बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

पोस्टबहादुर बोगटीलाई माओवादी नेताहरूले कसरी सम्झिए ?

आइतबार, ३० भदौ २०८१, १६ : ००
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका दिवङ्गत नेता पोस्टबहादुर बोगटीको १० औँ स्मृति दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम भएका छन् । पार्टीभित्र समन्वयकारी तथा निष्ठावान् नेताका छवि बनाएका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट ६१ वर्षको उमेरमा निधन भएको थियो ।  

२०१० साल नुवाकोटको तुप्चेमा जन्मिएका उनी चरम गरिबीसँग सङ्घर्ष गरेर माथिल्लो पदमा पुगेका नेता हुन् । उनका दुई छोरी र एक छोरा रहेकोमा ०५९ असार ७ गते सेनाको गोली लागेर छोरा रविको निधन भएको थियो ।

माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियामा आउँदा समेत पार्टीभित्र अन्तसंघर्ष चर्केको बेला उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बोगटी राजनीतिमा लागेको तीन वर्षपछि अर्थात् ०३७ सालमा पुष्पलाल समुह छाडेर नेकपा चौममा आबद्ध भएका थिए । ०४२ सालमा प्रचण्डको सम्पर्कमा आएका उनी ०४८ सालमा भएको नेकपा एकता केन्द्रको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए । पार्टीको नीति, सिद्धान्तमा रहेर निरन्तर काम गरेका बोगटीले माओवादी जनयुद्धकालमा पश्चिम कमान्डका इन्चार्ज भएर काम गरेका थिए ।

बोगटी पार्टीभित्र निष्ठा, इमानदार, सरल र मिजास नेताका रूपमा चिनिन्थे । ०६४ सालको निर्वाचनमा उनी नुवाकोटको साबिक ३ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । उनले पर्यटन र उर्जामन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए  । ०६९ सालमा भएको हेटौँडामा भएको सातौँ महाधिवेशनबाट उनी महासचिव भएका थिए ।  

बोगटीको स्मृतिमा काठमाडौँमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले उनको योगदानको चर्चा गरेका छन् । प्रस्तुत छ, बोगटीबारे श्रेष्ठ र पुनले अभिव्यक्त गरेका विचारको सम्पादित अंश ः

पोस्टबहादुर बोगटी सिद्धान्त निष्ठा र समन्वयकारी नेता हुनुहुन्थ्यो : नारायणकाजी श्रेष्ठ

जुन उद्देश्यले आफ्नो जीवनको सम्पूर्ण समय पोष्टबहादुर बोगटीले समर्पित गर्नुभयो– त्यो उद्देश्य प्राप्तिको दिशामा जति उपलब्धि हासिल भएका छन्, त्यो उपलब्धि र बाँकी कार्यभार पुरा गर्न गम्भीर प्रतिबद्धता र सङ्कल्प व्यक्त गर्दछौँ ।

उहाँ क्रान्तिप्रति निष्ठावान्, सङ्घर्षमा निरन्तर समर्पित, अत्यन्तै स्वच्छ, सरल, मिलनसार, मितव्ययी र समन्वयनकारी भूमिकाका कमरेड हुनुहुन्थ्यो । उहाँलाई वामपन्थी र लोकतान्त्रिक आन्दोलनले मात्रै होइन कसैले पनि औँला ठड्याउन सक्दैनथ्यो । नेपालको क्रान्तिकारी आन्दोलन, सामाजिक आर्थिक रूपान्तरण आन्दोलन, लोकतान्त्रिक रूपान्तरणमा खेल्नुभएका भूमिका सबैले उच्च  मूल्याङ्कन गर्नुपर्छ ।  इतिहासमा सबैले मूल्याङ्कन गर्नेछन् भन्नेमा हामी विश्वस्त छौँ । उहाँमा जुन प्रकारको सदाचार, क्रान्ति निष्ठा, सिद्धान्त निष्ठा र निरन्तरता जुन छ, आजको कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको अवस्थामा आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँका यी विशेषताबाट हामीले सिक्नुपर्छ र प्रेरणा लिनुपर्छ । आज उहाँको अभाव झन् खड्किएको छ तर त्यो अभाव उहाँको  भौतिक स्थितिबाट पुरा गर्न सकिँदैन । त्यसकारण हामी सबैले उहाँबाट प्रेरणा लिएर त्यो अभाव पुरा गर्नुपर्छ । बोगटीले लिएका उद्देश्य पुरा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा आजका कार्यभार पुरा गर्न सकिन्छ । यति भए भने मात्र उहाँलाई सम्मान गरेको ठहरिन्छ ।

उहाँ इन्चार्ज मात्र हैन हाम्रा अभिभावक थिए : वर्षमान पुन

कमरेड पोस्टबहादुर बोगटीसँग पार्टीमा सबै कामहरू टिमबद्ध र पारदर्शी ढङ्गले काम गरेका अनुभवहरू मसँग छन् । खास गरी जनयुद्धको क्रममा हामी उहाँलाई एउटा इन्चार्ज भन्दा अभिभावकाका रूपमा लिएका थियौँ । माओवादी आन्दोलन त्यसै भएको होइन । आज केही मानिसले हिंसा भनिरहेका छन् । यसलाई दुत्कार्ने र कमजोर पार्ने कोसिस गरिराखेका छन् । जनयुद्ध र जनआन्दोलनका उपलब्धिबाट आएका सबै सुविधा र प्रतिष्ठाहरू लिएर आफ्नो जस्तो ठान्ने तर त्यो आन्दोलनलाई अस्वीकार गर्ने देख्न पाइराखेका छौँ । सामान्य राजनीतिक संस्कार पनि नराखेर जनयुद्ध र त्यसको जनआन्दोलनलाई अस्वीकार गर्ने प्रवृत्ति बढिराखेको छ । जनताको बलिदानबाट निर्मित संस्थाहरूमाथि प्रहार गर्ने निर्लज्ज कामहरू भइराखेको छ । यतिखेर पोस्टबहादुर बोगटी जस्ता  योद्धाहरूलाई स्मरण गर्ने र आन्दोलनका उपलब्धिहरू बलियो बनाउने  हाम्रो जिम्मेवारी भएको छ ।

निश्चयपनि हामीमाथि पनि केही प्रश्न उठेका छन् । तिमीहरुले के गर्‍यौ ? हामीले जनताको अधिकारको संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्‍यौँ । संविधान कार्यान्वयनमा भूमिका खेल्यो । सुशासनको पक्षमा काम गर्दा सरकार ढालियो ।

जनताको एजेण्डा उठाउँदा १० औँ हजार साथीहरूले जीवन बलिदान गरेका छन् । आज उहाँ जस्ता सादगी र तल्ला तहका जनता, किसान, मजदुरहरूले आफ्नो नेता ठान्ने जनप्रिया नेताको स्मृतिमा हामीले प्रतिबद्धता व्यक्त र स्मरण गरिराख्दा सङ्घीय गणतन्त्रलाई अझै स्थापित गर्नुपर्ने छ । उहाँको विचारलाई लिएर समाजवादी क्रान्तिको नेतृत्व गर्दै अझै दहेसँग उभिनुपर्ने  हाम्रो जिम्मेवारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप