नेपाल चिनाउने चिनियाँ फोटोग्राफर
केही वर्ष अघिसम्म अधिकांश चिनियाँलाई आफ्नो छिमेकमा नेपाल देश छ भन्ने समेत थाहा थिएन । हालका वर्षमा भने आमचिनियाँ मुख्यतः सामाजिक सञ्जाल एवं अन्य माध्यमबाट कुनै एउटा सुन्दर फोटो हेर्छन् र यो फोटो नेपालको हो भन्ने थाहा पाएपछि आफ्नो सर्च इन्जिनमा ‘निपोर’ सर्च गर्न थाल्छन् । आमचिनियाँलाई ‘निपोर’ सर्च गर्नेसम्म पुर्याउन ठुलो भूमिका छ, फोटोग्राफर सु स्वएको ।
सन् २००८ मा पहिलोपटक नेपाल आउँदा उनी विज्ञापन एजेन्सीमा हाकिम थिए । तर, त्यसपछिका वर्षहरू पहिलेजस्तै रहेनन् । नेपाल भ्रमणपछि उनको परिचय फेरियो— उनी फोटोग्राफर भए । चीनमा नेपाललाई निपोर भन्ने गरिन्छ । त्यही निपोरलाई फोटोका माध्यमबाट चिनियाँमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका सु गोकर्णको कुसेऔँशीमा गरिने पारम्परिक अनुष्ठानको फोटो खिच्न नेपाल आएका थिए ।
हातमा क्यामेरा र नजरमा ‘फ्रेमिङ कन्सेप्ट’ बोकेर हिँडेका सुको हालसम्म ‘नमस्ते नेपाल’ तथा ‘टेल्स अफ काठमाडौँ’ (चेङ हुएनसँगको सहकार्यमा) फोटो पुस्तक प्रकाशित छन् । उनै सुसँग नेपाल र फोटोग्राफी अनुभवबारे नरेश ज्ञवालीले गरेको कुराकानी ।
- तपाईंले नेपालसम्बन्धी धेरैवटा फोटो खिच्नुभयो, धेरै चिनियाँले तपाईंकै फोटो हेरेर नेपाल चिन्ने मौका पाएँ । नेपाललाई ‘थिम’ बनाएर तपाईं कहिलेदेखि फोटोग्राफी गर्दै हुनुहुन्छ ?
म सन् २००८ मा पहिलोपटक नेपाल आएको थिए । आफ्नो नियमित कामबाट थकित भएर पुनर्ताजगीका लागि नेपाल घुम्न आएको थिएँ । त्यतिबेलासम्म मलाई कसैले फोटोग्राफरका रूपमा चिन्थेनन् । तिनताका मेरो परिचय पनि त्यो थिएन । त्यतिबेला एउटा ठिकैको विज्ञापन कम्पनीमा हाकिमका रूपमा जागिर गर्थें । पहिलोपटक नेपालमा पाइला टेक्दै गर्दा, यसले मेरो जीवनलाई नै नयाँ मोड दिँदै छ भन्नेबारे पनि म अनभिज्ञ थिएँ ।
अन्य पर्यटकसरि म पनि नेपालका पर्यटकीय स्थलमा गएँ, तर जब मैले यहाँका आममानिससँग अन्तक्रिया गरेँ, यहाँको प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार हुन पाएँ, मेरो जीवन नयाँ गोरेटोमा डोरिन थाल्यो । आजको चिनियाँ समाज प्रतिस्पर्धामा विश्वास गर्ने समाज हो । त्यहाँ निकै प्रतिस्पर्धा छ । तपाईं जेसुकै काम गर्नुस्, तपाईंलाई कामको निकै दबाब हुन्छ । त्यसमा पनि म कम्पनीको हाकिम थिएँ भनेपछि त्यसको दबाब झनै ठुलो हुने नै भयो ।
अब धेरै समय यो धर्तीमा रहँदिनँ होला, तर जति समय रहन्छु, नेपाललाई संसारभर चिनाउन सकौँ भन्ने सोच छ । नेपालको फोटो खिचेर चीन र विश्वमा थप चिनाउन सके मेरा लागि जीवनकै महत्त्वपूर्ण काम हुने थियो ।
नेपाल त्यस्तो खाले प्रतिस्पर्धादेखि धेरै पर थियो । यहाँका मानिस जीवनको वास्तविक आनन्दमा बाँचिरहेको पाएँ । यहाँका नागरिकको अर्को विशेषता उनीहरूको साधापन हो । सबैलाई स्विकार्न सक्ने, स्वागत गर्न सक्ने र आत्मीयता बाँड्न सक्ने समाज संसारमा निकै थोरै छन् । त्यसैले यहाँको समाजले मलाई आफुसँगै डोर्यायो । त्यसपछि सन् २००९ देखि म नियमित नेपाल आउन थालेँ ।
जुन समाज र देशले तपाईंलाई जीवनभर नपाएको सन्तुष्टि दियो, त्यस समाज र देशप्रति मेरा पनि केही दायित्व थिए । त्यसपछि म नेपाललाई चीनमा चिनाउँछु भन्नेतर्फ लागेँ । किनभने मेरा धेरै साथीभाइलाई नै नेपालबारे थाहा थिएन । नेपालबारे भन्दा उनीहरू छक्क पर्थे । त्यसपछि मलाई लाग्यो, मेरा साथीभाइ जस्तै अन्य चिनियाँलाई पनि त नेपालबारे थाहा पाउँदा खुसी लाग्छ होला । अनि म फोटोग्राफी गर्न थालेँ । आजका दिन पनि मलाई धेरै चिनियाँ साथीहरूले तपाईंको फोटो हेरेर हामीले नेपालबारे थाहा पायौँ भनेर भन्नुहुन्छ । उहाँहरूले त्यसो भन्दा मलाई सम्मान महसुस हुन्छ । त्यसपछि त एकपछि अर्को गरी नेपाल भ्रमण बाक्लिन थाल्यो ।
- नेपाल आउनुअघि तपाईंको कामको प्रकृति कस्तो थियो र त्यसअघि फोटोग्राफीमा रुचि थियो कि थिएन ?
नेपाल आउनुअघि म सान्तोङ राज्यको पिन्चो सहरमा विज्ञापन कम्पनीमा काम गर्थें । म त्यसको प्रमुख थिएँ । एउटा विज्ञापन एजेन्सीमा जति काम हुन्छ, त्यो सबै मेरो कामको दायरामा पथ्र्यो । त्यससँगै कार्यालयको प्रगतिका लागि खाका कोर्ने तथा आफू मातहत रहेका कर्मचारीलाई सन्तुष्ट गराउनु पनि मेरो दायित्व भित्र पथ्र्यो । त्यति बेलासम्म फोटोग्राफी मेरो प्रोफेसन हुन सक्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ । फोटोग्राफीमा रुचि भने सानैदेखि थियो ।
- तपाईंको जीवनको लय नै परिवर्तन हुने पहिलो नेपाल भ्रमणमा त्यस्तो के भयो ? त्यसबारे केही बताउनुस् न !
सन् २००८ अघि म आफ्नो जीवन चलाउन सामान्य काम गरिरहेको थिएँ । त्यो कामबाट राम्रै आर्थिक उपार्जन भइरहेको थियो । मेरो परिवार मबाट सन्तुष्ट थियो । तर, म सन्तुष्ट हुन सकिरहेको थिइनँ । जब नेपाल आएँ, त्यसले मलाई आत्मैदेखि हल्लाइदियो । मानिस सत्ता, शक्ति, पैसाको पछि किन कुद्छ भन्नेजस्ता भाव मेरो मनमा पैदा हुन थाल्यो । जब भएको जम्मा एउटा जीवन पनि आत्मसन्तुष्टि साथ बाँच्न गाह्रो हुन्छ, हामीले नयाँ बाटो खोज्नैपर्छ ।
जुन समाज र देशले तपाईंलाई जीवनभर नपाएको सन्तुष्टि दियो, त्यस समाज र देशप्रति मेरा पनि केही दायित्व थिए । त्यसपछि म नेपाललाई चीनमा चिनाउँछु भन्नेतर्फ लागेँ ।
नेपाल आफैँमा अद्भुत सुन्दरताले भरिएको ठाउँ हो । यहाँका गल्लीमा सुन्दरता लुकेको छ । यहाँका पहाड–छहराहरूमा सुन्दरता लुकेको छ । यहाँका मानिसमा सुन्दरता लुकेको छ । यहाँको संस्कृति र जीवन परम्परा नै अद्भुत सुन्दर लाग्छ मलाई । त्यसैले मैले पुरानो पेसा छाडेँ र नेपालको सुन्दरतालाई आफ्नो फ्रेममा कैद गर्न थालेँ । यसबिच के भयो भने मैले खिचेको फोटोले चीनको एउटा तप्कामा हलचल ल्याइदियो ।
नेपालसँग अपरिचित चिनियाँहरू नेपालतर्फ आकर्षित हुन थाले । त्यसपछि मैले नेपालको संस्कृति, दैनिक जीवन र प्रकृतिलाई केन्द्रमा राखेर खिचेको फोटोलाई विभिन्न प्रतिस्पर्धाहरूमा लैजान थाले । परिणाम स्वरूप मैले खिचेका फोटोहरूले सम्मान र पुरस्कार पाउन थाले । नेपालमा गरेको फोटोग्राफीले, नेपाललाई फ्रेमिङ गरिएको तस्बिरले चीनमा स्थान पाउन थाल्यो । त्यसपछि मानिसहरूले मलाई चिन्न थाले । सम्मान गर्न थाले । यो सबै मेरो नेपाल भ्रमणको परिणाम थियो, यो सबैमा नेपाल थियो ।
- चीनमा आयोजना हुने कस्ता फोटोग्राफी प्रतिस्पर्धाहरूमा भाग लिनुभयो र त्यसको परिणाम कस्तो रह्यो ?
सन् २०११ मा चीनमा आयोजना हुने डिजिटल फोटोग्राफी प्रतिस्पर्धामा भाग लिन पाएको थिएँ, त्यसमा तेस्रो भएँ । खोलामा पौडी खेल्न हामफाल्दै गरेका केटाकेटीको फोटो थियो त्यो । सन् २०१५ मा चीनको प्रचार तथा संस्कृति मन्त्रालयले आयोजना गरेको ‘फोर्थ सिल्क रोड इन्टरनेसनल फोटोग्राफी आर्ट फेस्टिबल’मा स्पेसल अवार्ड पाएँ । त्यो लुम्बिनीको फोटो थियो । ‘चिनान फोटोग्राफी इन्टरनेसनल’मा मैले खिचेको नेपालको फोटोले दोस्रो पुरस्कार हात पारेको थियो ।
यसका साथै साङघाईमा नेपालले ‘वल्र्ड एक्स्पो’ आयोजना गरेको थियो । त्यसमा पनि स्पेसल अवार्ड पाएको थिएँ । त्यसो त त्यस आयोजनाको सबै फोटो खिच्न आयोजकले मलाई नै हस्ताक्षर गरेका थिए । त्यहाँ विश्वभरका धेरै प्रतिस्पर्धी थिए । यी केही ठुला प्रतिस्पर्धा हुन् । त्यसबाहेक अन्य धेरै ठाउँमा मैले नेपालकै फोटो खिचेर सम्मान पाएको छु, (हाँस्दै) तर त्यसबारे धेरै ख्याल छैन ।
नेपाल आफैँमा अद्भुत सुन्दरताले भरिएको देश हो । यहाँका गल्लीहरूमा सुन्दरता लुकेको छ । यहाँका पहाड–छहरामा सुन्दरता लुकेको छ । यहाँका मानिसमा सुन्दरता लुकेको छ । यहाँको संस्कृति र जीवन परम्परा नै अद्भुत सुन्दर लाग्छ मलाई ।
फोटोग्राफीको संसार कस्तो हुन्छ भने कहिलेकाहीँ तपाईंले खिचेको एउटा फोटो मात्रले पनि तपाईंलाई विश्वभर प्रसिद्ध बनाइदिन्छ । कहिले तपाईंले धेरैभन्दा धेरै फोटो खिच्दा पनि त्यसले खासै प्रभाव पार्न सकेको हुँदैन । मेरो हकमा के भयो भने, मैले जति पनि नेपालसँग सम्बन्धित फोटो खिचेँ, त्यस्ता फोटोहरू चीनमा त्यसअघि प्रकाशित भएका थिएनन् । त्यसकारण मेरा फोटाहरूले स्थान पाए ।
उदाहरणका लागि चीनका दुई सयभन्दा धेरै पत्रिकामा तीन हजारभन्दा धेरैपटक नेपालसम्बन्धी मेरा फोटा प्रकाशित भए । चीनका जति पनि प्रसिद्ध पत्रिकाहरू छन्, तिनीहरूले मसँग मागेरै ती फोटोलाई प्राथमिकताका साथ प्रकाशित गरे । मुख्यतः चाइना नेसनल जिओग्राफी, चाइना टुरिजम न्युज, चाइना फोटोग्राफी डेली, चाइना फोटोग्राफी एसोसिएसनका विभिन्न पत्रिका, चाइना पिपुल्स डेली, सिन्ह्वालगायत धेरै ठाउँमा मैले खिचेका फोटोले प्राथमिकता पाए । यसका साथै मैले एयरलाइन्स फोटोग्राफी गर्ने मौका पाएँ । नेपाल–चीन उडान हुने एयरलाइन्स कम्पनीहरूमा तपाईंले देख्ने अधिकांश फोटो मैले नै खिचेका छन् ।
मायादेवी मन्दिरनजिकै एउटा सानो बालकले बलिरहेको मैन लिएर ढोगिरहेको थियो । त्यो फोटो लिन मैले तत्क्षण क्लिक गरेँ र त्यो क्षणलाई क्यामेरामा कैद गरेँ, तर त्यसले मेरो जीवनको लय नै फेरिदियो ।
- नेपालमा खिचेको त्यस्तो कुन फोटो हो, जसले आजपर्यन्त तपाईंलाई भावुक बनाइदिन्छ ?
त्यति बेला म लुम्बिनी भ्रमणमा थिएँ, मायादेवी मन्दिरनजिकै एउटा सानो बालकले बलिरहेको मैन लिएर ढोगिरहेको थियो । त्यो फोटो खिच्न मैले फ्रेमिङ गर्दागर्दै मेरो मनमा धेरै भावहरू आए । फोटो लिने बेला आकाशमा बादल मडारिरहेका थिए । त्यो सानो बालक देखेर खासमा मैले आफु नै त्यो बालक भएको महसुस गरेँ । म केका लागि दौडभाग गर्दै छु ? म कुन शक्तिका लागि मरिहत्ते गरिरहेको छु ? आदि भावहरू मेरो मनमा आए ।
मैले तत्क्षण क्लिक गरेँ । र, त्यो समय अनि क्षणलाई आफ्नो क्यामेरामा कैद गरेँ । त्यो सबै यति छिटो घटित भयो मानौँ, त्यसैका लागि म त्यहाँ पुगेको थिएँ । अहिले यहाँ तपाईंसँग त्यस क्षणको व्याख्या गर्दा म त्यो भाव तपाईंलाई सम्प्रेषित गर्न सकिरहेको छैन । मेरो मनभित्र कतै एउटा अनौठो ध्वनि गुन्जिएको म आज पनि महसुस गर्छु, तर त्यो ध्वनिलाई तपाईंसम्म शब्दमा पुर्याउन म आजसम्म असमर्थ छु । वास्तवमा मैले त्यही एउटा क्लिकबाट जीवनको उद्देश्य फेला पारेँ र त्यहीँबाट मेरो जीवनको लय फेरियो ।
चीनका दुई सयभन्दा धेरै पत्रिकामा तीन हजारभन्दा धेरैपटक नेपालसम्बन्धी मेरा फोटा प्रकाशित भए । चीनका जति पनि प्रसिद्ध पत्रिका छन्, तिनीहरूले मसँग मागेरै ती फोटोलाई प्राथमिकताका साथ प्रकाशित गरे ।
त्यतिबेला म राम्रो कमाइ गरिरहेको थिएँ । पैसाको कुनै कमी थिएन, तर म दुःखी थिएँ । मैले जीवनभर गरिरहेको कामले मलाई सन्तुष्टि दिइरहेको थिएन । त्यो एउटा क्लिकले आजसम्म मलाई जति सन्तुष्टि दिएको छ । अन्य कुराले सायदै मलाई त्यति सन्तुष्टि दिए होलान् । पछि त्यही फोटो ‘फोर्थ सिल्क रोड इन्टरनेसनल फोटोग्राफी आर्ट फेस्टिभल’ मा स्पेसल अवार्डका लागि छनोट भयो । त्यो फोटो हेर्दा आज पनि म भावुक हुन्छु । मलाई लाग्छ, जुन कुनै विधामा काम गर्ने सर्जक आफ्नै सिर्जना देखेर भावुक हुन्छन् होला ।
(लामो हाँसो) यस्तै छ ।
- फोटोग्राफीका लागि नेपालको कुन कुन ठाउँ पुग्नुभयो ?
पहिले म अन्य पर्यटकसरि नेपालका पर्यटकीय स्थल नै पुगेँ— लुम्बिनी, पोखरा, चितवन, बर्दिया लगायत ठाउँ । त्यसपछि फोटोग्राफीका लागि जनकपुर, माथिल्लो मुस्ताङ, बर्दिया र काठमाडौँ उपत्यकाका लुकेका ठाउँहरू चहार्न थालेँ । यसमा एउटा उल्लेखनीय कुरा के छ भने पहिले चिनियाँ पर्यटकहरू जनकपुर जाँदैनथे । किनभने उनीहरूको रुचि त्यतातर्फ थिएन । जब मैले जनकपुरको फोटोग्राफी गरेँ र ती फोटोहरू विभिन्न पत्र–पत्रिकामा प्रकाशित हुन थाले, त्यसपछि चिनियाँ पर्यटक त्यहाँ जान थालेका छन् ।
जनकपुरमा हुने विविध चाडपर्वलाई हेर्ने र महसुस गर्ने रुचि चिनियाँ पर्यटकमा बढ्न थालेको छ । चीनको एउटा विशेषता के हो भने चीनमा कुनै पनि ठाउँहरू, पर्वहरू, देशहरूको आफ्नै चिनियाँ नाम हुने गर्छन् । भन्न खोजेको के भने तपाईंको देशको नाम नेपाल हो तर चिनियाँहरू नेपाललाई नेपाल भनेर चिन्दैनन्, उनीहरू ‘निपोर’ भनेर चिन्छन् । त्यस्तै यहाँका पर्वहरू, यहाँका सांस्कृतिक झाँकीहरूको पनि त्यहाँ छुट्टै नाम हुने गर्छ । फोटोग्राफी गर्दै जाँदा मैले नेपालका त्यस्ता कैयौँ पर्व, ठाउँ तथा झाँकीहरूको चिनियाँ नाम राख्नुपर्ने भयो ।
यसले गर्दा नेपालका विविध चाडपर्व तथा सांस्कृतिक विशेषतासँग चिनियाँ जनता अवगत हुन पाए । जस्तै : मैले भोटेजात्राको चिनियाँ नाम ‘पानीको देउता’ भनेर राखेको छु । भोटेजात्राको त्यो फोटो पनि त्यहाँ निकै रुचाइयो । अहिले मलाई धेरै चिनियाँ साथीहरूले नेपाललाई थप उजागर गर्नुपर्यो भनेर भनिरहेका हुन्छन् । उनीहरू नेपाली जनतासँग जोडिन चाहन्छन् । आफ्ना अनुभव साटासाट गर्न चाहन्छन्, त्यसैले यसमा थप काम गर्नुपर्नेछ ।
- तपाईं कस्तो फोटोग्राफीमा बढी रुचि राख्नुहुन्छ ?
म आफ्नो फोटोग्राफीमा नेपाली जीवन, व्यक्ति, यहाँको परम्परा र प्राकृतिक सौन्दर्यतालाई बढी महत्व दिने गर्छु । कुनै पनि फोटो क्लिक गर्दा तपाईं कस्तो भावमा हुनुहुन्छ ? तपाईं कुन उद्देश्यले त्यसको फ्रेमिङ गर्दै हुनुहुन्छ ? फोटो क्लिक गरिसकेपछि त्यसलाई तपाईं के गर्नुहुन्छ ? लगायत कुराले तपाईंको फोटो कस्तो खिचिन्छ भन्ने तय हुन्छ ।
मैले कहिल्यै स्वार्थबाट प्रेरित भएर क्यामेरा चलाइनँ । जति पनि अवसर आए, ती सबै फोटोले आफैँ सिर्जना गर्दै गएका हुन् । उदाहरणका लागि म अहिले ‘ए टुर’ नामको होटलसँग आबद्ध छु । चीनका झन्डै ६ करोड ३० लाख व्यक्ति त्यसका सदस्य छन् । मैले कुनै फोटो त्यहाँ पोस्ट गर्दा एकैपटक प्रत्यक्ष त्यति मानिससम्म त्यो पुग्छ । ती सबै फोटो नेपालकै हुने गर्छन् । भन्न खोजेको के भने तपाईं आफ्नो काममा इमानदार हुनुहुन्छ भने अवसर तपाईंको दैलोसम्म आइपुग्छ । हुवावेको केन्द्रीय कार्यालय रहेको नेपालको फोटो त्यसको उदाहरण हो ।
- फोटोग्राफीप्रति सानैदेखि रुचि हो वा यो रुचि पछि विकास भएको हो ?
वास्तवमा मलाई सानैदेखि फोटोग्राफीमा रुचि थियो, तर त्यो अंकुरित हुन सकिरहेको थिएन । मैले फोटोग्राफीमै आफ्नो जीवन बाँच्न सकेको थिइनँ । कक्षा ५ मा पढ्दा नै सानो क्यामेरा थियो मसँग, बाबाले किनिदिएको । मलाई जसरी पनि क्यामेरा चाहियो भनेर बाबालाई किन्न लगाएको थिएँ । पछि घर सर्दा त्यो क्यामेरा हरायो । अहिले म जे काम गर्दै छु, यसले मलाई सन्तुष्टि दिइरहेको छ ।
मेरो व्यक्तिगत कुरा गर्ने हो भने अब धेरै समय यो धर्र्तीमा रहँदिनँ होला, तर जति समय रहन्छु, नेपाललाई संसारभर चिनाउन सकौँ भन्ने सोच छ । नेपालको फोटो खिचेर चीन र विश्वमा थप चिनाउन सके मेरा लागि जीवनकै महत्त्वपूर्ण काम हुने थियो । मैले अहिलेसम्म गरेको काम चिनियाँ र अंग्रेजी भाषामै प्रकाशित भएका छन्, तर नेपालबारेको फोटो कलेक्सन अंग्रेजीमा प्रकाशित गर्ने सोच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना