेयर बालेनको बेहोरा बिहान उठ्ने, आँखा मिच्दै एउटा स्ट्याटस लेख्ने, बेलुका अर्को लेख्ने छ । मेयरको त्यो स्ट्याटस हेरेर प्रधानमन्त्री बस्ने र जवाफ फर्काउने होइन ।’

गौतमले उदाहरण नै नराम्रो सेट भएको बताए । ‘यसलाई कसरी रोक्ने भन्ने महत्त्वपूर्ण प्रश्न हो । उहाँहरू (बालेन र प्रधानमन्त्री) मध्ये धेरैले प्रधानमन्त्रीको आचरण अनुकरण र अनुशरण गर्नुपर्ने हुन्छ’, गौतमले भने, ‘दुवै जना व्यक्तिगत रूपमा उत्रेको देखिन्छ ।’

यस्ता कुरालाई प्रधानमन्त्रीले ‘इग्नोर’ गर्नुपर्ने गौतमको सुझाव छ । ‘कतिपय कुरा इग्नोर गर्न योग्य पनि हुन्छन्’, उनले भने, ‘सम्बोधन गर्नुपर्ने भए सम्बोधन गर्नुपर्छ ।’

  • सिंहदरबार जलाउने धम्की

त्यसो त मेयर बालेन शाह र केन्द्र सरकारबिच जुहारी चलेको यो पहिलो पटक भने होइन । यसअघि फोहोर व्यवस्थापनका सवालमा सिंहदरबारदेखि राजनीतिक पार्टीका कार्यालयसम्म लगेर फोहोर थुपार्ने होस् वा सुकुमबासी बस्तीमा डोजर लगाउने अनि तिनै प्रकरणमा सिंहदरबार जलाउने धम्कीसमेत बालेनले नदिएका होइनन् । न्युरोड क्षेत्रको सडक विस्तार, धरहरा क्षेत्रको पार्किङका सवालमा पनि दुई तहका सरकारबिच द्वन्द्व हुँदै आएको छ । त्यसबाहेक गिरीबन्धु जग्गा घोटाला प्रकरणमा पनि ओलीलक्षित व्यक्तिगत टिप्पणी गर्न बालेन पछि हटेका थिएनन् ।

  • बालेन, तबला र ओली

 २०७९ मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन एमालेका  उम्मेदवार केशव स्थापितलाई हराउँदै निर्वाचित भएका थिए । महानगर प्रमुखमा बालेन निर्वाचित भएपछि एमाले अध्यक्ष केपी ओलीले उनलाई तबला उपहार दिएका थिए ।

balan_7wl9qafPj0

ओलीले बालेनलाई तबला उपहार दिएपछि धेरैले ओली र बालेन सम्बन्ध निकटतामा परिणत हुने अपेक्षा गरेका थिए । सोही सन्दर्भ स्मरण गर्दै केही महिना पहिला एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले भनेका थिए, ‘किन उहाँले ड्रम उपहार दिनुभएन, किन तबला दिनुभयो ? अब उहाँले तबलाको धुनमा काम गर्नुहोस् ।’ 

तबलाको अर्थ करुणा, प्रेम, सद्भाव र संयम भएको भन्दै भट्टराईले मेयर बालेनले संयम गुमाउँदै गएको टिप्पणी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप