ममाथि भएका षड्यन्त्र, ममाथि लगाइएको कालो दाग
आज म यहाँहरूका बिचमा केही संवेदनशील कुराहरू राख्न चाहन्छु ।
म दार्चुलाको संस्कारी परिवारमा हुर्केकी व्यापारीकी छोरी हुँ । आजभन्दा १५ वर्षपहिले तत्कालीन घुसा गाविसका उपाध्यक्षका छोरासँग मेरो बिहे भयो । आज म ३० वर्षकी छु । मेरा दुई छोरा छन्— जेठो छोरा १३ वर्षको भयो, कान्छो ११ वर्षको ।
म ससुराबाट प्रभावित भएर नेकपा एमालेको सदस्यता लिएर पार्टीको काम लागेकी थिएँ । गाउँमा महिला समूहको अध्यक्ष भएर काम गरेँ । विद्यालय व्यवस्थापनदेखि २०७४ सालको स्थानीय जनप्रतिनिधि भएर पनि काम गरेँ । यतिसम्म हिँडिरहँदा मेरो जीवनमा थुप्रै किसिमका दुःख, बाधा–अड्चन आइरहे, तर पनि म थाकिनँ ।
जनप्रतिनिधि भएकै बेला व्यवसायी बन्न, आयआर्जन गर्न माइतबाट र घरबाट आएको सुन बेचेर होटल सञ्चालन गरेँ । अशिक्षित अविकिसित देशका पढे–लेखेका तर व्यवहारमा ब्रुजुवा मानवहरूले कुरा काट्दै गरिरहे । पुरुषसँग बोल्दैमा लाञ्छना लगाउने यो समाजका अगाडि डटेर लडिरहेँ । रमाइलो गर्ने ब्वाय फ्रेन्ड बनाउने थुप्रै महिलाहरू मैले देखेकै छु । समाजमा बसेर हामीले कतिपय मान्छेका काण्ड मिलाएका छौँ ।
म सानै उमेरमा जिम्मेवारीले थिचिएँ, जहिले पनि आफ्नो कामलाई महत्त्वपूर्ण बनाएर यो समाजको अगाडि हिँडिरहे । मेरो भाग्य पनि गजबको रहेछ, घरदेखि सहरसम्म लड्नुपर्ने । समाजका अगुवाहरू महिला अधिकार समानताका कुरा गर्छन् । तर यता व्यवस्था मात्रै फेरिएको छ । महिलामाथि हुने हिंसाको स्वरूप फेरिएको छ । हिंसा निर्मूल भएको छैन । यति कुरा लेख्दै गर्दाखेरि दार्चुला जिल्लाका आदरणीय नेता वीरबहादुर ठगुन्नालाई स्मरण गरिराखेकी छु । आँखाभरि आँसु र मुटुभरि वेदना छ । हजुरका विरुद्धमा जस्तो खालको गिरोहको षड्यन्त्र हुन्थ्यो, त्यति बेला हजुरले लेखेको फेसबुक पोस्टको याद छ मलाई । हजुर जिउँदै हुँदा नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थापना गरिएको थियो । यो लामो समय टिक्न सकेन, यसका तीन कित्ता हुन पुगे । म त्यसकै एक कित्ता माधव नेपालको नेतृत्वमा स्थापना गरिएको एकीकृत समाजवादीमा सनाखत गरेर आएँ । दार्चुला जिल्लाको नेतृत्व गर्ने म मात्रै थिएँ । त्यो कुरा मैले सही गरेँ कि गलत गरेँ, समयले बताउने नै छ ।
म आबद्ध पार्टीले केही दिनअगाडि १०औँ महाधिवेशन बोलायो । मेरो जिल्ला दार्चुलाबाट सातजना आउने सर्कुलर पार्टीले जारी गर्यो । मेरै पार्टीभित्रका षड्यन्त्रकारी तत्त्वले मलाई महाधिवेशन प्रतिनिधि नपठाउने षड्यन्त्रको तानाबाना धनगढीका होटल–होटलमा बुन्दै थिए । त्यो कुराको केही जानकारी मसँग छ, त्यसमा सुदूरपश्चिमको ठुलै नेताको पनि सङ्लग्नता थियो ।
म कसैको अगाडि कहिल्यै नझुक्ने मान्छे हुँ । आफ्नो बलबुतामा काम गरिरहेँ । म कसै पुरुषको प्रयोगको साधन भएको भए सायद आज ममाथि यत्रो षड्यन्त्र हुने थिएन । महिलाहरूको संगत पनि धेरै गरिनँ, महिला गहना र लुगाको तुलना गर्छन् । पुरुषहरू महिलासँगका कुरा बढी चर्चामा ल्याउँछन् । त्यो मलाई मन पर्दैन । म साधारण गाउँले महिला । मेरो रहनसहन सबै साधारण छ ।
तपाईं जुन जुन पत्रकार मेरोविरुद्ध उभिनु भो, म आफैँलाई गौरव गर्छु । आउनुहोस् म फिल्ड फेस गर्छु, तपाईं को–को लिएर आउनुहुन्छ, म सामना गर्न तयार छु । तपाईंहरूलाई मेरो अनुरोध छ, एउटा महिलामाथि कायरताको लडाइँ नलड्नुहोस् ।
दार्चुलामा जब प्रतिनिधि छनोट हुने दिन आयो, दार्चुलाका स्थानीय नेता दीपक अवस्थी, राधिका अवस्थी, गणेश जोशी, तत्कालीन जिल्ला अध्यक्ष कृष्ण धामीसहितले मलाई नपठाउने भनी भूमिका खेले । त्यसको विपरीत मेरा जिल्ला कमिटी सदस्य भाइहरू दिनेश अवस्थी, धिरज जोशी, राजेन्द्र महता, अजब विष्ट, कल्याण जोशी लगायतले बल गरेर मलाई प्रतिनिधि पठाउन भूमिका खेले । दिलेन्द्र पाल कमरेड पनि हुनुहुन्थ्यो । अल्पमत बहुमत गरी ठुलो लडाइँ जितेर म प्रतिनिधि भएर आएँ ।
पार्टीले ४० वर्षमुनिका युवा केन्द्रीय सदस्यमा समावेश गर्ने निर्णय गरेकाले म चुनाव लड्छु भनी प्रचार–प्रसारमा लागेँ । सुदूरपश्चिमका धेरै प्रतिनिधि घनश्याम कमरेडको लाइनमा लागे तर मैले त्यसो गरिनँ । घनश्याम कमरेडको समय आएको छैन, देश–विदेश अरु पार्टीले मान्ने नेता माधव नेपाल हो भनेँ । सुदूरपश्चिमका मुख्यमन्त्रीको श्रीमतीसँग चर्काचर्की नै पर्यो । हलबाट सर्वसम्मतको निर्णयपछि सबै शान्त भए । म पनि धनगढी गएँ । त्यसको केही दिनपश्चात् मैले थाहा पाएँ म पनि केन्द्रीय सदस्य मनोनीत भएँ छु, खुसी लाग्यो ।
एउटा महिला रातदिन हाँसीखुसी परिवार छोराछोरी नभनी हिँडेको मान्छेको पार्टीले मूल्यांकन गरेछ । शपथग्रहण कहिले हुन्छ भनेर केही नेताहरूको सम्पर्कमा म थिएँ । मेरा जिल्लाका केही मान्छेले जागरीको केन्द्रीय सदस्य खुस्काउँछौँ, नराम्रोसँग निष्कासन गर्छौं भनेको कुरो अहिले म सम्झिदै छु । साउन ३० गते थियो होला, त्यही टिमका महिलाले मलाई मेसेन्जरमा ‘कता हो’ भनेर सोधे । मैले धनगढी भनिनँ, दार्चुला छु भनेँ । दोस्रो दिन कुनै मान्छेले कमरेड माधव नेपाललाई केही कुरा लाएछन् ।
म रेडियो सुन्न पत्रपत्रिका पढ्न साह्रै रुचाउने मान्छे हो । यो देशको परिवर्तनका निमित्त आवाज उठाउने सञ्चारजगतलाई म सलाम गर्न चाहन्छु । तर आजभोलिका असुली धन्दा गर्ने ब्ल्याकमेल गर्ने, कसै नेता र पार्टीका झोले भएर महिलाको अस्मितामाथि खेलबाड गर्ने, एउटाले प्रयोग गरेकै भरमा अर्कोलाई समाप्त पार्न हदैसम्म गिर्न सक्ने सामाजिक सञ्जालको दुरुपयोग गर्ने पत्रकार जगतका कलंकहरूलाई म चुनौती दिन चाहन्छु । न म कुनै माननीयमन्त्री न त म कुनै भ्रष्टाचारी, केही पनि होइन, म साधारण गाउँको कसैको छोरी कसैको बुहारी हुँ । एउटा पार्टीको केन्द्रीय सदस्य बन्दैमा ममाथि झुटो आरोप लगाएर पार्टीका षड्यन्त्रकारी तत्त्व र तपाईं जुन जुन पत्रकार मेरोविरुद्ध उभिनु भो, म आफैँलाई गौरव गर्छु । आउनुहोस् म फिल्ड फेस गर्छु, तपाईं को–को लिएर आउनुहुन्छ, म सामना गर्न तयार छु । तपाईंहरूलाई मेरो अनुरोध छ, एउटा महिलामाथि कायरताको लडाइँ नलड्नुहोस् । योभन्दा जघन्य अपराध केही हुनै सक्दैन । हुँदै नभएको कुरा प्रमाणित गर्न नखोज्नुहोस् । यदि प्रमाणित गर्ने भए लिएर आउनु तपाईंका बुढी, छोरी, दिदीबहिनी । म जस्तोसुकै परीक्षणका लागि तयार छु ।
साथीहरू भन्छन्, न्याय मिल्छ धेरै नबोल । तर मलाई चिच्याउन मन छ । काठमाडौँका गल्ली गल्लीमा महिला दिदीबहिनी रातो सारी चुरापोतेमा सजिएर तिजको दर खाने, रमाइलो गर्ने, एक ठाउँमा जम्मा हुने र भेटघाट–नाचगान गर्ने गरिरहेका थिए । साउन ३१ देखि म घामपानी भोकतिर्खा नभनी आफूमाथि लगाइएको गलत आरोपको खण्डन र अपराधीलाई कारबाहीका लागि दौडिरहेकी छु । बिनातथ्य बिनाप्रमाण समाचार सम्प्रेषण गर्ने पत्रकारलाई प्रेस काउन्सिलले जोगाइराखेको छ । पार्टीभित्रको अपराधीलाई पार्टीकै केही नेताहरूले लुकाइराखेका छन् । बिचरा प्रहरी प्रशासन हेरेको हेर्यै छ । कानुन पनि कति फितलो छ । मिडिया जगतका अपराधी समात्न बहालवाला मन्त्री समात्नु भन्दा असहज छ । बाँकी अर्को भागमा लेख्नेछु ।
(घर अपिहिमाल–१ घर । नेकपा एकीकृत समाजवादीमा केही दिनअगाडि मनोनीत केन्द्रीय सदस्य ।)
(यो आलेखमा आएका विषयवस्तु र विचार लेखकका निजी हुन् । हामीले उहाँलाई आफ्ना विचार राख्ने स्थान दिएका छौँ— सम्पादक ।)