नारायणी नदी पारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदी पारिको सुस्ता बस्तीमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुर्याएको छ ।
नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ता बस्तीमा विद्युत् पुर्याइएको हो ।
प्राधिकरणले ११ केभीलाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सिमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युत्सँग जोडिएको छ । सुस्ता बस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मत सम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन ।
सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुईवटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ । अब त्यहाँबाट उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन सुरु गरिनेछ । सुस्ता बस्तीमा करिब ३ सय ५० घरधुरी छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए ।
‘सुस्ता बस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भएतापनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सिमाना जोडिएको सुस्ता बस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाट समेत महत्त्वपूर्ण छ’, कार्यकारी निर्देशक घिसिङले भने ।‘चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सिमानाका वस्तिहरू पनि छिट्टै विद्युतीकरण हुँदै छन् ।’
१ करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ता बस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९÷०८०मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो ।
प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती बस्तीको विद्युतीकरण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?