बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
नमुना सहकारीमा नमुना ठगी

सहकारीका लेखापाल र सहलेखापालको मिलेमतोमा दुई करोड अपचलन

आइतबार, ३० भदौ २०८१, १२ : २५
आइतबार, ३० भदौ २०८१

विराटनगर । धनपालथान–४ कर्सिया बजारका हसन अन्सारीले १० वर्ष मलेसिया बसेर कमाएको पैसा स्थानीय नमुना सहकारी संस्था लिमिटेडमा बचत गरे । हाल कर्सिया बजारमै  कपडा पसल चलाएर बसिरहेका उनले आफूले बचत गरेको पैसा ६ वर्ष अघिदेखि मागिरहेका छन् । तर, उक्त नमुना सहकारी संस्थाले बचत गरेको पैसा फिर्ता दिन सकेको छैन ।

‘बचतमा १४–१५ लाख रुपैयाँ छ । फिर्ता माग्दा पनि दिँदैन,’ उनले भने । सहकारीमा आफ्नो बचत रकम माग्दा ‘मलाई दिएको छ ? जसलाई दिएको हो उसैसँग माग’ भनेपछि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको अन्सारीले बताए ।

निवेदनमाथि जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदा डेढ सय जना बचतकर्ता उपस्थित भएका थिए । ‘छलफलपछि अध्यक्ष मण्डलले ५ महिनामा चुक्ता गर्ने प्रतिबद्धता जनाएर कागज गरेका छन्,’ अन्सारीले भने । उनी देशभरका सहकारीको लाइसेन्स नै खारेज गर्नुपर्ने मत राख्छन् । ‘मेरो विचारमा सहकारीलाई लाइसेन्स नै दिनुहुँदैन सर । धेरै भ्रष्टाचार भइसक्यो,’ उनले भने ।

सोही ठाउँका प्रविणकुमार चौधरीले पनि औषधि पसल र क्लिनिक चलाएर बचेको पैसा त्यही नमुना सहकारीमा बचत गरे । सानै छँदादेखि देखेको–जानेको सहकारीमा विश्वास गरेर बचत गरेको पैसा उनले फिर्ता पाएका छैनन् ।

‘१० लाखभन्दा माथि छ मेरो पैसा, फिर्ता दिँदैनन्,’ चौधरीले भने, ‘म सानै हुँदादेखि नाम चलेको सहकारी हो । अरुले भन्दा राम्रो ब्याज दिएको कारण पैसा राखेको थिएँ ।’

अन्सारी र चौधरीजस्तै उक्त सहकारीमा बचत गरेका दर्जनौँ सर्वसाधरणको पैसा जोखिममा परेको छ । ३१ जना पीडितले त गत भदौ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फिर्ताको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

उक्त उजुरीमाथि छलफल हुँदा सहकारीका अध्यक्ष गुलावचन्द मण्डलले ५ महिनाभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष भन्छन्– सबैको पैसा फिर्ता दिन्छु

उक्त सहकारीका अध्यक्ष हुन् गुलावचन्द मण्डल । सोही ठाउँका मण्डलको व्यवहार सोझो र विश्वासिलो नै थियो । अहिले पनि बचतकर्ताको पैसा कसरी फिर्ता गराउन सकिन्छ भनेर उनी लागिरहेकै छन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । अहिले उनलाई सहकारीका लेखापाल सविलाल राजवंशी र सहलेखापाल राजकुमार राजवंशीको बदमासीले पिरोलेको छ ।

‘लेखापाल सविलाल राजवंशीले १ करोड ११ लाख र सहलेखापाल राजकुमार राजवंशीले ८२ लाख घोटाला गरेको थाहा भएपछि हामीले अदालतमा मुद्दा हालेका छौँ,’ अध्यक्ष मण्डलले भने, ‘समितिलाई जानकारी नै नदिइ अडिट गराउँथे । नाफा देखाउँथे । प्रतिकिलो ६० रुपैयाँमा धान बिक्री देखाएको छ । ४४ रुपैयाँ केजीले चामल बेचेको देखियो ।’

शङ्का लागेर अडिट गराउँदा उक्त विषय थाहा भएको र मुद्दामा गएको उनी बताउँछन् । राजवंशीद्वयलाई ठगी मुद्दा दर्ता गरिएको थियो । तर, ठगीको खारेज गरेर उक्त रकम बेरुजुमा राखिदिएको मण्डल बताउँछन् ।

‘७०–८० दिन अगाडि फैसला आयो । उक्त रकम बेरुजु ठहर ग¥यो । ठगी मुद्दा भने रद्द गरेको छ,’ उनले भने ।

उक्त सहकारीमा ५०५ जना सेयर सदस्य छन् । बचत रकम ४ करोड र सेयरपुँजी ५ लाख ५ हजार रुपैयाँ रहेको अध्यक्ष मण्डल बताउँछन् । सहकारीको जग्गा जमिन १५ कट्ठा जति छ । कर्सिया चोक बजारमै रहेको कारण उक्त जग्गाको मूल्य लगभग २० करोड रुपैयाँ बराबरको रहेको मण्डल दाबी गर्छन् ।

‘म सबैलाई भरोसा दिलाउन चाहन्छु, सबैको रकम तिरेरै जान्छु । अहिले पनि अडिट भइरहेको छ । म नियमित अफिस गइरहेको छु । २० औँ करोड सहकारीको सम्पत्ति छ । हामी बचतकर्ताको पैसा ५ महिनाको भाकामा दिन सक्छौँ,’ उनले भने ।

अहिले पनि सहकारी चलिरहेको भन्दै उनले सहकारीको भवनमै १२ वटा सटर भाडामा लागेको बताए । ‘त्यहाँबाट पनि आम्दानी भइरहेको छ । गरिबहरूलाई थोरैथोरै गर्दै पनि फिर्ता गर्दैछौँ,’ उनले भने ।

धनपालथान गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम चौधरीले पनि कर्मचारीले ठगी गरेको बताए । ‘अहिले पनि सहकारी चलिरहेको छ । कालोसूचीमा परेको छैन । बचतकर्ताको रकम फिर्ता गर्ने भनेर ५ महिनाको भाका राखिएको छ,’ चौधरीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप