शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा

आइतबार, ३० भदौ २०८१, १७ : १५
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ को आयोजनामा असोज १ देखि ९ गतेसम्म लैनचौरस्थित फुटसल मैदानमा प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल काठमाडौँ महानगरपालिका र आयोजक २३ नम्बर वडाबिच हुनेछ । आयोजक नम्बर वडाका अध्यक्ष मचाराजा महर्जनले आइतबार पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यावसायिक प्रवर्द्धनमा योगदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा करिब तीन सय ८४ युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् । नकआउटका आधारमा हुने प्रतियोगिताको विजेता टोलीलाई ट्रफीसहित दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ । प्रतियोगितालाई सफल बनाउन वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरू राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्ज्वल शाक्य र रामबहादुर रम्बा रजक रहेको मूल समिति गठन गरिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको बताइएको छ । कार्यक्रममा वडा नम्बर २३ को टोलीलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो । विशाल श्रेष्ठको कप्तानीमा वडा नम्बर २३ को टोली प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

आयोजक वडा नम्बर २३ र स्टार हस्पिटलबिच आइतबार नै प्रतियोगितामा मेडिकल साझेदारीका लागि सम्झौता पनि भएको छ । वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन र स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले सम्झौता पत्र हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप