संवैधानिक परिषदमा बहुमत नजुटेपछि उपसभामुखलाई हटाउने खेल अस्वीकार्य छ–प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् ।
आजपा निकटको आईटी आर्मीले काठमाडौँको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौँ उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउने खेल आफूलाई स्वीकार्य नभएको उनले बताए ।
‘महिनौँ पहिलाको घटनालाई जोडेर उपसभामुखलाई हटाउन अहिले आएर हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन । जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्दा कोट्याउँदै उपसभामुखलाई हटाउने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामीले कदापि स्वीकार्य गर्दैनौँ’ आजपा अध्यक्ष साहले भने, ‘यदि उपसभामुखले गल्ती गरेको हो भने उनलाई दण्ड गर्न सकिन्छ । पहिला पालैपालो सरकारमा सहभागी भएको कांग्रेस र एमालेले पहिले यो मुद्दा किन छोड्यो र अहिले आएर किन बोक्यो ? मनमौजी गर्न नपाउने पछि जे पनि गर्ने ?’
यस्तै उनले वर्तमान संविधानको काम नभएकाले खारेज गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानले मुलुकमा स्थायित्व हुन नसक्ने बताउँदै उनले समृद्धिका लागि संविधान खारेज गर्नुको विकल्प नभएको टिप्पणी गरेका छन् । अहिलेको संविधानले नेपाली जनताको आवश्यकता र चाहना पुरा गर्न नसक्ने बताउँदै उनले यो ‘ककटेल’ संविधान खारेज गर्नुपर्ने बताए ।
‘अहिलेको संविधान ककटेल संविधान हो । यो संविधानले नेपाली जनताको आवश्यकता, चाहना पुरा गर्न सक्दैन । राजनीतिक स्थायित्व, मुलुकलाई समृद्ध बनाउन सक्दैन’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गाडीमा होन्डाको टायर, हिरोको ब्रेक, यमहाको इन्जिन, एफजेडको टन्की, पल्सरको हन्डिल लगाएपछि कस्तो हुन्छ ? यो संविधान पनि त्यस्तै छ । यसमा समाजवाद पनि छ, पुँजीवाद पनि छ तर कामै नलाग्ने, मुलुक र जनतालाई केही दिनै सक्दैन । त्यसैले यसको खारेजको विकल्प छैन ।’
हालै आजपाको केन्द्रीय कमिटीको बैठक काठमाडौँमा सम्पन्न भएको छ । सम्पन्न सो बैठकले गरेका निर्णय आईटी आर्मीले काठमाडौँ उपत्याकामा पूर्णरुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने उनले निर्देशन दिए ।