शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

फुटबलर एलिसा भन्छिन्– ‘प्रेमी डगलसभन्दा मेरो पारिश्रमिक लाख गुना कम छ’

आइतबार, ३० भदौ २०८१, १२ : २१
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । एलिसा डेबोरा लेहम्यान स्विट्जरल्यान्डकी चर्चित महिला फुटबल खेलाडी हुन् । २५ वर्षीया एलिसा स्विट्जरल्यान्डको राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी पनि हुन् । उनी हाल इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्छिन् ।

अग्रपंक्तिकी यी प्रभावशाली खेलाडीले विश्व फुटबलमा पुरुष र महिला खेलाडीबिच सामान खेलबापत पाउने पारिश्रमिकमा निकै ठुलो अन्तर रहेको गुनासो गरेकी छन् । महिला खेलाडीहरू अझै पनि विभेदमा परिरहेको आरोप उनले लगाएकी छन् ।  

समान काम गरेबापत आफ्ना प्रेमी डगलस लुइजले पाउने पारिश्रमिकभन्दा आफ्नो पारिश्रमिक एक लाख गुना कम रहेको एलिसाको गुनासो छ । एलिसाका प्रेमी डगलस लुइज पनि चर्चित फुटबल खेलाडी हुन् ।

२६ वर्षीय ब्राजिलियन फुटबलर डगलस पनि हाल इटालियन सिरिए क्लब युभेन्ट्सबाटै व्यावसायिक फुटबल खेल्छन् । यसअघि एलिसा र उनका प्रेमी डगलस इङ्लिस क्लब एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्थे । यही सिजन उनीहरू युभेन्ट्समा आबद्ध भएका हुन् ।

‘हामी दुवै एउट क्लबबाट युभेन्ट्समा आबद्ध भएका हौँ । तर, एउटै क्लबमा मेरोभन्दा डगलसको पारिश्रमिक एक लाख गुना बढी छ,’ एलिसाले गुनासो गरेकी छन् । तर, उनले आफ्नो र डगलसले पाउने पारिश्रमिक भने खुलाएकी छैनन् ।

समाचारमा जनाइए अनुसार, युभेन्ट्सले मिडफिल्डर डगलसलाई एस्टन भिल्लाबाट पाँच करोड युरो पारिश्रमिकमा भित्राएको हो । एलिसालाई भने युभेन्ट्सले ५० हजार युरोमात्र पारिश्रमिक उपलब्ध गराएको छ ।

‘म स्टार खेलाडी होइन । म सामान्य मान्छे हुँ । नियमित अभ्यास वा खेलपछि अन्य महिलाजस्तै म पनि सिधै घर जान्छु, खाना पकाउँछु  र अरु काम पनि गर्छु । यसका लागि मैले डगलससँग कहिल्यै गुनासो गरिन । तर, पुरुष र महिला खेलाडीबिच पारिश्रमिकमा निकै ठुलो अन्तर हुनु विभेद हो,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेकी छन् ।

एलिसाले युभेन्ट्समा आबद्ध भएयता क्लबका लागि गोल पनि गरिसकेकी छन् । जारी सिजनको महिला लिगमा युभेन्ट्सले सासुओलोलाई ६–३ ले हराउँदा एलिसाले पनि गोल गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप