सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रिकेटरलाई प्लाटफर्म दिने उत्तम माध्यम एनपीएल हो : सचिव खड्का

दसैँभन्दा अगाडि नेपाली खेलाडीको अक्सन गरिने
शनिबार, २९ भदौ २०८१, १७ : ४९
शनिबार, २९ भदौ २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाटफर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरिएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गरेका हुन् । समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यान पनि पारदर्शी ढंगले काम गरिरहेको उनको विश्वास छ । 

सचिव पारसले नेपाली प्रिमियर लिगले ग्रासरुट क्रिकेट विकासमा मद्दत गर्ने आशा व्यक्त गरे । उनले मार्की प्लेयर, टिमका मालिक र स्थानीय प्रशिक्षक मिलेर फ्रेन्चाइज टोलीको ब्रान्ड बढाउन भूमिका खेल्ने उल्लेख गरे । 

यो सुरुवात भएकाले पहिलो संस्करणमा आर्थिक भार नपरोस् भनेर केही मापदण्ड बनाइएको उनको भनाइ छ । उनले एनपीएलको उचाइसँगै सबै फ्रेन्चाइज टोलीले पनि ब्रान्ड बिल्डिङ गर्दै जाने हो भने नेपाली क्रिकेटमा धेरै सुखद क्षण आउने बताए । 

सचिव पारसले मार्की र फ्रेन्चाइज टोलीबिच तीन वर्षको सम्झौता रहेको र यो अवधिपछि दुवै पक्षले नयाँ यात्राको थालनी गर्न पाउने उल्लेख गरे । तर मार्कीको पारिश्रमिकको विषयमा क्यान र फ्रेन्चाइजबिच छलफल गरेर निर्धारण गर्ने उनको भनाइ छ । 

उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन राम्रो गर्न एनपीएल आवश्यक रहेको औँल्याए । टिम खेलमा सबै खेलाडीको योगदान समान रहने भएकाले गोलाप्रथाबाट मार्की छनोट गरिएको क्यानका सचिव पारसले स्पष्ट पारे । 

तीन वर्षको अवधिमा कुनै मार्कीलाई स्विच गर्न सक्ने प्रावधानबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे । नेपाली खेलाडीका आर्थिक स्तर सुधार गर्न मैदानमा हुने प्रदर्शनले निर्धारण गर्ने र त्यसका लागि ग्रासरुट क्रिकेटको भूमिका महत्त्वपूर्ण रहने भएकाले एनपीएल आयोजना गरिएको उनको भनाई थियो । 

क्यानका सचिव पारसले क्यानले विदेशी खेलाडीको लिस्ट तयार पारिसकेको भए पनि फ्रेन्चाइज टोली यो कोटामा अनुबन्ध गर्न स्वतन्त्र रहेको स्पष्ट पारेका छन् । स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीका लागि छिट्टै रजिस्ट्रेसन खुलाइने र दसैँभन्दा अगाडि नेपाली खेलाडीको अक्सन गरिने उनले बताए । क्यानका सचिव पारसले पहिलो संस्करण भएकाले पनि फ्रेन्चाइज टोली आर्थिक भार नपर्ने तवरबाट खेलाडीको मूल्य तय गरिने सङ्केत गरेका छन् । 

आगामी मङ्सिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मङ्सिर १५ देखि पुस ६ सम्म हुने तय छ । उक्त एनपीएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् । क्यानले शनिबार काठमाडौँमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिक बारे जानकारी दिएको हो । शनिबार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् ।

काठमाडौँले तीव्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ । त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउन्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् । पोखराको स्वामित्व नेपाल टी–२० प्रालि, काठमाडौँको स्वामित्व कान्तिपुर पब्लिकेसन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो ।

लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले खरिद गरेको हो । इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ । एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप