बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पत्नीलाई धनाढ्यले दिएको उपहारका कारण समस्यामा बेलायती प्रधानमन्त्री

आइतबार, ३० भदौ २०८१, १४ : ४९
आइतबार, ३० भदौ २०८१

लन्डन । बेलायती प्रधानमन्त्री कीर स्टार्मर यतिबेला समस्यामा फसेका छन् । आफ्नी श्रीमतीलाई धनाढ्यले उपहारमा दिएको कपडाका कारण उनी यतिबेला समस्यामा परेका हुन् । 

पत्नी भिकटोरियाले पाएको उपहार सार्वजनिक नगरेको भन्दै उनीमाथि संसदीय नियमको उल्लंघन गरेको आरोप लागेको छ । उनीविरुद्ध जाँचको माग उठिरहेको छ ।

संडे टाइम्सका अनुसार स्टार्मरले यो कुरा खुलासा गर्न लापरबाही गरेकोले उनी जाँचको सामना गर्नुपरेको हो । लेबर पार्टीका मुख्य दानकर्ता लर्ड एलीले प्रधानमन्त्री पत्नी भिक्टोरियालाई महँगो कपडासमेत कयौँ उपहार दिएका थिए । सांसदहरूले पाएका उपहारबारे जानकारी दिने रजिष्टरमा अरु सबैको जनकारी दिएको भएपनि स्टार्मरले कपडाबारे उल्लेख गरेका थिएनन् ।

सांसदहरूले आफू वा आफ्नो परिवारका सदस्यले तेस्रो पक्षबाट पाएको उपहारबारे उपहार पाएको २८ दिनभित्र जानकारी दिनु पर्छ । उपहारसँग कुनै लाभ जोडिएको भए–नभएपनि यसको जानकारी दिनुपर्ने नियम छ । लाभ संसदमा सदस्यता, संसदीय वा राजनीतिक गतिविधिका कारण दिइएको हो भने त झन् यसको जानकारी दिनै पर्छ । यस मामिलामा कन्जर्भेटिभ पार्टीका प्रवक्ताले संसदीय नियमको स्पष्ट उल्लंघनमाथि पूरै छानबिनको माग गरेका छन् ।

प्रधानमन्त्री पत्नीले पाएकी थिइन् कयौँ उपहार

संसदको वेबसाइटमा सूचीकृत प्रधानमन्त्रीको पंजीकृत जानकारीका अनुसार लर्ड एलीले भिकटोरियालाई कयौँ जोडी चस्मा, कपडा र हप्तौंसम्म बस्न सुविधा लगायतका उपहारमा दिएका छन् । यसमा प्रधानमन्त्री स्टार्मरले पत्नीले पाएको महँगो कपडाबारे उल्लेख गरेका थिएनन् । एली बेलायती मिडिया व्यवसायी र अनलाइन फेशन रिटेलर असोसका पूर्व अध्यक्ष हुन् । औपचारिक सरकारी भूमिका नभएपनि एलीलाई बेलायतको प्रधानमन्त्री निवास डाउन स्ट्रिटमा अस्थायी सुरक्षा पास दिइएको भन्ने खबर सुन्नमा आएको थियो । एलीले अहिले लेबर पार्टीका लागि चन्दा उठाउने अभियानको जिम्मा लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप