आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘तीनै तहका सरकारले लगानी दशकको नेतृत्व लिनुपर्छ’

आइतबार, ३० भदौ २०८१, ११ : ५३
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ । २०८१–२०९१ सम्मको यो अवधिमा मुख्यतया यसको फ्रेमवर्क आवश्यक छ । जसले यसको कार्यक्षेत्र, उद्देश्य, लगानी लगायत विषयको निर्क्यौल गर्छ । 

कृषिमा सरकारी क्षेत्रबाट मात्रै लगानी सम्भव छैन । निजी क्षेत्रबाट पनि लगानी आवश्यक छ । निजी क्षेत्रसँगै वैदेशिक क्षेत्रबाट पनि लगानीको व्यवस्था मिलाउने होला । लगानी कति आवश्यक छ ? भनेर निर्क्यौल पहिले गर्नुपर्छ । 

कृषि मात्रै भनेर भएन कुन विषयवस्तुलाई प्राथमिकता दिने हो त्यो पनि सोच्नु पर्नेछ । सबैमा लगानी गर्न सकिँदैन । त्यसकारण कृषिका क्षेत्रलाई प्राथमिकीकरण गर्नुपर्‍यो । यो क्षेत्रको, यी यी विषय प्राथमिकतामा हुन्छन् भन्ने योजना बनाउनु पर्छ । 

सरकारले कृषि लगानी दशकका लागि दीर्घकालीन, अल्पकालीन र मध्यकालीन लगानी गर्ने योजना तयार पार्नुपर्छ । कुनमा कस्ता योजना राख्ने भनेर योजना तयार गर्नुपर्छ । पछिल्लो समय देखिएको जलवायु परिवर्तनले कृषिमा पारेको प्रभावलाई न्यूनीकरण र समाधानका लागि गरिने उपाय सहितको योजना बनाउनुपर्छ । 

सरकारी बजेटले मात्रै लगानी दशकका योजना पूरा गर्न पर्याप्त नहुन सक्छ । त्यसकारण निजी क्षेत्र, दाता, विकास साझेदार सबैको साथ आवश्यक पर्छ । किसानले आफैँले लगानी गर्ने प्रोत्साहन मिल्ने खालको कार्यक्रम आउनु पर्छ । कृषि उद्यमीले पनि यसमा लगानी गर्नुपर्ने देखिएको छ । त्यस्तै यसमा वित्तीय संस्थाको भूमिका पनि समेटिने गरी योजना बनाउनु पर्छ । 

यसका साथै हामीले उत्पादन मात्रै गर्ने हो कि खाद्य स्वच्छता पोषणले भरिपूर्णमा उत्पादन गर्ने भन्ने विषयमा केन्द्रित हुन जरुरी छ । यसो गर्दा खाद्यपोषण सुरक्षा दिन सक्छ । रैथाने बाली र पोषणयुक्त बालीलाई महत्त्व दिन जरुरी छ । 

लगानी दशकको योजनामा सरकारले सहजीकरणको भूमिका गर्नुपर्छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहले लगानीको नेतृत्व लिने गरी योजना बनाउनुपर्छ । उनीहरूले स्थानीय तहमा राम्रो कृषि लगानी हुनसक्ने योजना बनाउन आवश्यक छ । कृषिको कुन क्षेत्रले स्थानीयस्तरमा बढी योगदान दिएको हुन्छ सो विषयमा स्थानीय सरकार बढी जानकार हुन्छन् । त्यसकारण पशुपालन, फलफूल खेती, मत्स्यपालन केलाई कुन क्षेत्रमा बढी जोड सकिन्छ, योजना बनाउन सहज हुन्छ । त्यस्ता क्षेत्र पहिचान गरी लगानीको फ्रेमवर्क तयारी गर्नुपर्छ । यस्तै, युवालाई कृषिमा आकर्षण गराउने खालका कार्यक्रम उत्तिकै आवश्यक छ । 

कृषि अर्थविज्ञ गौचनसँग कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. देवेन्द्र गौचन
डा. देवेन्द्र गौचन
लेखकबाट थप