शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

बिहान बिहान चिया कफीको सट्टामा पिउनुस् यी ५ पेय पदार्थ

आइतबार, ३० भदौ २०८१, १२ : ४७
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । धेरै मानिसहरू दिनको सुरुआत ताजा र ऊर्जावान् पेय पदार्थसँग गर्छन् । बिहान उठ्ने बित्तिकै कयौँले चिया वा कफी पिउँछन् । कतिपयलाई चिया कफी खान नपाए दिनको सुरुआत नै राम्रो हुँदैन । तर बिहान खाली पेटमा कफी पिउनु धेरै कारणले हानिकारक हुन सक्छ । 

खाली पेटमा कफी पिउँदा पेटमा एसिड बढ्छ । यसले एसिड रिफ्लक्स, अपच, एसिडिटी, निद्राको कमी, क्याफिनको लत वा बेचैनी जस्ता समस्या गराउन सक्छ । क्याफिनले कोर्टिसोल (तनाव हार्माेन) बढाउन सक्छ । यसले चिन्ता, हर्ट रेट बढाउँछ भने ध्यान केन्द्रित गर्न पनि कठिनाइ हुन सक्छ ।

यसको सट्टामा केही स्वास्थ्यकर पेय पदार्थ पिउन सकिन्छ । तपाईँ कफी छोड्न खोज्दै हुनुहुन्छ वा यसको विकल्प खोज्दै हुनुहुन्छ भने बिहान ऊर्जावान् रहन यी पेयहरू उत्कृष्ट विकल्प हुन सक्छन् :

ग्रिन टी

ग्री टी हरियो चिया क्याफिनको हल्का स्रोत हो । तर यो कफी जत्तिकै भारी हुँदैन । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरमा भएका टक्सिनहरूलाई बाहिर निकाल्न सहयोग गर्छ । तौल घटाउन पनि यो सहयोगी साबित हुन्छ । बिहान एक कप ग्रीन टी पिउँदा दिनभर ताजापन र हलुका महसुस भइरहन्छ ।

कागती पानी

बिहान मनतातो पानीमा कागती मिसाएर पिउनु शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई हाइड्रेट त गर्छ नै मेटाबोलिज्मलाई पनि गति दिन्छ । यसबाहेक कागतीमा पाइने भिटामिन सीले शरीरलाई ऊर्जा र ताजगी प्रदान गर्न मद्दत गर्छ । यसले पाचन क्रियालाई पनि सुधार गर्छ र शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ ।

दूध बेसार

दूधमा बेसार मिसाएर पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । बेसारमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरमा फुलेको वा सुन्निएको कम गर्न मद्दत गर्छ । बिहान बेसार दूध पिउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । दिनभर ऊर्जावान् महसुस हुन्छ । यसबाहेक पनि यो पेय छालामा निखार ल्याउन र मांसपेशीको थकान हटाउन उपयोगी छ ।

नरिवल पानी

नरिवलको पानी प्राकृतिक अनि कम क्यालोरी भएको पेय हो । यसले शरीरलाई स्फूर्ति त दिन्छ नै आवश्यक पानीको मात्रा पनि कायम राख्न मद्दत गर्छ । बिहान नरिवलको पानी पिउनाले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम हुन्छ र तुरुन्त ऊर्जा दिन्छ । यसमा पोटासियम र अन्य खनिजहरू पनि पाइन्छ, जसले दिनको राम्रो सुरुवात गर्न तपाईँलाई मद्दत गर्छ ।

हर्बल चिया

हर्बल चिया धेरै प्रकारका जडीबुटीहरूबाट बनाइएको हुन्छ ।  यसमा पुदिना, क्यामोमाइल, अदुवा, तुलसी आदि पनि हुन्छन् । यो क्याफिन मुक्त हुन्छ । यसको सेवनले शरीरलाई शान्ति र ताजापन प्रदान मिल्छ । बिहान अदुवा वा तुलसीको साथमा हर्बल चिया पिउँदा पाचन सुधार हुन्छ । शरीरले आवश्यक एन्टिअक्सिडेन्टहरू पनि पाउँछ । यसले मानसिक तनाव कम गर्न र दिनको सुरुवात राम्रोसँग गर्न मद्दत गर्छ ।

तपाईं कफी सेवनबाट ब्रेक लिन चाहनुहुन्छ वा केहि नयाँ पेय ट्राई गर्न चाहनुहुन्छ भने, यी छ पेयहरू तपाईंको लागि उत्कृष्ट विकल्प हुन सक्छन् । यी पेयले तपाईँको स्वास्थ्यमा सुधार त गर्छ नै दिनभर तपाईँलाई ऊर्जावान् पनि राख्छ । आफ्नो स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै, यी मध्ये कुनै एकलाई तपाईंको बिहानको दिनचर्याको हिस्सा बनाउन सक्नु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप