बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
उमा गौरी कृषि सहकारी ठगी प्रकरण

शम्भु रौनियार अध्यक्ष रहेको उमागौरीमा पोखरेल अघोषित सल्लाहकार !

सहकारीको कार्यक्षेत्र नै नपर्ने विराटनगरकी अञ्जला कोइराला सञ्चालक समिति सदस्य कसरी बनिन् ?
आइतबार, ३० भदौ २०८१, १२ : १०
आइतबार, ३० भदौ २०८१

विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारका खुस्बु खातुनका श्रीमान् सेराज अन्सारी कुखुराको अण्डा तथा मासु विक्रेता हुन् । २०७८ साल मंसिरमा उनलाई उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले सेयर सदस्य बनेको खण्डमा विनाधितो ऋण दिने बताए ।

अन्सारीले ५ लाख ऋण मागे । तर, रौनियारले विनाधितो २ लाख पाउने भने । त्यसमा सहमति जनाएर अन्सारीले महिला उद्यमी कार्यक्रम मार्फत आफ्नी श्रीमती खुस्बु खातुनलाई कागजातमा हस्ताक्षर गर्न उमा गौरी सहकारीको कार्यालय पठाए । कागजपत्रमा हस्ताक्षर गरेको केही दिनपछि अन्सारीले २ लाख रुपैयाँ ऋण पाए ।

अन्सारीले प्रत्येक महिना १० हजारको दरले ऋणको किस्ता तिर्दै गए । तर, ५-६ महिनापछि नबिल बैंकबाट उनलाई फोन आयो– तपाईंको ऋणको किस्ता आएको छैन । अब सोझै बैंकमा किस्ता तिर्नु ।

तर, अन्सारीले जहाँबाट ऋण लिएको हो, त्यहँ किस्ता बुझाउने भन्दै सहकारीमै नियमित रूपमा किस्ता बुझाए । उनले सेयर सदस्य बन्न २० हजार पहिले नै तिरेका थिए । ‘मैले १ लाख ६० हजार रुपैया तिरेँ । सेयर रकम २० हजार तिरेकै थिएँ । त्यो कटाउँदा मैले २० हजार र केही ब्याज दिनुपर्ने थियो । तर, बैंकले फेरि ताकेता ग¥यो । पछि बैंकमा गएर बुझ्दा मेरो नाममा ९ लाख ९० हजार ऋण लिएको देखियो,’ उनले भने ।

उनले बैंकको स्टेटमेन्ट मगाएर हेर्दा ९ लाख ९० हजार रुपैयाँको चेक भजाएको देखियो । सहकारीले भने उनलाई बचत तथा ऋण पासबुकमा २ लाख लिएको भनेर दिएको छ । त्यसपछि उनले सहकारीका अध्यक्ष शम्भु रौनियारलाई गएर भने, ‘मलाई २ लाख दिएर १० लाख किन लिएको ?’ जवाफमा रौनियारले भने, ‘हामीले चलायौँ । म मिलाइ हाल्छु ।’

अन्सारीका अनुसार उनको ऋण अहिलेसम्म तिरिएको छैन । बैंकमा उनको नाममा अझै साँवा र ब्याजसहित ११ लाख ४७ हजार रुपैयाँ ऋण तिर्न बाँकी देखिन्छ । दबाब बढाउँदै गएपछि रौनियारले ‘ब्याक डेट’ (पछिको मिति)को तीन लाखको चेक अन्सारीलाई दिएका छन् । रौनियारले आफ्ना दाइ विनोद प्रसाद रौनियारको नामको चेक बाँडिरहेका छन् ।

महिला उद्यमीकै नाममा १० लाख रुपैयाँ ऋण लिएका नारायण खनालले प्रतिमहिना २६ हजारको दरले १३ महिनासम्म सहकारीलाई किस्ता बुझाए । तर, बैंकले एउटा पनि किस्ता नतिरेको भन्दै ताकेता गरेपछि उनले अहिले सिधै बैंकलाई किस्ता तिरिरहेका छन् ।

आफूले सहकारीमा तिरेको १३ किस्ताको पैसाको हिसाब नदिएको खनालको भनाइ छ । खनालले छोरी सुनिता खनाल तिम्सिनाको नाममा ऋण लिएका थिए ।

सोही ठाउँका राजेश प्रसाद साहले पनि श्रीमती सुनिता कुमारी साह सोनारको नाममा विनाधितो ऋण पाइन्छ भनेर सहकारीबाट १० रुपैयाँ ऋण लिने फारममा सही गरे । त्यसबापत उमागौरी सरकारीले १ लाखको सेयर किन्न लगायो । ‘मेरो परिवारको सबै कागजात मगाए र उमागौरी सहकारीमा सही गरायो । त्यसपछि हामी ढुक्क भयौँ । तर, लामो समयपछि मात्रै ५ लाख ४२ हजारको चेक पाएँ ।’

‘त्यसबापत मैले महिनाको २६ हजार रुपैयाँ प्रतिकिस्ता रकम १२ महिनासम्म बुझाएँ । नबिल बैंकबाट मलाई किस्ता तिर्नुभएको छैन भनेर फोन आयो ।’

साहले विराटनगरस्थित महेन्द्र चोकमा रहेको नबिल बैंकमा गएर सोधखोज गरे । बैंकबाट उनको नामको १० लाख रुपैयाँको चेक सहकारीको कर्मचारी लक्ष्मण साहले साटेको देखियो । ‘मेरो नाममा आएको पैसा उसले निकालेर खाइसकेको रहेछ । अहिले मैले १० लाखको किस्ता तिरिरहनु परेको अवस्था छ,’ उनले भने, ‘सहकारीलाई दिएको किस्ताको रकम पनि गोलमोल भयो ।’

त्यो थाहा पाएपछि साहले रौनियारलाई यसबारे भने । त्यसपछि उनलाई पनि रौनियारले ५ महिनापछिको मिति राखेर ३ लाखको चेक दिएका छन् । तर, बैंकलाई उनले अब ८ लाख ४० हजार ३९० रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

यिनीहरू त प्रतिनिधि पात्रमात्र हुन् । उमागौरी कृषि सहकारीले यसरी थुप्रैलाई दुःख दिएको कर्सिया बजारका बासिन्दा बताउँछन् । नबिल बैंकसँगको साझेदारीमा रौनियारले ५ सय जना महिला उद्यमीलाई ऋण दिलाउने सम्झौता गरेका थिए । तर, ८५ जनालाई मात्रै उक्त ऋण उपलब्ध भयो । उपलब्ध सबै ऋण पनि उनले महिला उद्यमीलाई दिएनन् । उनले केही रकमले जग्गा किने, केही रकम आफ्नो स्वार्थ अनुकूलका व्यक्तिहरूलाई विनाधितो ऋण दिए ।

०७४ साल आसपास उक्त कार्यक्रमको सुरुवात राष्ट्र बैंकका निर्देशक रहेका रामु पौडेल, एमाले नेता तथा संविधान सभा सदस्य ऋषिकेश पोखरेल (हाल सार्वजनिक लेखा समितिका सभापति)लगायतको उपस्थितिमा भव्य कार्यक्रम गरेर भएको थियो । राष्ट्र बैंकका उच्च अधिकारी रहेका पौडेललाई ल्याउन उनै पोखरेलले पहल गरेका थिए ।

जानकारहरूका अनुसार रौनियारको सपना मोरङ कटहरीमा रहेको जीवन विकास समाज लघुवित्त संस्थाजस्तै बनाउने थियो । सुरुमा उक्त सहकारीमा तीन दर्जन कर्मचारी थिए । कारोबारको चहलपहल निकै हुन्थ्यो । एमालेका स्थानीय नेतासमेत रहेका रौनियारको चमकधमक निकै थियो ।

Karsiya Bazar

केही समय अगाडिसम्म साइकलमा हिँड्ने उनी महँगो गाडी चढ्न थालिसकेका थिए । सहकारीको कार्यालय एक ढङ्गले भन्ने हो भने नेता–कार्यकर्ताहरूको चिया खाने ‘जक्सन’जस्तै थियो । तर, अहिले सहकारी उठ्नै नसक्ने गरी थला परेको छ ।

स्थानीयका अनुसार पोखरेल उक्त सहकारीको अघोषित सल्लाहकारजस्तै थिए । सहकारी स्थापनाकालमै सहयोगी थिए उनी । महिला उद्यमी ऋण कर्जादेखि पहुँचवालासम्म भेट्टाइदिने काम उनै पोखरेलले गर्दथे । त्यसबापत पोखरेलको निर्वाचन कार्यक्रमको व्यवस्थापन रौनियारले गर्ने गरेको स्थानीय दाबी गर्छन् ।

सहकारी सङ्कटमा परेपछि रौनियारले निकटस्थहरूलाई आफूले कुनै ठगी नगरेको बताउने गरेका छन् । चेक बाउन्समा उनीविरुद्ध उजुरी परे पनि एमाले नेताहरूसँगको हारगुहारपछि उनी ‘ब्याक डेट’को चेक दिएर छुटेका थिए ।

ऋषिकेश पोखरेल भने आफूले सहकारीलाई सहयोग गरेको तर रौनियारले डुबाएको जिकिर निकटस्थहरूसँग गर्दै आएका छन् । ‘मैले सहयोग गरेको सहकारी हो, दर्ता गर्न पनि सहयोग गरेको थिएँ,’ पोखरेललाई उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘यो रौनियारले डुबायो । के छ हिसाब भनेर सोध्दा पनि देखाउँदैन ।’

पहिले ऋषिकेश पोखरेल पार्टी कार्यक्रममा जाँदा कर्सियामा पुगेर उनै रौनियारको गाडी लिएर हिँड्थे ।

रौनियारको एकलौटी थियो सहकारी

‘पैसा ठगेर करोडौंको सम्पत्ति जोडेर बसेका छन् । अफिस रहेको जग्गा डेढ करोडमा किनेको हो । तर, अध्यक्ष शम्भु रौनियारसँग यत्रो सम्पत्ति किन्न स्रोत थिएन,’ त्यहाँका स्थानीय भन्छन्, ‘पहिले साइकल चढ्थ्यो । अहिले गाडी चढ्छ । एमाले नेता ऋषिकेश पोखरेलसँग विशेष दोस्ती छ ।’

पूर्व प्रदेश सांसद ज्ञानेश्वर राजवंशीसँग पनि रौनियारको दोस्ती छ । एमालेका दुई नेता ऋषिकेश पोखरेल र राजवंशीको सवारी साधनको व्यवस्थापन उनै शम्भु रौनियारले गरेको चिनेजानेकाहरू बताउँछन् ।

Sahakari Ko office (3)

सोही सहकारीका कोषाध्यक्ष शम्भु सिंह कर्सिया बजारमै सामान्य पसल चलाएर बसेका छन् । आलम अन्सारी सचिव हुन् । उनको एउटा सानो टेलर पसल छ । आलम अहिले फरार छन् । तर, उनीहरू सबै रबस्टाम्प जस्ता थिए । कारोबार सबै उनै अध्यक्ष शम्भु रौनियारले गर्छन् । ०६८ सालमा स्थापना भएदेखि उक्त सहकारीको अध्यक्ष उनै रौनियार छन् ।

सहकारीले सुरुवाती चरण आर्थिक वर्ष २०६८÷६९ मा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट ६ करोड रुपैयाँ ऋण लिएको थियो । जसमध्ये ३ करोडसम्म ऋण ति¥यो । तर, लकडाउनको बेलामा पैसा उठेन । लघुवित्तले दबाब दिएपछि एकैपटक ४५ लाखको चेक अध्यक्ष रौनियारले काटे । तर, ६ महिनासम्म पनि त्यति पैसा पु¥याउन नसकेको कारण लघुवित्तले अदालतमा मुद्दा हाल्यो र कालोसूचीमा राखिदियो ।

सञ्चालक समितिको नाममा सूचना जारी भयो । त्यसबेलाकै सञ्चालक समिति सदस्य ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि हुन् । सहकारीमा समस्या बढ्न थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

कोषाध्यक्ष सिंह भने १२ करोड अनियमितता नभएको दाबी गर्छन् । ‘कसले भन्यो १२÷१३ करोड अनियमितता भनेर ? यो सबै हल्ला हो । ९ प्रतिशत, ११ प्रतिशत व्याजमा लिएर १४-१५ प्रतिशतमा ऋण लगाएका हौँ । त्यो पैसा उठेको छैन । उठ्ने बित्तिकै हामी तिर्न सक्छौँ । हामीसँग सबै रेकर्ड छ,’ उनले भने, ‘बैंकबाट ऋण लिएपछि तिर्नुपर्दैन ? जसले ऋण तिरेको छ, हाम्रो रेकर्डमा छ । ऋण तिर्ने जतिको बैंकमा पनि घटेको छ ।’

उनका अनुसार सहकारीले माछापुच्छ्रे बैंकबाट झण्डै साढे ६ करोड, एक्सल डेभलपमेन्ट बैंकबाट ३ करोड, आरएसडीसीबाट ३ करोड, प्रभु बैंकबाट १ करोड ऋण लिएको छ ।

‘समितिकै मान्छे र ऋणीहरूकै जग्गा धितो राखेर लिएको हो,’ कोषाध्यक्ष सिंहले भने, ‘परिवारको सहमतिविना कसैको पनि जग्गा धितो राखेको छैन ।’

सहकारीले बढी ऋण झिकेर सम्बन्धित ऋणीलाई कम पैसा दिएको हो कि होइन भन्ने प्रश्नमा उनी ‘हो’ भन्छन् । तर, उनले डेढ करोडको उदाहरण दिँदै भने, ‘सहकारी डेढ करोडको ऋणी भयो, धितो राख्ने सेयर सदस्य १ करोडको ऋणी भयो ।’

सहकारीले लिएकोचाहिँ तिरिदिनुभयो त भन्ने प्रश्नमा सिंहले भने, ‘पहिले उनीहरूले तिरेको प्रमाण लिएर आए सहकारीले तिर्नुपर्ने थप रकम तिर्न सक्छौँ ।’ सेयर सदस्यहरूको लिएको ऋणको बढी पैसा अरू किसानलाई लगानी गरेको उनले स्वीकार गरे ।

उनले पनि अञ्जला कोइराला पहिलेदेखि नै कार्यसमिति सदस्य रहेको बताए । ‘दुई कार्यकालको सञ्चालक समिति सदस्य भएर उहाँ बस्नु भएको हो,’ उनले भने ।

२०७८ साल पछि मोरङ जिल्लाभर कार्यक्षेत्र बनाइयो । तर, कार्यक्षेत्र बाहिरकी अञ्जलालाई पोखरेलकै अनुरोधमा कार्यसमिति सदस्य बनाइएको थियो । सहकारी ऐन अनुसार कार्यक्षेत्र बाहिरको मान्छेलाई कार्यसमिति सदस्य बनाउन पाइँदैन ।

अध्यक्षको लिङ्कको कारण कोइराला यो सहकारीमा जोडिएको कोषाध्यक्ष सिंहको भनाइ छ । ‘उहाँले नै समितिमा राख्नुपर्छ भन्नुभयो । हामीले विरोध गरेनौँ,’ उनले भने, ‘त्यतिबेलै संस्थापक उपाध्यक्ष, सचिव र ऋण समितिका सदस्यहरू पनि परिवर्तन भए । संस्था चलाउनु त पर्योर नि । राम्रो मान्छे राख्नुपर्छ भनेर राखिएको हो ।’

कोइराला विराटनगर–८ की स्थायी बासिन्दा हुन् । उनका श्रीमान् ऋषिकेश पोखरेलको ठेगाना रतुवामाई नगरपालिका–५ (साविक गोविन्दपुर गाविस) हो । उक्त सहकारीको कार्यक्षेत्र त्यसबेला कदमाहा, दादरबैरिया, सोराभाग, रंगेली र बबियाविर्ता मात्रै थियो ।

२०७८ साल पछि मोरङ जिल्लाभर कार्यक्षेत्र बनाइयो । तर, कार्यक्षेत्र बाहिरकी अञ्जलालाई पोखरेलकै अनुरोधमा कार्यसमिति सदस्य बनाइएको थियो । सहकारी ऐन अनुसार कार्यक्षेत्र बाहिरको मान्छेलाई कार्यसमिति सदस्य बनाउन पाइँदैन ।

कोषाध्यक्ष सिंहले उमागौरी कृषि सहकारीको अफिस राखिएको जग्गा पनि सहकारीकै भएको तर, उक्त जग्गा शम्भु रौनियारको बुबाको नाममा रहेको स्वीकार गरे । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले सङ्कटग्रस्त छ ।

सो सहकारीले  फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको छ । बैंकबाट ऋण लिनेबेला जमानी बसेकी कोइरालालाई अहिले बैंकले कालोसूचीमा राखेको छ । अध्यक्ष रौनियारले सहकारीका सदस्यको जग्गामात्रै होइन, सहकारीबाट ऋण खाने सर्वसाधारणको पनि घरजग्गा धितोमा राखिदिएका छन् । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण छ ।

सो सहकारीले  फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । तर, कहाँ लगानी गरेको छ विवरण माग्दा उनले दिन सकेका छैनन् ।

स्थापनाको समयको डकुमेन्ट भए पनि त्यसपछिका १० वर्षको डकुमेन्ट नरहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इनरुवाका प्रमुख हरि खत्री बताउँछन् । ‘यो सहकारीको कार्यालय खुल्दैन, कार्यालयमा कागजपत्र पनि भेटिँदैन । सबै डुकुमेन्ट अध्यक्षले साथमा राखेको देखिन्छ,’ खत्रीले भने, ‘हाम्रो कार्यालयमा पनि नियमित विवरण बुझाएको छैन । मैले नै त्यहाँ चार पटकसम्म पुगेर अनुगमन गर्दा कार्यालय बन्द रहेको देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप